पोर्चुगलमा सुतेकै अवस्थामा एकजना नेपाली युवाको निधन

रासस
Read Time = 2 mins

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका-१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो ।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभयो । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए । विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई-माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?