‘भत्किँदै किल्लाहरू’ कथासङ्ग्रहको लीलाबोधी विश्लेषण-२

डा. नारायण चालिसे
Read Time = 20 mins

रामलीला :
रामलीला कथामा पौराणिक कथा र पौराणिक पात्रको पुनर्पाठ र पुनर्निर्माण गरिएको छ । राम, लक्ष्मण र सीताको कथालाई अहिलेको सन्दर्भसँग जोडेर हेरिएको छ । राम, सीताको अभिनय गर्न आधुनिक राम र सीताले उहिल्यैका जस्ता पहिरन लगाएर रामलीलाको निम्ति नाटकीय मञ्चमा प्रवेश गर्दछन् । हिजोकी पतिपरायणा, पतिव्रता, सहनशील, सुशील नारीकी प्रतिमूर्ति सीता आज ती सबैको ठिक उल्टो स्वभावमा नारी अधिकार, स्वतन्त्रता र नारी विद्रोहका कुरा गरिरहेकी मात्र छैन केही असहिष्णु, केही अमर्यादित, केही अशिष्ट र केही सत्ताच्युत पनि हुन गएको अवस्थाको चित्रण गरिएको छ ।

त्यस्तै आदर्श र मर्यादाका प्रतिमूर्ति रामको स्वभाव पनि हिजोको जस्तो मर्यादित, शिष्ट र शालीन छैन । पत्नी सीताप्रति उनी सकारात्मक छैनन्, सशङ्कित छन् र सीताको चरित्रमा शङ्का मात्रै गर्दैनन् अझ स्वास्थ्य परीक्षण र एच.आई.भि. टेष्टसम्मको शर्त राखेको अवस्था छ । यसले राम र सीता आज जन्मेका भए कस्ता हुन्थे भन्ने कुरातर्पm इङ्गितमात्र गरेको छैन । राम र सीताको चरित्रमाथि पनि पुनर्मूल्याङ्कनको खाँचो देखाएको छ । युग सन्दर्भमा राम र सीताका चरित्र र उनका भूमिकाको पुनरवलोकन गरेको छ र नारीमाथि सतित्वको अड्को थाप्ने परम्परित समाजप्रति पनि प्रश्न उठाइएको छ ।

जीवनमा राम र सीताको अभिनय जस्तै जीवनको नाटक र त्यसमा कुशल, अकुशल नाटक गर्न कलाको चित्रणबाट हाम्रा धारणा, विचारणा र क्रियालीला छन् । हामी एउटामा अर्थोक नै बाँचिरहेका छौं, अर्थहरूले जीवनलाई एकसरो रहन दिँदैनन् भन्ने लीला धारणालाई सङ्केत गरेको अवस्था छ ।

त्यस्तै जीवनमा राम र सीताको अभिनय जस्तै जीवनको नाटक र त्यसमा कुशल, अकुशल नाटक गर्न कलाको चित्रणबाट हाम्रा धारणा, विचारणा र क्रियालीला छन् । हामी एउटामा अर्थोक नै बाँचिरहेका छौँ, अर्थहरूले जीवनलाई एकसरो रहन दिँदैनन् भन्ने लीला धारणालाई सङ्केत गरेको अवस्था छ । रामलीला वास्तवमा नाटक हो तर हो जस्तै चरित्रको अभिनय जीवनमा चलिरहेको छ भन्ने लीलाबोध यहाँ प्रकट भएको छ ।

रामको त्यत्रो अग्लो विश्वासको पर्खाल गाउँलेको कुरा कटाइले ढलेको छ । हाम्रा विश्वासका पर्खाल कति कमजोर छन् भन्ने पनि यसले सङ्केत गरेको र पत्नीको सतीत्वमा शङ्का गरेर रामले विश्वासको मृत्यु गराएका छन् । हाम्रा पनि विश्वास र धारणाहरू त्यस्तै कमजोर तन्तुले जोडेका छन् जुन तुरुन्तै सानो हावाको झोक्काले पनि ढलाइ दिन सक्छ भन्ने सङ्केत प्रसारण भएको छ ।

पारम्परिक रामलीलाको विपक्षमा आधुनिक रामलीला जहाँ सीताको सतीत्व परीक्षणको निम्ति अग्निपरीक्षाको आयोजना होस् त्यसको आव्हान गरिएको यो कथा रामायणको कथाको विनिर्माण हो र यो आधुनिक रामायणको प्रस्ताव हो ।रामको शक्ति र सामथ्र्यलाई लल्कार्नेरामको दृष्टिकोणमा पुनर्विचारको प्रस्ताव गर्ने काम भएको छ । रामलीलालाई जीवनको नौटङ्की घोषणा गरिएको छ । विधा मिश्रण छ । नाटकीयता, कवितात्मकता, आख्यानमयता यसका भिन्न रूप देखा परेका छन् । सीताको स्वास्थ्य परीक्षण गराउने समाजमा रामको पनि स्वास्थ्य परीक्षण आवश्यक छ भन्ने सन्देश प्रसारण गर्न खोजिएको छ ।

हिजो अपहेलित सीताहरू नारी अधिकार र अस्तित्वको खोजी गरिरहेका छन् (धरावासी (सम्पा.) २०५९, पृ.७) । आज रामभन्दा धेरै महत्वपूर्ण सीतालाई आफ्नो अस्तित्व प्यारो लागेको छ । त्यसैले समय समयका रामसीताका कथा आफ्नै युगका राम्रा छन् । जीवन एउटा वास्तविक र एउटा काल्पनिक रामलीला हो भन्ने सन्देश पनि कथाले दिएको छ । अस्तित्व संकट र त्यसको खोजीको लीला यहाँ विद्यमान छ (लीलासूत्र १६)

उर्मिला :
रामायणकी उर्मिला पात्रको विपठन र विनिर्माण गरिएको छ । एकजनाको कथा पढ्नु भनेको एकजनाको मात्र कथा पढ्नुमात्र भइदिए त्यो कथा कसैले पढ्दैनथ्यो । रामायणको कथाको विपठन गरिएको छ, उर्मिलाको चरित्रको समीक्षा गरिएको छ (पृ.६६) । फिलिपिनी नारी अरेविल्लासँग उर्मिलालाई तुलना गरिएको छ । उर्मिला र लक्ष्मणलाई अरेविल्ला र जोनाथनको जोडीसँग दाँजिएको छ । रामायणमा आज्ञाकारिणीको भूमिकामा रहेकी उर्मिलाको उपेक्षित जीवनलाई पुननिर्माण गर्न खोजिएको छ । म (दुश्यन्त) र उनकी पत्नी शकुन्तला, उर्मिला र लक्ष्मण, अरेविल्ला र जोनाथनका कथा सँगसँगै पढिएका छन् ।

पौराणिक पात्र र घटनाको पुनसिर्जन गरिएको छ । सत्यका अनेक रूपहरू देखाइएको छ । इतिहासले महत्त्व नदिएकी तर सबैभन्दा आदरणीय भन्नुपर्ने पात्र बनेकी छन् उर्मिला । घटनाको अन्त्य त होला तर व्यथाको अन्त्य कसरी होला (पृ.७४) । मेरो जीवन सम्पूर्ण रूपमा प्रभावित हुने यत्रो वियोगको निर्णय एक्लै लिने अधिकार तपाईलाई कसरी प्राप्त भयो ? (पृृ.७४) उर्मिलाको यो विद्रोहको बोली हो, त्यस्तै दुष्यन्त र शकुन्तलाको पनि अवस्था त्यही हो र धेरै उर्मिलाहरूको अवस्था पनि यही हो ।

अरेविल्लाको पनि अवस्था त्यही हो, हिजो लक्ष्मणहरू कुनै एउटा उद्देश्यले वनवास गएजस्तै आज जोनाथन, दुष्यन्त वा आजका लक्ष्मणहरू त्यसरी नै अर्कै समस्या र कारणले वनवास (त्यो शहरवास) पनि हुन सक्छ गएका छन् । जे जस्ता कारणले भए पनि लक्ष्मण र उर्मिलाहरूको विछोड भइरहेको छ, कारण अनेक छन्, परिणाम एउटै छ, भोगाइका रूप फरक फरक छन्, तर पीडाको चुरो एउटै छ । हिजो बाबुको आज्ञा पालन गर्न, दाजुको आदर्श र मातृकर्तव्य निभाउने नाउँमा जे भएको थियो कारणहरू फरक छन् तर परिणति उस्तै छ । पौराणिक मिथकलाई विगठन र विनिर्माण गरी यहाँ लीला लेखन गरिएको छ ।

शूर्पणखा :
अपहेलित, उपेक्षित, असत् चरित्रमा सजिएकी शूर्पणखाको चरित्रको उत्थान गरिएको छ । शूर्पणखाको विवशता र अर्को मानवीय स्वभावको विवेचना गरिएको छ । पौराणिक पात्रको उत्खनन् गरिएको छ, अपकर्षबाट उत्कर्ष गराइएको छ, इतिहासले खलचरित्र थोपारिदिएर अन्याय गरिएकी पात्र मानेर उनको सफा चरित्रको वर्णन गरिएको छ । रामायणमा कुरूप भनिएकी शूर्पणखालाई सुन्दर बनाइएको छ । उसको यौवन र सौन्दर्यको उपेक्षा गरी उसको नाक र कान काटिदिने राम र लक्ष्मणलाई दोषी देखाइएको छ ।

नारी हिंसाको विरोध गरिएको छ, नारी विद्रोहको सङ्केत गरिएको छ जुन रामायणमा छैन । शूर्पणखाको मनोदशाको चित्रण छ । युद्धको विरोध गरिएको छ, युद्धले घाइते बनाइएका मनहरूको चित्रण छ, सौन्दर्य पनि सापेक्ष हुन्छ । अनाकर्षक÷विकर्षक, शूर्पणखाको चरित्रको उत्थानले कथाको सम्पूर्ण आशय नै फेरिएको, नकारात्मक दृष्टिले हेरिने शूर्पणखा सम्मानित भएकी छ । सबै कुरा धारणाको कुरा हो, दृष्टिको कुरा हो, सत्य सापेक्ष हुन्छ, निर्विकल्प केही र कोही छैन, हामीले बनाएका धारणाहरू हाम्रो ज्ञानका, दृष्टिका सीमाभित्र हुन्छन् ।
दृष्टि फेरिन सक्छ, परिस्थिति फेरिन सक्छ (उप्रेती, २०६८, पृ.१२६) । हाम्रा अर्थहरू फेरिन्छन् । समयको मूल्यबोध छ, मैले पढेकी शूर्पणखा अर्थात् चरित्रको विनिर्माण, कथाको विपठन भएको छ, नाटकीयता जीवनको पनि, अभिनयमा छौँ, लीलामा छौँ (धरावासी (सम्पा.) २०५९, पृ.७) भन्ने लीला मान्यता यहाँ प्रयुक्त छ ।

यात्रा :
विश्वासको मृत्यु भएको अवस्था यो कथामा संकेतित छ । एउटा विश्वासमा धेरै थकान, दुःखपीडालाई बिर्सिएर हिँडेको तर लक्ष्य भनिएको ठाउँमा पुग्दा भ्रमहरू हटेको अवस्था छ । त्यहाँ पुगेपछि अर्कै वस्तुको आकर्षण बढेको, प्राप्ति सामान्य भएको अथवा अर्को वस्तुमा विश्वास सारेर बाँच्ने अर्को प्रयत्न जीवनजस्तो यो यात्रा बन्न पुगेको छ । अर्थात् केही पनि नभएर पनि भएजस्तो, धेरै अभावभित्र भावको खोजी र चित्त बुझाउने, भ्रान्तिमा रमाउने, खेल छ । महाविश्वासको अन्त्य जस्ता अवस्थाहरूको चित्रण यात्रा कथामा गरिएको छ ।

जीवनको रङ्ग :
चित्रात्मकता, चित्रमा जीवनको रङ्ग उतार्ने कला, कथामा भएको छ । त्यस्तै लाग्ने मात्र त हो नि, सबै कुरा बुझिँदैन, बुझिने गरी हुँदैन कुनै पनि कुरा (पृ.९८) । उसोभए हामी सपनामा बाँचौं (पृ.९८) । तर, क्रम क्रमैसँग आउनुपर्छ क्रियामा (पृ.९५) । चेतन प्रवाह शैली छ । जीवनका धेरै प्रकारका रङ्ग छन्, कुनै पनि रङ्ग गाढा बसेको छैन, हुन् कि जस्ता लागेका रङ्गहरूले जीवन रङ्गिएको छ (धरावासी (सम्पा.) २०५९, पृ.४) ।

फट्याङ्ग्राको मृत्यु :
चेतनप्रवाह छ । कति ढुक्क हुनु, कति स्वाद ल्याउनु जिब्रोमा (पृ. १००) । मर्दको भारी भालुको कन्पारो (पृ.१००) । यस्तै यस्तै हुन्छ जिन्दगी, कहाँ पुग्छ र भनेको (पृ. १०१) । लोग्ने परदेशमा गएको बेला उसैको कमाइमा स्वास्नीले मोज गरेको र छाडेर गएको अवस्थाको चित्रण छ । कान्छीको महिमा, कान्छीकै यौवनमा कालेको बाबुको मन सरेको अवस्था छ ।

विश्वासघातको कारणले विश्वासको मृत्यु हुने कुराको सङ्केत मिलेको छ, एउटा भ्रमपूर्ण जीवन कालेको बाबुले आफ्नी स्वास्नीमाथि विश्वास टिकाएर बाँचेको रहेछ । त्यो जीवन पनि स्वास्नीको अर्को रूप थाहा नहुन्जेलको निम्ति सत्य भएर बसेको थियो । त्यो एउटा सत्य, यो पछिल्लो अर्को सत्य । हिजो स्वास्नीले जीवन ग्यारेज भयोभन्दा उसले उसको जीवन गाडी नभएको घर भन्ने बुझेको थियो । कालेको बाबुले र त्यो विश्वासमा, त्यो सत्यमा अडिएर आफू भावुक, दुःखी वा यस्तै के हुनुपर्ने थियो त्यही भएको थियो तर उसकी स्वास्नीको जीवन ग्यारेज भएको भनेको त सबैले ल्याएर गाडी राख्ने ठाउँ पो बनेको रहेछ ।

ग्यारेजको अर्थ त यो पनि हो तर उसले रित्तो ग्यारेज भनेको उसको बुझाइ भ्रम रहेछ, गाडीहरू फेरी-फेरी राखिने ठाउँ पो रहेछ ग्यारेज अर्थात् उसकी स्वास्नी । महाभारतका मोडलहरू धेरै बदलिइसके (पृ.१०२) अर्थात् महाभारत पनि एउटै उत्तर दिने, एउटै परिणाम दिनेमात्र कहाँ छन् र युगयुगका अनेक कारण, अनेक निहुँमा मच्चिने अनगिन्ती महाभारतका कथा जन्मिइरहेको अवस्थामा एउटै उत्तर आउने स्थिर मिथक महाभारतको पनि भत्किइसकेको छ ।

जीवन सांयोगिक नियति रहेछ । विभिन्न संयोगहरूले जीवन जोडिएको छ, त्यसैगरी संयोगले टुटेको छ, यो विश्वास, संयोगको खेल पनि हो । कहिलेदेखि कहिलेसम्मको आफ्नो, को पराइ ? अनि फेरि को आफ्नो को पराइ ? के यसमा वास्तविकता छ ? जीवन एउटा यस्तै संयोगमात्र हो ।

त्यहीँ एउटा युद्ध युधिष्ठिरहरूले जिते मर्ने र मार्ने खेल मिलेको युद्ध तर त्यो युद्धभन्दा पहिले अर्को ज्यादै शक्तिशाली युद्ध हस्तिनापुरमा रचिएको थियो । चीरहरण युद्ध, द्रौपदी अपमानको युद्ध वा कपटी जुवाको युद्ध जुन युद्ध दुर्योधनले जितेको थियो र दुर्योधनको त्यही जीतले अर्को युद्धको आव्हान भएको थियो । त्यसैले जित पहिलो पनि उत्तिकै महत्त्वपूर्ण छ जत्तिको दोस्रो, तेस्रो वा चौथो । त्यसैले कथामा भनिएको छ कतिखेरको जित जित हो ? पुछारको मात्रै ? सुरुको, बीचको जित जित होइन भने के त ? ती पनि जित नै हुन् ।

त्यस्तै आजको बुच्चो कान आजैमात्र नभएर हिजैदेखि लिएर आएको विरासतलाई बुच्चो नमान्ने कारण छैन । त्यसैले क्रमशः जीवनका सबै पक्ष अघिल्ला पक्षले पनि सम्बन्धित छन्, कारणले जोडिएका छन्, अघिल्ला अघिल्ला घटना । त्यसैले अहिलेको जन्म अहिलेको मात्र होइन, अघिल्ला जन्मको निरन्तरता पनि हो । स्वास्नीले तिरस्कार गरेको कालेको बाउ कान्छीको यौवनमा त्यसरी नै विश्वस्त भएको पनि हुनसक्छ, जसरी उसकी स्वास्नीमा विश्वस्त रहँदा थियो । के यो कान्छीको सहानुभूतिमा भ्रम छैन त ? कान्छीको कालेको बाबुप्रतिको दया, करुणा के हो ? अर्को विश्वासको मृत्युको आधार होइन र ? संयोगले पत्नी बनेकी कालेकी आमा संयोगले हिँडी (पृ.१०५) ।

जीवन सांयोगिक नियति रहेछ । विभिन्न संयोगहरूले जीवन जोडिएको छ, त्यसैगरी संयोगले टुटेको छ, यो विश्वास, संयोगको खेल पनि हो । कहिलेदेखि कहिलेसम्मको आफ्नो, को पराइ ? अनि फेरि को आफ्नो को पराइ ? के यसमा वास्तविकता छ ? जीवन एउटा यस्तै संयोगमात्र हो । आउने केही समय बल्ने अनि निभ्ने, जीवनको मूल्य केवल फट्याङ्ग्रा, किरासरह ज्यादै सामान्य मूल्यहीन, महत्वहीन, कीटपतङ् सरहको छ भन्ने विसङ्गति बोध । यस्तो महाविश्वासभित्रको एउटा सस्यानो विश्वासको मृत्युले खासै ठूलो महत्त्व राख्दैन (धरावासी (सम्पा.) २०५९, पृ.६१, ६२) ।

मानिसको जीवन समग्र विश्वब्रहृमाण्डका जीवको दाँजोमा एउटा सामान्य कीरा फट्याङ्ग्रा सरहको अस्तित्वमा छ । त्यसैले यो महत् तत्वभित्रको ज्यादै नगण्य तत्वभन्दा पर मानिस भन्ने जीव वा जीवनको पनि अस्तित्व छैन । रक्सीले अचेत हुन पुगेको कालेको बाबुको मुखबाट जीवनको सत्य बोलियो-अब मलाई बाँच्न तँ चाहिँदैनस्, मर्न पनि तँ चाहिँदैनस् (पृ.१०५) ।

जीवनमा यसरी नै बोधको अवस्थामा पुग्न आवश्यक छ । बाँच्ने पनि आफैँ हो र मर्ने पनि आफैँ हो । जब जीवनका सारा भ्रमहरू हटेर सत्यको नजिक पुग्छ, त्यसपछि कुनै पनि बाँच्ने उपक्रमहरू व्यर्थ लाग्छन्, त्यही नै जीवनको यथार्थ हो । तर, त्यही सत्य कान्छीलाई स्वाभाविक लागेन र उसले भनी ‘किन रक्सीले छोडेको हो ?’ उसले जीवनलाई पुनः भ्रममा पुर्‍याउनको निम्ति र कालेको बाबुलाई भ्रममै फर्काउनको निम्ति उसले अरू रक्सी खुवाउन आवश्यक ठानी र रक्सी लिन पसलतिर दौडी (पृ.१०६) ।

कति अनौठो छ जीवनको यथार्थ र कति कठोर छ जीवनको गति । अनि कसरी लठ्ठिएको छ मानिस जीवनमा उपाधिहरूको भ्रममा भन्ने कुरा यो कथामा अभिव्यक्त भएको छ । विश्वासको मृत्यु छ, अर्को विश्वासको आमन्त्रण छ, सबै विश्वासहरू सापेक्ष छन् भन्ने बुझाइ छ । भ्रमको महल ढलेको छ ।

https://ehimalayatimes.com/2023/05/117255/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?