सुनकोशी ३ मा बंगलादेशले पनि लगानी गर्ने

Read Time = 3 mins

काठमाडौं । नेपाल र बंगलादेशबीच छ सय ८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजना संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ । बंगलादेशको राजधानी ढाकामा मंगलबार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय पाँचौँ बैठकले आगामी छ महिनाभित्र संयुक्त उपक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने सहमति भएको बताइएको छ । नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण र बंगलादेशतर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) ले संयुक्त उपक्रममा लगानी गर्ने ऊर्जा मन्त्रालयका अधिकारीले बताएका हुन् । बैठकले आगामी वर्षायाममा भारतीय भूभाग हुँदै नेपालले ४० देखि ५० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न दुवै देशले पहल गर्ने भएका छन् ।

बैठकले भारतसँग छलफल गरेर आगामी वर्षायाममा ४० प्रतिशत विद्युत् पठाउन पहल गर्ने सहमति गरेको छ । बंगलादेशमा रहेका ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार भारत पनि परीक्षण गर्न तयार रहेको, नेपाल र बंगलादेश किन्न बेच्न तयार रहेका कारण छिट्टै बंगलादेशमा नेपाली विद्युत् पुग्नेछ । हालको प्रसारण लाइन क्षमताअनुसार तत्काल ४० मेगावाट विद्युत् पठाउन सकिने उहाँले बताउनुभएको छ ।

नेपालले बंगलादेशलाई विद्युत् बेच्न भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकाले भारत सरकारको स्वीकृति चाहिन्छ । प्रसारणलाइन प्रयोग विषयमा भारत सकारात्मक देखिएको पनि उहाँको भनाइ छ । गत फागुन ६ गते नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १०औँ बैठकमा पनि नेपालले भारतको प्रसारणलाइन प्रयोग गरी बंगलादेशमा विद्युत् निर्यात गर्ने प्रस्ताव राखेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?