बागमती मन्त्रिपरिषद विस्तार, भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ बनाउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीका मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्नुभएको छ।

प्रदेश सरकार गठनको ५७औँ दिनमा उहाँले नेपाली कांग्रेसबाट चारजना र नेकपा एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएसँगै सरकार विस्तार हुन लागेको हो । सत्ता गठबन्धनमा बागमती प्रदेश सरकार विस्तारका लागि ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर १२ मन्त्रालय बनाउने गरी गठबन्धनबीच सहमति भएको हो ।

कांग्रेसबाट रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्दा पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र मसिना खड्का भण्डारी वन तथा वतावरण मन्त्री बन्नुभएको छ ।

यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बन्नुभएको छ ।

उहाँहरुको आइतबार नै शपथ गराउने तयारी गरिएको छ ।

तत्कालीन माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबीचको गठबन्धन सरकार फेरबदल भएसँगै नेकपा माओवादी केन्द्रले कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग मिलेर १० चैतमा प्रदेश सरकार पुनःगठन भएको थियो ।

मुख्यमन्त्री जमकट्टेलले गत चैत १० मा विश्वासको मत प्राप्त गर्नुभएको थियो । विश्वासको मत प्राप्त गरेलगत्तै गत चैत २६ मा नेपाली कांग्रेसको तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?