पाँचौँ हिमालय ट्राभल मार्ट अर्को जुन महिनामा

Read Time = 6 mins

काठमाडौं । रिकनेक्टिङ, रिबिल्डिङ एण्ड रिइन्भिगोरेटिङ भन्ने नाराका साथ चौथो हिमालयन ट्राभल मार्ट काठमाडौंमा सम्पन्न भएको छ । पाँचौँ संस्करण आगामी वर्ष जुन ४ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । चौथो हिमालयन ट्राभल मार्ट (एचटिएम २०२३) विभिन्न २५ मुलुकका सात सयभन्दा बढी प्रतिनिधिको सहभागितासहित विश्वव्यापी कोरोनापछिको पर्यटन पुनरुत्थान र प्रवद्र्धनमा केन्द्रित रही सकारात्मक सन्देशका साथ काठमाडौंमा सम्पन्न भएको आयोजक पाटा नेपालले जनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा पाटा नेपाल च्याप्टरद्वारा आयोजित चारदिने ट्राभल मार्ट देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रूपमा स्थापित भएको छ ।

पाँचौँ संस्करण आगामी वर्ष जुन ४ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको हो ।

मार्ट उद्घाटन गर्दै प्र्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई हिमालय प्रवेशद्वारका रूपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुंगा बन्दै गएको प्रतिष्ठित हिमालयन ट्राभल मार्ट नेपाललगायत हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनको प्रमुख मञ्च बनेको बताउनुभएको थियो । उहाँले देशमा आर्थिक वृद्धि र अनेकन् रोजगारीको अवसर सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै नेपाललाई ‘इमर्सिभ एण्ड ट्रान्सफरमेटिभ’ जीवन्त अनुभव प्रदान गर्ने एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभएको थियो ।

उक्त लक्ष्य हासिल गर्न पूर्वाधार सुधार, सडक, विमानस्थल र अन्य यातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढीकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहन र देशमा दिगो पर्यटन प्रवद्र्धनलगायत थुप्रै प्राथमिकता पहिचान गरी सरकारले काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले ट्राभल मार्टले नेपालको पर्यटन सम्भाव्यता उजागर गर्दै विश्वभरका ट्राभल ट्रेड व्यवसायीसँग सम्पर्क स्थापित गर्न उत्कृष्ट अवसर प्रदान गरेको बताउनुभयो ।

राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले सरकार तथा निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाले एकजुट भएर प्रवद्र्धनमा जुट्नुपर्ने बताउनुभयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले पर्यटन प्रवद्र्धन, विस्तार र दिगो विकासका लागि पाटा नेपालको भिजन, मिसन तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँले पर्यटन नेटवर्किङ तथा व्यापार आदानप्रदानका लागि अनुपम अवसर प्रदान गर्ने, पर्यटनसम्बन्धी समसामयिक विषय तथा मुद्दामा महत्वपूर्ण अन्तरदृष्टि साझा भएको भन्दै गन्तव्य प्रवद्र्धनका लागि हिमालयन ट्राभल मार्टको एक अत्यधिक सफल र प्रभावकारी अन्तर्राष्ट्रिय कार्यक्रम बनेको बताउनुभयो । लर्ड ब्रायन विल्की-मास्टर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर, पाटा अन्तर्राष्ट्रियका उपाध्यक्ष बेन्जामिनलियाओ, बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पनि पर्यटन प्रवद्र्धनमा जोड दिएका थिए ।

आयोजकका अनुसार ट्राभल मार्टमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभावशाली वक्ताहरूले असल उड्डयन क्षेत्र, नेपालको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना, चिनियाँ यात्रुको पुनरागमन, युरोपेली पर्यटकको यात्रा प्रचलन र नेपालमा पर्यटनका अवसर, सामुदायिक पर्यटनमार्फत् दिगो पर्यटन निर्माण, क्षेत्रीय पर्यटन सम्भाव्यता प्रवद्र्धन, जलवायु परिवर्तन, दिगो पर्यटन, रेजिलियन्स, साहसिक पर्यटन र शिक्षामा नवीन अभ्यासलगायत विभिन्न विषयमा छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?