महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुर । यही जेठ १५ देखि २६ गतेसम्म जनकपुरधाममा महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मधेश प्रदेश क्रिकेट संघ धनुषाले जनकपुरधाममा पत्रकार सम्मेलन गरी यही जेठ १५ देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

संघका अध्यक्ष हिरा भगतले मधेश प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको प्रमुख सहयोगमा १५ गतेदेखि आयोजना हुने प्रतियोगितामा सातै प्रदेशका एक/एक गरी सात टिमको सहभागिता रहने र खेल रामजानकी बहुउद्देश्यीय खेल मैदानमा खेलाइने जानकारी दिनुभयो ।

सो अवधिमा २२ वटा खेल हुनेछन् । यसअघि जिल्लास्तरमा आयोजना भएको प्रतियोगिता पहिलोपटक प्रदेशस्तरमा आयोजना गर्न लागेको उहाँले बताउनुभयो । प्रतियोगितामा विजेता टिमलाई तीन लाख र उपविजेतालाई दुई लाखसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको कुल लागत ७० लाख लाग्ने अनुमान गरिएको जिल्ला क्रिकेट संघ धनुषाका सचिव आशिषकुमार झाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता महेन्द्रनारायण निधिको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएकाले यसलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि जनकपुरधाममा खेलकुद गतिविधि बढाउने उद्देश्यले यसअघि मेयरकप क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको र १५ गतेदेखि हुने प्रतियोगिता त्यसकै निरन्तरता भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनका नेता निधिको स्मरणसँगै सरकारलाई यहाँ बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला बनाउन ध्यानाकर्षणका लागि पनि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?