लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बंगलादेशलाई तीन-शून्य सेटले पराजित गर्दै नेपाल एनएससी-काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक आयोजना भएको च्यालेन्ज कपमा समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि २५-१०, २५-८, २५-९ ले पराजित गर्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो खेलमा किर्गिस्तानलाई हराएर तीन अंक बटुलेको नेपालले बंगलादेशमाथिको जितसँगै ६ अंक बनाएको हो । यसै समूहबाट भारतले किर्गिस्तानमाथि तीन-शून्यको सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

समूह विजेता र उपविजेताको छिनोफानो आज (बुधबार) हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले अब वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, मंगलबार नै भएको समूह ‘बी’ को खेलमा काजकिस्तानले श्रीलंकामाथि निकै नै प्रतिस्पर्धात्मक खेलमा तीन-एक सेटको जित निकाल्न सफल भयो । पहिलो र दोस्रो सेट २५-१६, २८-२६ ले आफ्नो पक्षमा पारेको काजकिस्तानले तेस्रो सेट १८-२५ ले श्रीलंकालाई सुम्पियो ।

यस्तै, चौथो सेटमा निकै नै प्रतिस्पर्धात्मक रूपमा २९-२७ ले काजकिस्तानले जित्दै जित आत्मसात गर्‍यो । यस जितका साथै काजकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजकिस्तानले माल्दिभ्सलाई पराजित गरेको थियो ।

त्यसअघि भएको पहिलो खेलमा भारतले किर्गिस्तानलाई पराजित गरेको थियो । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । भारतले किर्गिस्तानलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको हो ।

यसअघि सोमबार भएको पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो । भारतले किर्गिस्तानलाई पहिलो सेटमा २५-१७, दोस्रो सेटमा २५-८ र तेस्रो सेटमा २५-८ अंकले हराएको हो । किर्गिस्तानको यो दोस्रो पराजय हो । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा किर्गिस्तान नेपालसँग पराजित भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा सञ्चालित सो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत, बंगलादेश र किर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?