एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई स्वस्तिकको साथ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । धनगढीमा हुने चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सहप्रायोजकको रूपमा स्वस्तिक अस्पताल जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि धनगढीको चटकपुरमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीयालिटी हस्पिटल (स्वस्तिक अस्पताल)ले मुख्य सहप्रायोजकको रूपमा सहयोग गर्ने भएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र स्वस्तिक अस्पतालका अध्यक्ष महेशराज जोशीले प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । स्वस्तिक अस्पतालले प्रायोजन गरेसँगै मुख्य सहप्रायोजकको रूपमा अस्पतालाई स्थान दिइनेछ । अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमीपछि ईन एसोसिएसन विथ रूपको स्वस्तिक अस्पतालले अवार्डमा स्थान पाउनेछ ।

सहप्रायोजकको रूपमा स्वस्तिक अस्पताललाई अवार्डमा जोडिने अवसर दिएकोमा अस्पतालका अध्यक्ष महेशराज जोशीले स्वास्थ्य र खेलकुद क्षेत्रसँग एक अर्कासँग जोडिएकाले देशका गहना खेलाडीलाई सम्मान गर्ने कार्यक्रममा हातेमालो गदै अगाडी बढेको बताउनुभयो । उहाँले अवार्डमा जोडिन पाएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै अवार्डको सफलताको कामनासँगै अवार्डलाई निरन्तर रूपमा सहयोगसमेत गर्ने प्रतिबद्धता जनाउनुभयो ।

असार ८ गते हुने ‘चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगद रुपैयाँबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ ।

प्रायोजक प्रर्वद्धकहरूको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले मुख्य प्रायोजन गरेको अवार्डमा सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेटो हस्पिटल र सुदूरपश्चिम आइकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?