फिफा र एएफसीका प्रतिनिधिद्वारा एन्फाका पदाधिकारीसँग भेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल भ्रमणमा रहेको फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग भेट गरेको छ । एन्फाको कार्यसमिति सदस्य र प्रशासनसहित विभिन्न निकायका प्रतिनिधिसँग भेटवार्ता गरेको एन्फाले जनाएको छ ।

फिफाको सिनियर मेम्बर एसोसिएसन गभर्नेन्स सर्भिस म्यानेजर अहमद हराज, फिफा क्षेत्रीय कार्यालय दक्षिण एसियाका प्रमुख प्रिन्स रुफस, एएफसी दक्षिण एसिया युनिटका सिनियर म्यानेजर सोनम जिग्मी र एएफसी दक्षिण एसिया युनिटका म्यानेजर दिनिश डी सिल्भा दुईदिने नेपाल भ्रमणमा आउनुभएको थियो ।

फिफाको ७३औँ महाधिवेशनमा एन्फालाई आन्तरिक सुशासन प्रक्रियामा सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईको अनुरोधमा भ्रमणको आयोजना गरिएको एन्फाले जनाएको छ ।

प्रतिनिधिमण्डलले एन्फाले आफ्नो आन्तरिक प्रक्रियालाई सुधार गर्न पहिले नै कार्यान्वयन गरेको कामको प्रशंसा गर्दै एन्फालाई दक्षता स्तर बढाउन र थप सुधारहरू हासिल गर्न आवश्यक सहयोग जारी राख्ने आश्वासन दिएको एन्फाले जनाएको छ ।

बैठकमा उपस्थित एन्फा कार्यकारी समितिका सदस्यहरूले सन् २०२१ देखि एन्फामाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउने उद्देश्यले फिफा र एएफसीका विभिन्न नियमावलीमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?