महासंघ अध्यक्ष र राष्ट्र संघका संयोजकबीच भेटवार्ता

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर-हमदीबीच बिहीबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो अवसरमा दुई संस्थाबीच दिगो विकासका लक्ष्य कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको महासंघले जनाएको छ । राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुन सक्ने बताउनुभएको थियो ।

महासंघको नयाँ नेतृत्वले अघि सारेका पाँच प्रमुख प्राथमिकता, आर्थिक संकट समाधानका लागि रणनीति तय गर्ने, लगानी वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, व्यवसायीको सम्मानबारे अध्यक्ष ढकालले जानकारी गराउनुभएको थियो ।

आवासीय संयोजक हाना सिंगरले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताउँदै लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र राष्ट्र संघले सहकार्य गर्न सक्ने उहाँको भनाइ थियो ।

महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले दिगो विकास लक्ष्य र आर्थिक स्तरोन्नतिमा महासंघका तर्फबाट हालसम्म भएका प्रयासबारे जानकारी गराउनुुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?