भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डद्वारा शीर्ष नेताहरूसँग परामर्श

‘यसपालि हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ’

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ गतेदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरूसँग छलफल गर्नुभएको छ । आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत सहभागी हुनुभएको थियो । बैठकमा विभिन्न दलका शीर्ष नेतासँगै पूर्वपराराष्ट्र मन्त्रीहरूको पनि उपस्थिति थियो । आइतबार सिंहदरबारमा गरेको छलफलमा उहाँले आफ्नोे भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराउनुभएको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफूले प्रबुद्ध व्यक्तिको समूह (इपिजी)को प्रतिवेदन बुझ्ने विषयमा, महाकालीको पानी आधा–आधा गर्ने र नयाँ विद्युत् परियोजना भारतलाई दिने विषयमा सचेत हुन सुझाव दिएको बताउनुभयो । ‘हामी नेपाली प्रधानमन्त्रीको भ्रमणका बेला उत्पातै हुन्छ भन्ने सोच्छौँ, त्यस्तो केही हुन्न,’ भट्टराईले भन्नुभयो, ‘एक त यो परामर्श पनि सबै एजेण्डाहरू तय भइसकेपछि भएको छ ।’

नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भैरहवामा हवाई रुट दिने विषयमा छलफल गर्नुपर्ने सुझाव आफूले दिएको बताउनुभयो । ‘बरु सम्झौता नभए केही बिग्रिँदैन तर नेपालको हितविपरीत हुने सम्झौता नगर्न भन्यौँ,’ उहाँले भन्नुभयोे, ‘तपाईंले आफ्ना कुरा खुलस्त राखेर विश्वासको वातावरण बनाउनुहोला भन्यौँ ।’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सीमा विवाद समाधान गर्न आफूसँग भएका प्रमाण अध्ययन गरेर खुट्टा दह्रो पारेर कुरा गर्नुहोस् भनेर सुझाव दिएको बताउनुभयो । ‘त्यसका लागि मैले केही प्रमाणहरू पनि प्रस्तुत गरेको थिएँ,’ उहाँले भन्नुभयोे, ‘पानीका विषयमा केही समझदारी हुन लागेको छ भन्ने सुनेको छु । नेपालको पानी बगेर भारतमै जाने पनि त्यसमा हाम्रो स्वामित्व स्थापित हुनुपर्छ भन्ने हिसाबले कुरा राख्नुहोला ।’ उहाँले भारतसँग विश्वासको सम्बन्ध आवश्यक रहेको भए पनि र त्यो अहिले घटिरहेको पनि बताउनुभएको थियो । पूर्वपरराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर आत्मविश्वासको साथ आफ्नो कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको उल्लेख गर्नुभयो । ‘पूरा तयारीका साथ जानुपर्छ । ऊर्जा, व्यापार, अरुण तेस्रो, फुकोट कर्णाली, तल्लो शारदाबारे गम्भीर गृहकार्य जानुहोस्,’ खड्काले भन्नुभयोे, ‘पहिला पनि तपाईंको भ्रमणमा भएका सम्झौतालाई कार्यान्वयन गर्ने कुरामा छलफल गर्नुहोला भन्ने सुझाव दिएँ ।’

पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधदेखि बंगलादेशमा नेपाली बिजुली निर्यात गर्ने विषयमा खुलेर कुरा गर्ने सुझाव दिएको बताउनुभयो । ‘जवाफमा प्रधानमन्त्रीले तपाईंहरूले भनेका कुराप्रति म सजग छु, नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर कुरा गर्छु भन्नुभयो,’ लोहनीले भन्नुभयो । छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सबैले राष्ट्रिय हितलाई केन्द्रमा राखेको सुझाव र टिप्पणी राखेको बताउनुभयो । ‘उहाँहरूले एकदम सकारात्मक रूप कुराहरू राख्नुभएको छ,’ उहाँले भन्नुभयोे, ‘यसपालि हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ ।’ शनिबार प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमणको तालिका सार्वजनिक गरिएको थियो । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?