काँग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ ।
उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उहाँको तर्क थियो ।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उहाँले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने बेला आएको बताउनु भयो । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन काँग्रेसले । डराउनदैन पनि । कतिपय उचित आलोचनाहरु हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले । अहिले बडा चुनौति आएको छ देशमा । राष्ट्रमा लामो लडाईपछि आएको प्रजातन्त्र हो । यसको खिलापमा पनि एकथरी लागेका छन । त्यसकारणले यस्तो हुनुलाई अन्यथा लिनु हुँदैन । त्यसकारण हामी सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा, केही कमी छन भने सुधार्दै अगाडि बढ्नुपर्दछ । प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै हो । अरु कुनै हुन सक्दैन । यो कुरा सबैले बुझ्नुपर्दछ भन्न चाहन्छु ।’

त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पु¥याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्त औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनहरुलाई आह्वान गर्नुभयो । उहाँले ठूलो लगानीका सञ्चार गृहहरुले समेत श्रमजीवि पत्रकारहरुलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसको बिरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष पोखरेलले भन्नु भयो, ‘श्रमजीवि पत्रकाहरुलाई मारमा पार्ने नयाँ प्रवृत्तिहरु देखिएका छन् । ठूलो लगानीका भनिने समाचार संस्थाहरुले समेत सञ्चारकर्मीहरुलाई नयाँ विकल्प खोज भन्न थालेको सूचनाहरु हामी कहाँ पनि आउन थालेका छन् । यो बेला श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाको सवालमा हामी सबैले संयुक्त रुपमा एउटा सशक्त अभियान थाल्न जरुरी छ । यसका लागि पनि प्रेस युनियन दृढ संकल्पित भएर आउनुपर्दछ भन्ने मलाई लाग्दछ । र, म त्यो आग्रह र अपिल पनि गर्न चाहन्छु ।’

अध्यक्ष पोखरेलले सञ्चारमैंत्री कानुन निर्माणमा ध्यान दिन सरकारलाई पनि सचेत गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?