सर्लाहीको ईश्वरपुर क्षेत्रका पशुमा लम्पी स्किन रोगको संक्रमण

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीका किसानहरुले पालेका पशु चौपायहरुमा लम्पी स्किन नामक रोगको संक्रमण देखिएको भन्दै जिल्लाका किसानहरु चिन्तित भएका छन् ।

जिल्लाको ग्रामीण भेगका किसानहरुले पालेका पशु चौपायहरुमा छालामा गिर्खा जस्तो देखिने भाइरस फैलिन थालेपछि रोकथाम तथा उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्रविधिकहरु सो भेगका किसानहरुको गोठ–गोठमा पुग्न थालेकाे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाका प्रमुख डा.जयप्रकाश यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिला इश्वरपुर नगरपालिका १२ कालिन्जोरका केही किसानहरुले पालेका पशु चौपायहरुमा देखा परेको यो रोगको संक्रमण अहिले आधा दर्जन बढी स्थानमा फैलिएको छ । ईश्वरपुर नगरपालिका १२ कालिन्जोरका अधिकांश गाउँका किसानहरुले पालेका पशु चौपायहरुमा लम्पी रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाले जनाएको छ । सुरु सुरुमा किसानहरुले थाहा नपाएका कारण यो रोगको संक्रमण फैलिएको छ ।

छालामा गिर्खा देखिएर उच्च ज्वरो आएपछि लक्षणको आधारमा लम्पी रोगको संक्रमण बारे थाहा पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा.यादवले बताए । लम्पी स्किन संक्रमणका कारण पशु चौपाय मर्न थालेपछि ठुलो घाटा बेहोर्नु परेको पशुपालन व्यवसाय गरेर जीविका चलाउँदै आएका स्थानीय किसानको गुनासो छ ।

लम्पी स्किन रोग भाइरस मार्फत सर्ने गरेको र यसको भ्याक्सिन,औषधी अझैसम्म नभएकाले किसानहरुमा सचेतना जगाउनुपर्ने पशु सेवा विकास अधिकृत डा.यादवले बताए । उनका अनुसार यो रोगका लागि भ्याक्सिन र औषधी नभएकाले वैकल्पिक औषधीमार्फत उपचार गरिन्छ। रोगको संक्रमण फैलिएका पशु चौपायहरुका शरीरका विभिन्न भागमा गिर्खा आउने,उच्च ज्वरो आउने,पाक्ने,सुन्निनेजस्ता लक्षण देखिएका छन् ।

लम्पी क्याप्रिपोक्स भाइरस तथा लामखुट्टे,झिँगा र किर्नाको टोकाइबाट सर्ने यो रोग लागेपछि पशु चौपायहरुलाई सार्वजनिकस्थलमा चरणका लागि लैजान नहुने पशु सेवा प्राविधिकहरुको सुझाव छ । रोग लागेका पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिने,जैविक सुरक्षामा ध्यान दिने,गोठ सरसफाइ गरेपछि नियन्त्रणमा सहज हुने पशु विकास अधिकृत डा.यादवले बताउनु भयो ।

यो रोगको संक्रमण एकपछि अर्को गर्दै जिल्लाकै अन्य पालिकाकामा पनि देखा पर्न थालेकोले यसको रोकथाम र उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाबाट पशु सेवा प्राविधिकहरुको टोली गाउँ गाउँमा परिचालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पशु चौपायमा देखिएको यो रोगको जाँचसँगै निःशुल्क औषधी वितरणको र किसानहरुलाई परामर्श पनि दिने काम सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?