विद्यालय आउजाउ गर्न छात्रालाई साइकल

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 5 mins

सिन्धुली । मरिणको देउजोरदेखि कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रितुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नु पर्दछ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी, उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । कक्षा ११ देखि माथि पढ्न स्थानीय सरकारको रूपमा रहेको मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताको लागि उहाँसँगै स्थानीय खयरसाल माध्यमिक विद्यालय र कपिलाकोट माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत १६० जना छात्राहरूले साइकल पाएका छन् । ‘साइकल चलाउनुका फाइदै फाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ । शारीरिक कसरत हुने भयो । यो वातावरणमैत्री पनि छ,’ साइकल चलाउन सिक्दै गर्नुभएकी रितुमायाले भन्नुभयो ।
रितुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटोे कच्ची भएकोमा छ । तल्लो देउजोरदेखि माथिल्लो देउजोरसम्म (एक घण्टा)को बाटो साँगुरो र कच्ची भएकाले साइकल डो¥याएर हिँड्नुको विकल्प नभएको उहाँले बताउनुभयो । साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिन पर्ने उहाँको भनाइ छ ।

मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राख्नुभएका मरिण-२ सिथौलीका सुब्बा सिंह (पवन)लाई अब साइकलमा आउजाउ गराउने सोचमा हुनुहुन्छ । घरबाट विद्यालय पदैल आउजाउ गर्र्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियोे । पालिकाले दिएको साइकलले छोरी मात्रै होइन अभिभावक पनि खुसी छन् । ‘छोरीलाई साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो । पढेर छोरीले साइकल पायो भनेर हामीलाई पनि हर्ष भयो,’ सिंहले भन्नुभयो ।

मरिण सरकारले गरेको कार्यको उहाँले प्रशंसासमेत गर्न भ्याउनुभयो । मरिणले जस्तै अरू पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उहाँको सुझाव छ । साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उहाँको धारणा छ ।
मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख रुपैयाँ दिइने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पस प्रमुख खेमहरि बरालको बुझाइ छ । उच्च शिक्षामा महिलाहरूको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ । त्यसलाई क्रमशः स्तरोन्नति गर्दै लगिनेछ । मरिणमा छात्राले एसइई दिएपछि पढाइ छोड्ने र सानो उमेरमै विवाह गर्नेको संख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको गापा अध्यक्ष मोक्तानले बताउनुभयो । यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको संख्या बढ्ने उहाँको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?