एञ्जिला, सावित्रा र गीता आइलिग खेल्न भारत प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी, गोलकिपर तथा कप्तान एञ्जिला तुम्बापो सुब्बा र गीता राना भारतीय महिला (आई) लिग फुटबल खेल्न भारत प्रस्थान गर्नुभएको छ ।

यसपल्ट सावित्राले गोकुलम केरेला एफसी तथा एञ्जिला र गीता सेथु एफसी क्लबबाट खेल्नु हुनेछ । अर्को महिनाबाट सुरु हुने लिगका लागि उहाँहरू त्यसतर्फ खेल्न जानुभएको हो । आइ लिग माघ १ गते देखि फागुन ३ गतेसम्म भारतको केरेलामा हुने तालिका छ ।

तीनैजना बन्द प्रशिक्षणमा सहभागी बन्नुहुनेछ । गोकुलमको केरेलामै प्रशिक्षण शिविर राखिएको सावित्राले जनाउनुभयो । सेथुले गोवामा तयारी गर्न लागेको छ । गोकुलममा सावित्राको यो दोस्रो सिजन हो । दुई वर्षअघि उहाँले गोलकुलमलाई आई लिग च्याम्पियन बनाउनुभएको थियो । उहाँ लिगको सर्वाधिक गोलकर्ता बन्नुभएको थियो । त्यसअघि उहाँले सेथु एफसीबाट पनि खेलिसक्नुभएको थियो । एञ्जिला र गीता भने पहिलोपटक भारतीय क्लबमा आबद्ध भएका हुनुभएको हो ।

एञ्जिलाले आफूहरूले पाएको अवसरले नेपाली फुटबलकै विकास हुने प्रतिक्रिया दिनुभयो । उहाँले भारतमा सिकेको अनुभवलाई नेपालमा प्रयोग गर्ने बताउनुभयो । ‘भारतमा व्यावसायिक फुटबलका लागि नेपालको प्रतिनिधित्व गर्न पाउनु हाम्रा लागि गर्वको कुरा हो । देशको नाम उचो बनाउन हामी सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं र त्यहाँ सिकेको अनुभवलाई यहाँ साट्नेछौं,’ एञ्जिलाले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?