नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

सरकारका तर्फबाट नौ वकिलले बहस गर्दा प्रतिवादीका पक्षमा दर्जनौँ वकिलले प्रतिरक्षा गर्ने

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काममाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरु भएको हो । जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट नौ जना सरकारी वकिलहरूले बहस गर्ने भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखसमेत रहनुभएका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार सरकारको तर्फबाट नौजना सरकारी वकिलले बहस गर्नुहुने भएको हो । आइतबार सरकारी वकिल महेशप्रसाद खत्रीले बहसकोस सुरुवात गर्नुभएको छ । उहाँका अनुसार खत्रीसँगै अधिवक्ताहरू जनकप्रसाद घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, सुरबहादुर परियार, प्रकाश घिमिरे, निर्मला मरासिनी, हिरालाल घोलन, दीपा खरालले सरकारको तर्फबाट बहस गर्ने भएका हुन् ।

मुद्दाको अनुसन्धान सुरु गरिएको बेला देखिकै अधिकांश सरकारी वकिलले बहस गरिरहेका छन् । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा पठाउने कि बाहिर राख्ने भन्ने आदेश अदालतले दिनेछ । दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछ । अपराधको मात्रा कम देखिएको वा तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्ने लागेमा इजलासले केही प्रतिवादीलाई साधारण तारेखमा पनि राख्न सक्नेछ भने भागेर अन्यत्र जानसक्ने कतै सम्भावना नदेखेको अवस्थामा धरौटी लिएर पनि तारेखमा बस्ने आदेश दिन सक्नेछ ।

यसअघि नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियता विरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका छन् । प्रकरणका आरोपितमध्ये १२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिवादीका पक्षमा बहस गर्न वकिलहरूको लाइन
शरणार्थी प्रकरणमा सरकारको तर्फबाट नौजना वकिलले बहस गरे पनि प्रतिवादीका तर्फबाट भने दर्जनौँ वकिलले बहस गर्ने भएका छन् । प्रकरणमा आरोपितहरूको प्रतिरक्षाका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहित दर्जनौँ वकिलले बहस गर्ने भएका हुन् । प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा मात्रै दर्जन वकिलले बहस गर्न वकालतनामा लेखाएका छन् । खाँणको प्रतिरक्षाका लागि खाँणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि बहस गर्दै हुनुहुन्छ । वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे लगायतले खाँणको पक्षमा बहस गर्ने खातीले बताउनुभयो । त्यसैगरी, ललित बस्नेत, डिएलए अध्यक्ष योगेन्द्र अधिकारीलगायत करिब २० भन्दा बढी कानुन व्यवसायीले खाँणको प्रतिरक्षाका लागि बहस गर्न वकालतनामाको फर्म भरेका छन् ।

त्यस्तै, अर्का प्रतिवादी नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडाल नेतृत्वका कानुन व्यवसायीले बहस गर्ने भएका छन् । सचिव टेकनारायण पाण्डेको प्रतिरक्षाका लागि पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले वकालतनामा भर्नुभएको छ । यसैगरी, अन्य प्रतिवादीका तर्फबाट पनि दर्जनौँ वकिलहरूले बहस गर्ने तयारी गरेका छन् ।

जाहेरीकर्ताहरूको तर्फबाट पनि केही कानुन व्यवसायीहरूले बहस गर्नेछन् । अधिवक्ता स्वागत नेपाल, सुशील शर्मा लगायतले जाहेरी दिने पीडितहरूको तर्फबाट वकालतनामा लेखाएका छन् ।

१० दिनपछि मात्रै आदेश आउने
शरणार्थी प्रकरणको थुनछेक बहस आइतबारदेखि सुरु भए पनि १० दिनपछि मात्रै आदेश आउने भएको छ । जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आरोपीहरूलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ मात्रै आदेश गर्ने भएको हो । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै आउँदो बुधबार (जेठ ३१ गते) मध्याह्नअघि बहस टुंग्याउन आग्रह गर्नुभएको हो । सुुरुमा सरकारी वकिललाई तीन दिन बहसका लागि समय दिइएको छ । यस्तै, प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय दिइएको छ । आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलार्ई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?