अझै गर्मी बढ्ने, सतर्कता अपनाउन मौसम विभागको सुझाव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो विशेष बुलेटिन जारी गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो ।

महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू-भागमा अधिकतम तापक्रम चालीस डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।

विभागका अनुसार आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने देखिन्छ ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई भूभागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लूको सम्भावना रहेको महाशाखाले जनाएको छ । सो बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले जारी गरेकाे विशेष बुलेटिनमा उल्लेख छ।

तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तै ː थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन महाशाखाको अनुरोध छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?