नेपालको पक्षमा नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गर्नुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको शपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताउनुभएको हो । ‘हामीलाई दबाब छ । तर, जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ’ उहाँले भन्नुभयोे, ‘युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं । अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं ।’

प्रधानमन्त्री प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको पनि टिप्पणी गर्नुभयो । ‘नेपाली जनताले झण्डै सात दशकभन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ । १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरू फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउनसक्छ भनेर बसेका हौँ’ उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारले अहिले राजस्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको पनि बताउनुभयो । ‘पुँजीबजारसम्बन्धी त्यहाँ हुने सबै सेटिङहरूलाई हामीले भत्काएका छौँ । राजस्व वृद्धि गर्न त्यसलाई अलि सुदृढ गर्न कडा कदम चाल्नेतिर अघि बढेका छौँ । रेमिट्यान्सको वृद्धि गर्न गम्भीर कदम चालेका छौँ’ उहाँले भन्नुभयो ।

दाहालले आगामी आर्थिक वर्षको बजेट पारित गर्नेबित्तिकै छिमेकी मुलुक भारतको भ्रमण गर्दै हुनुहुन्छ । उहाँ तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणको औपचारिक निर्णय भने भइसकेको छैन । तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको तयारी अघि बढाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे छलफल भइरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीलाई लिएर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र पार्नुभएको छ । उहाँले पूर्वपरराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र पूर्वसचिवहरूसँग छलफल गरिसक्नु भएको छ ।

परराष्ट्रमन्त्री साउदले शुक्रबार पनि प्रधानमन्त्री दाहालको भ्रमणका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू सुजाता कोइराला, रघुवीर महासेठ, प्रकाशचन्द्र लोहनी र भेषबहादुर थापा सहभागी हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री साउदले यसअघि बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरूसँग छलफल गर्नुभएको थियो । सुरुमा वैशाख अन्तिममा भ्रमण गर्ने गरी छलफल अघि बढेको थियो । तर नेपालमा नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रिया चलिरहेको थियो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २७ वैशाखमा सम्पन्न कर्नाटक राज्यको निर्वाचन कार्यक्रममा व्यस्त हुनुभयो । मोदी चारवटा देशको भ्रमणमा जाने भएकाले प्रचण्डको भारत भ्रमण हुन सकेको थिएन । भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको लागि पठाएको औपचारिक निम्तो पत्र भने काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?