ठेकेदारको धरौटी रकमबाट महुरे–राजापानी–सिमपानी सडक मर्मत सुरु

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । ठेक्का लागेर पनि ठेकेदारले सडक कालोपत्रे नगरेपछि उनको धरौटी रकमबाट सगरमाथा राजमार्गको गाईघाट–दिक्तेल सकडखण्ड अन्तर्गत महुरे–राजापानी–सिमपानी सडक मर्मत सुरु गरिएको छ ।

महुरेदेखि राजापानीको सिमपानीसम्म २२ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धीशाही जेभीले कामै नगरेपछि मंगलबारबाट उनकै धरौटी रकम खर्च गरेर सडक मर्मत सुरु गरिएको हो ।

सडक कालोपत्रे नगरी बसेको ठेकेदारलाई सडक मर्मतका लागि सात दिने म्याद राखेर पत्र पठाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि उनकै धरौटी रकम खर्च गरी सडकको खाल्डाखुल्डी पुर्ने, नाली सफा गर्ने, नाली काट्ने, चिप्लो सडकमा ग्राभेल, गिट्टी हाल्न थालिएको दिक्तेल–गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताउनु भयो ।

सडक मर्मतका लागि दिक्तेल–गाईघाट सडक विभागको दुई वटा टिपर र एक जेसिभी प्रयोग गरिएको छ ।

सिद्धीशाहीले ४ वर्षभित्र कालोपत्रे गर्ने भनि सडक विभागसँग २०७३ असार ३० गते सम्झौता गरेको थियो । ४१ करोड ५० लाख बजेटमा सम्झौता गरेको सिद्धीशाहीले २०७७ असार २९ गते कालोपत्रेको काम सक्नुपर्ने थियो । तर, कालोपत्रेको प्रगती भने हालसम्म शुन्य छ ।
सिद्धीशाहीसँग आगामी असारसम्म काम गर्ने म्याद रहेको छ । त्यसपछि ठेक्का तोड्ने तयारी भईरहेको दिक्तेल–गाईघाट सडक विभागका योजना प्रमुख खकुरेलले बताउनु भयो ।

यस्तै, देवनारायण पवन मैनाचुली खम्पाचे जेभीले कालोपत्रे गर्ने ठेक्का लिएको राजापानीको सिमपानीदेखी फोक्सिङटारसम्म २६ किलोमिटर सडकको हालत पनि उस्तै छ ।

मैनाचुलीले पनि ४ वर्षमा कालोपत्रे गर्ने भनि सडक विभागसँग २०७३ साउन ११ गते सम्झौता गरेको थियो । ५५ करोड ८७ लाखमा सम्झौता गरेको मैनाचुलीले २०७७ साउन १० गते कालोपत्रेको काम सक्नुपर्ने थियो ।

तर, हालसम्म कालोपत्रेको प्रगति शुन्य राखेको मैनाचुली प्रक्रियामा नआएपछि म्याद गुज्रि सकेको छ । मैनाचुलीको ठेक्का तोडिए पनि अदालतले अन्तरिम आदेश दिईसकेको छ । यस सम्बन्धि मुद्दाको जेठ १० गते पेशी रहेको छ ।

दुबै प्याकेजको ठेकेदारले काम नगरेपछि सिद्धीशाहीबाट ६ करोड र मैनाचुलीबाट ४ करोड मोविलाइजेसन पेश्की तथा १ करोड ब्याज लिइ सकिएकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?