पहिचानवादीहरूको आन्दोलन : कोशी प्रदेश उपसभामुख दनुवार र नगर उपप्रमुखमाथि आक्रमण प्रयास

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । कोशी नामकरणपछि असन्तुष्ट समूहले उदयपुरमा उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईमाथि आक्रमणको प्रयास गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा सहभागी भएर फर्किने क्रममा त्रियुगा नगरपालिका-१२ बुद्धचोकमा आक्रमण भएको हो । कोशी प्रदेश नामकरणको विरोधमा रहेको जातीय पहिचान पक्षधर संघर्ष समितिसम्बद्ध कार्यकर्ताहरूले उपसभामुख दनुवारमाथि आक्रमण गरेको बताइएको छ ।

कार्यक्रम सकेर फर्किने क्रममा उपसभामुख दनुवारमाथि आक्रमण भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । ढुंगामुढाका कारण उपसभामुख दनुवारको गाडीको सिसामा क्षति पुगे पनि उपसभामुख सुरक्षित रहेको उहाँका स्वकीय सचिव भुवन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आक्रमणबाट उपसभामुख दनुवार चढेको बा२झ ३७३८ नम्बरको गाडीमा क्षति पुगेको छ । सर्पदंश केन्द्रमा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पोर्टेबल भेन्टिलेटर हस्तान्तरणपछि जिल्ला अस्पताल उदयपुरको अनुगमन गर्ने कार्यक्रम थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोसमेत भुल्के पुग्नुभएको थियो ।

मन्त्री मेन्याङ्बो र सँगै रहेकी स्वास्थ्य सचिव डा. सुधा देवकोटा लगायतको टोली भने भुल्केबाट जोगीदह-हडिया हुँदै विराटनगर फर्किएका कारण आक्रमणबाट बचेका छन् । दनुवारको गाडीभन्दा अगाडि रहेको त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई चढेको गाडीमा समेत पहिचान पक्षधर समूहले ढुंगामुढा गरेका छन् । ढुंगामुढाले लागेर उपमेयर राई चढेको गाडीको सिसा फुट्नुका साथै गाडी पनि क्षतिग्रस्त भएको जनाइएको छ । आक्रमणमा पहिचान पक्षधर समूहमा संलग्न रहेका जनता समाजवादी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिति देखिएको स्थानीयले जानकारी दिएका छन् । बिहीबार नै नेकपा एमाले संसदीय दलका उपनेता एवं कोशी प्रदेशसभाका सदस्य राम रानामाथि समेत इलाममा दुव्र्यवहार भएको छ । पहिचानवादी समूहले इलाम नगरपालिका–११ सोयाकमा राना चढेको गाडीमा मोबिलको बाल्टी नै फ्ँयाकेको र दुव्र्यवहार गरेको जनाइएको छ । राना कोशी प्रदेश नामकरणको प्रस्तावका प्रस्तावक हुनुहुन्छ ।

कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ : ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी आफ्नो पार्टीमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपाने सहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताएका हुन् । कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटना भइरहेको उहाँको दाबी थियो । उहाँले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले प्रतिवादमा उत्रिने चेतावनी दिनुभयो । उहाँले एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताउनुभयो ।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री दाहालले देशभर पहिचानको विष फैल्याउने कोसिस गरे पनि सफल नबनेको बताउनुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ नै सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको आरोप लगाउनुभयो ।

एमालेद्वारा सरकारको ध्यानाकर्षण
यसैबीच, एमालेले आफ्ना पार्टीका नेता र जनप्रतिनिधिहरूमाथि आन्दोलनकारीले आक्रमण र आगजनी गरी ज्यान लिने तहसम्मको आपराधिक गतिविधिमा उत्रिएको भन्दै घटनाबारे पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । बजेटमाथि छलफल भइरहेको प्रतिनिधिसभाको जारी बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सभामुखमार्फत घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नुभयो । दोषीलाई कारबाहीको दायरामा नल्याइए एमाले प्रतिवादमा उत्रने चेतावनी दिनुभयो । उहाँले घटनाका सरकारमा रहेका दलका कार्यकर्ताहरूको संलग्नता रहेको आरोप लगाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?