निर्माणाधीन मोटरेबल पुलको ढलान नहुँदा स्थानीयहरु त्रसित

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-३ र १२ जोड्ने थोपल खोलामाथि निर्माणाधीन मोटरेबल पुलको निमार्ण कार्यले खोला थुनिने जोखिम बढे पछि स्थानीयहरु त्रसित भएका छन् । चैत महिनामै फर्मा तथा संरचना तयार गरे पनि जेठ १५ सम्म ढलान नगरेपछि स्थानीय जोखिममा पर्ने डरले त्रसित भएका हुन् ।

मोटरेबल पुलको निमार्ण कार्यले गर्दा सोही स्थानमा रहेका झोलङगे पुल समेत जीर्ण बन्दै गएको छ । निर्माणाधीन मोटरेबल पुलले गर्दा वरपरका बाँधहरु थुनिएका छन् भने विद्यालय केही बस्तीहरु समेत जोखिममा परेका छन् । वर्षाको समय सुरु भएपछि कुन बेला के घटना घट्छ त्यो भने अहिले नै भन्न सकिन्न । विशेष गरी उक्त स्थानबाट नीलकण्ठ नगरपालिका १२, १३, १४ र खनियावास, रुवीभ्यालीलगायतका गाउँपालिकाका मानिसहरु पैदलबाटै आवत जावत गर्ने गर्दछन् ।

पाँच वर्षअघि मोटरेबल पुल निर्माण सुरु गर्दा स्थानियहरु निकै हर्षित भएका थिए । तर पुलको निमार्ण कार्य ढिलो हुँदा पुल ढलान गर्न तयार पारिएका संरचनाले खोला थुनिएर खोला बस्तीमा पस्ने हो कि भन्ने डर स्थानीयहरुमा छ । यदि पुल ढलान गर्ने कार्यमा ढिलो हुने हो भने ढलान गर्न बनाएको फर्मा तथा संरचना खोलेर खोला पहिलेकै अबस्थामा बगाउनु पर्ने स्थानीयहरुको माग छ ।

पुल ढलान गर्न फर्मा बनाउँदा खोलामा ह्युमपाइप बिछ्याई पानी कटाएको छ । बर्खाको पानी ह्युमपाइपमा नअट्ने हुँदा खोला थुनिन गई बस्तीमा पस्ने सम्भावना बढी छ ।

सार्वजनिक खरिद ऐन २०६४ को दफा १२ अनुसार तेस्रो थप गरिदिएको म्याद गत २०७९ चैत महिना सकिएको छ । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक कार्यालय धादिङले चौथो पटक म्याद नथप्ने संकेत पाएका ज्योति सफल निर्माण सेवाका श्याम बुढाथोकीले जसरी पनि असारअघि काम सक्ने बताउनुभएकाे छ ।

गत हप्ता परेको पानीले ह्युमपाइपमाथि एक मिटर पानी चढेकाे थियो । चार करोड ८२ लाख रुपैयाँमा निर्माणको संयुक्त रूपमा जिम्मा लिएको ज्योति सफल निर्माण सेवाले पुल निर्माण कार्य समयमा नगर्दा स्थानीय, विद्यार्थी, दैनिक कृषि उपजका सामान बिक्री वितरण गर्ने समस्या भएको प्रादेशिक सडक कार्यालय धादिङका इन्जिनियर सागर भण्डारीले बताउनु भयो ।

पुल ढलान भए पनि फर्मा र संरचना नहटाउँदै बाढी आयो भने गणेशमार्ग उत्तरका बस्तीसहित नेकपा एमालेको पार्टी कार्यालय रहेको मदन आश्रित भवनसहित बसपार्क जोखिममा पर्ने खतरा छ । निर्माणाधीन पुलको करिब पाँच सय मिटर तल धादिङबेसी तिप्लिङ सडक पनि धेरै वर्ष पहिलेदेखि थोपल खोलामा कलर्भटबाट सञ्चालनमा छ । निर्माणाधीन पुलको फर्मासहितको संरचना बगरे धादिङबेसी तिप्लिङ सडकको कलर्भट थुनिने छ र बसपार्कसहितका बस्ती जोखिममा पर्नेछन् । तर प्रादेशिक कार्यालय धादिङका तत्कालीन प्रमुख इन्जिनियर मदन आलेले रनिङ बिल स्वीकृत नगर्ने, बनाएका काम पनि भत्काई दिने गरेकाले काम ढिलो भएको निर्माण व्यवसायी बुढाथोकीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?