६३ वर्षमा पाँच सय ५० जनाद्वारा धौलागिरि हिमाल आरोहण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । मई १३ तारिख अर्थात् धौलागिरि हिमाल आरोहणको ६३ वर्ष पुरा भएको दिन । तिब्बतको भुमी प्रयोग नगरिकन फन्कोमार्न सकिने नेपालको एउटा मात्र हिमाल धैलागिरि हिमाल (८,१६७ मिटर) आरोहणको ६३ वर्ष पुरा हुँदा यस हिमाल आरोहणको कठिनाई र यहाँको भूगोलको बारेमा बल्ल चर्चा हुन थालेको छ ।

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो धौलागिरि हिमालको आरोहणगर्न आरोहीहरु वर्षेनी आधारशिविर आउनेक्रम वढ्दै गए पनि आरोहण गर्नेहरुको संख्यामा भने खासै वृद्धि हुन सकेको पाइएको छैन ।

६३ वर्ष अगाडी सन् १९६० मई १३ तारिखका दिन अस्ट्रियाका नागरिक कुर्ट डिम्बर्गरलगायतस्विस धौलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट र दुई शेर्पा निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि हिमालको चुचुरोमा पुग्न सफल भएका थिए । सन् १९६० देखि सन् २०२० सम्म विदेशी र स्वदेशी गरी ५ सय ५० जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका पर्यटन विभागले प्रकाशन गरेको माउन्टेनरि इन नेपाल फ्याक्ट एण्ड फिगर २०२० मा उल्लेख गरिएको छ ।

पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा पर्यटक महँगो शुल्क तिरेरै हेलिकोप्टरमा गन्तव्यतर्फ लाग्ने गरेका छन् । पछिल्लो समय पदमार्गमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ । धौलागिरि हिमाल आरोहणका लागि विदेशी र नेपाली शेर्पाहरु काठमाडौँबाट विभिन्न सवारीसाधन प्रयोग गरी धौलागिरि–७ ताकम र त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुग्ने क्रम बढेको छ ।

अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ । २०६८ सालयता आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ । यस याममा आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् । धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता १३औँ पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सकेका छैनन् ।

सन् १९५० मा मोरिस हर्जाेगको धौलागिरि चढ्ने प्रयास असफल भएपछि उनी अन्नपूर्णतिर लागेका थिए । त्यसको १० वर्षपछि सन् १९६० मा आएर मात्र स्वीस तथा अष्ट्रियन टिमका कुर्त डाइमवर्गर, पिटर डाइनर, अर्नष्ट फोरेर, अल्विन शेल्वर्ट, नीमा दोर्जे र ङावाङ दोर्जेले धौलागिरिको सफल आरोहण गरे । त्यसपछि २००९ सम्मको ४९ वर्षको इतिहासमा ४ सय १३ जना आरोही मात्र धौलागिरिको शिखरमा पुग्न सफल भएका थिए । त्यस यताको १४ वर्षमा १ सय ३७ जनाले गरी सन् २०२० सम्ममा ५ सय ५० जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका माउन्टेनरि इन नेपाल फ्याक्ट एण्ड फिगरमा उल्लेख छ ।

नेपालको पर्यटन तथा वनस्पति विज्ञ डा. तीर्थबहादुर श्रेष्ठका अनुसार धौलागिरिलाई नेपालकै भूमिबाट परिक्रमा गर्न सकिन्छ, तिब्बत टेक्नुपर्दैन । हिमालयको भूपरिधि पश्चिममा सिन्धुनदीको घाँटीदेखि पूर्वमा ब्रह्मपुत्रको घाँटीसम्म फैलिएको छ, जसको लम्बाई अन्दाजी २५०० किमि हुन्छ ।

कालीगण्डकी पूर्वका हिमाललाई पूर्वी हिमाल र पश्चिमकालाई पश्चिम हिमाल भन्ने चलन छ । धौलागिरि हिमशिखर ८३ डिग्री पूर्वी देशान्तरमा पर्दछ । यही रेखाको सहायताले वनस्पतिविद्हरू पूर्वीय र पश्चिमी वानस्पतिक प्रान्त छुट्याउँछन् । धौलागिरिले उत्तरतिरको डोल्पा, मुस्ताङ मरुभूमि क्षेत्र र दक्षिणकाखको अतिवृष्टि हुने म्याग्दी–पर्वत र कास्की क्षेत्रलाई पनि जोड्दछ । यस अर्थमा धौलागिरि र यसको फेदमा बग्ने कालीगण्डकी क्षेत्रले जैविक विविधता र वातावरणका लागि एक चौराहको काम गरेको छ ।

धौलागिरि क्षेत्रमा देवदार, लेकपाङ्ग्रो, साइप्रस धूपी, गोब्रे सल्ला (पिन्ड्रो), झ्लेसल्ला, वन दारिम, जैतुन तथा चन्द्रा (पियोनिया) आदि वनस्पति रहेका छन् । चराचुरुङ्गी र अरू जीव प्राणीका लागि पनि धौलागिरि–अन्नपूर्ण र कालीगण्डकी यस्तै सङ्गम क्षेत्रको रूपमा प्रस्ट देख्न सकिने वनस्पतिविद् डा. श्रेष्ठको भनाइ छ ।

धौलागिरि, अन्नपूर्ण र कालीगण्डकीका अरू थुप्रै विशेष मौलिकताहरू पनि छन् । एकातिर धौलागिरि र अर्काेतिर अन्नपूर्ण दुवै हिमाल ८ हजार मिटर भन्दा अग्ला छन् र बीचमा कालीगण्डकी लगभग ३ हजार मिटरको उचाइमा बग्दछ । यस हिसाबले ५ हजार मिटर गहिरो उपत्यकाको चौडाइ भने ३५ किमि मात्र फराकिलो भएकोले यहाँ विश्वकै अद्भुत भूस्वरुप देखा पर्ने डा. श्रेष्ठको भनाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?