एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ: नेता पौडेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उहाँले काठमाडौँभित्रको विकासका लागि एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “काठमाडौँभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ, सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले काठमाडौँ उपत्यकाभित्रको विकासका लागि सुविधासम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने बताउनुभयो । काठमाडौँ संसारको प्रदूषित सहर बन्दै गएकाले यसलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट लाग्नुपर्ने उहाँको भनाइ थियो ।

नेता पौडेलले खोला क्षेत्रको वरपर करिडोर निर्माण गरेर त्यहाँ वृक्षरोपण गर्न सकेमात्र काठमाडौँको वातावरण राम्रो हुने बताउनुभयो । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद जगदीश्वरनरसिंह केसीले काठमाडौँलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन व्यक्तिबाटै पहल हुनुपर्ने बताउनुभयो ।

काठमाडौँभित्र भद्रगोल विकासलाई अन्त्य गर्दै व्यवस्थित विकासमा सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । नेता केसीले निरोगी र स्वस्थ्य मानिस बन्नका लागि व्यक्ति स्वयम् लाग्नुपर्ने बताउनुभयो । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्र आयुर्वेद अस्पताल निर्माणका लागि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो ।

यस्तै साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा प्रदान गर्न नगरपालिकाले काम सुरु गरिसकेको उहाँको भनाइ थियो । वातावरण संरक्षणका लागि नपाले काम गरिरहेको नगरप्रमुख महर्जनले बताउनुभयो । विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाडौँको उत्तरी क्षेत्रको टोखा र तारकेश्वर क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । सो केन्द्रले हालसम्म देशका विभिन्न दुई सयभन्दा बढी क्षेत्रमा पुगेर स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?