मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सम्पूर्ण काम सकिन्छ : प्रमुख निर्वाचन आयुक्त

‘वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ’

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताउनुभएको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरू मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताउनुभएको हो । उहाँले मंसिर १९ गतेसम्ममा मतगणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानुनले तोकेअनुरूप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गर्नुभयो । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेस हुने उहाँले बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गरेर आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताउनुभयो । उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो ।

थपलियाले वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नरहेको पनि बताउनुभयो । ‘हामी वर्तमान कानुनसँग सन्तुष्ट छैनौँ । अब छिट्टै नयाँ कानुनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भन्ने व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसद्को नयाँ अधिवेशनमा नयाँ कानुनको मस्यौदा पेस हुनेछ ।’ उहाँले भन्नुभयो । थपलियाले निर्वाचन अधिकृतहरूलाई काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सझाव दिन आग्रह गर्नुभयो । यसपटकको आमनिर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउँदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका जिल्ला प्रमुख लगायतलाई धन्यवाद दिनुभयो ।

नेकपा एसले थ्रेसहोल्ड कटाउने संभावना न्यून
प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल एक करोड तीन लाख ९२ हजार सदर मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २७ लाख ७९ हजार मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र ११ लाख ६१ हजार मतका साथ तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १२ हजार मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच लाख ८६ हजार मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले चार लाख २० हजार मत र जनमत पार्टी तीन लाख ९४ हजार मत प्राप्त गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादी दुई लाख ९४ हजार मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ । यो निर्वाचनमा जम्मा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब एक करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

जारी मतगणनामा गठबन्धनका उम्मेदवारको अग्रता
प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना तीन स्थानमा जारी छ । तीनै स्थानमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । जसमा स्याङ्जा–२ को मतगणना अन्तिम चरणमा पुगेको छ । कांग्रेसका उम्मेदवार धनराज गुरुङले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ । उता दोलखामा पनि माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ । उहाँलाई एमालेका बालकृष्ण शिवाकोटीले पछ्याइरहनुभएको छ । बाजुरामा पनि नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले सुरुवातदेखि नै अग्रता लिइरहनुभएको छ उहाँलाई एमालेका कर्णबहादुर थापाले पछ्याइरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?