इपीजीबारे प्रधानमन्त्रीको जवाफ : वातावरण बिगार्नेगरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई फाईदा छैन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ ।

सो विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सो बारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताउनु भयो । भारतको औंपचारिक भ्रमण पूरा गरी शनिबार अपरान्ह स्वदेश फर्कनु भएको उहाँले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखि वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्नेगरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाईदा छैन । अहिले तपाईहरुले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । अव मैले आफ्नो ढंगले कुरा नगरेको छैन । आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढी उचालेर अव यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखि वातावरण बनेको बिगार्नु उचित थिएन । हामीले जुन तरिकाले कुरा गरियो । त्यो तरिकाले कुरा गरिएको छ । यति भनेपछि पत्रकार साथीहरु तपाईहरुले कुरा चाँही बुझ्नु होला । त्यसकारण यो भ्रमण फलदायी भएको छ । यसलाई अव हामीले सबैले मिलेर जे सहमती, समझदारी भएकोछ । त्यसलाई कार्यान्वयनमा लैजानु छ । कार्यान्वयना लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ । त्यसकारण भ्रमण विगतको भन्दा परिणाममुखि भएको छ । कामकाजी भएको छ । ’

प्रधानमन्त्री दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु बस्त्रधारण गर्नु परेको बताउनु भयो । सो मन्दिरमा मुख्य अतिथिले गेरु बस्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले सो बष्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्टिकरण थियो । उहाँले यसलाई नेपालको सर्वोपरी हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गर्नु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्म विरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बिहरुप्रति समान व्यवहार गर्नु पर्छ । अव मध्यप्रदेशमा जाने, इन्डोरमा जाने । नजिकै ऐतिहासिक सहर हो उज्जेन भनेको । महाकालेश्वर । त्यहाँ फेरी भव्य संरचना रहेछ । मैले त गएपछि पो थाहा पाए । त्यसले एकैदिनमा डेढ लाख मान्छेहरु जान्छन त्यहाँ हेर्न, पूजा गर्न । हामीले पनि यहाँ रामायण सर्किट भन्दैछौं । बुद्धिष्ट सर्किट भन्दैछौं । हामीले पनि धार्मिक पर्यटनको विकास गछौं भनेका छौ कि छैनौ ? म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेटनु पर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरुबष्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोशिस गर्नु भयो । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाईदा हुन्थ्यो त । म लगाउन्न भनेको भए के हुन्थ्यो । एक अर्व मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे ? सहज ढंगले गर्दा सबै खुशी भएँ । यसलाई सांस्कृतिक कूटनीतिको रुपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनु पर्दछ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रुपान्तरण गर्न सफल भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?