सरकारलाई पर्यटन व्यवसायीको चेतावनी : ‘भ्याट फिर्ता नलिए साँचो बुझाउँछौँ’

Read Time = 8 mins

काठमाडौं । पर्यटन व्यवसायीहरूले व्यवसायको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् । शुक्रबार आयोजित कार्यक्रममा पर्यटन सम्बद्ध १५ व्यावसायिक संगठनले सरकारले पर्यटन उद्योगमा लगाएको मूल्य अभिवृद्धि कर(भ्याट) फिर्ता नलिए व्यवसायको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका हुन् । कोरोना महामारीपछि लयमा फर्किन खोजेको पर्यटन क्षेत्रमा भ्याट लगाएर सरकारले पर्यटन क्षेत्रलाई नै धरासायी बनाउन खोजेको ती संगठनको आरोप छ ।

बिनाअध्ययन र विश्लेषण भ्याट लगाउने काम भएको भन्दै व्यवसायीले सरकारलाई भ्याट तिर्न नसक्ने बताएका छन् । आफूहरूले दिएका सुझावविपरीत कुनै छलफलबिना आगामी बजेटमार्फत् एक्कासी भ्याट लगाउने काम भएको भन्दै व्यवसायको साँचो बुझाएपछि पर्यटन क्षेत्रका उद्योग व्यवसायीले बैंकलाई तिर्नुपर्ने बाँकी रकम पनि सरकार आफैंले तिर्नुपर्ने उनीहरूले बताएका छन् । मूल्य अभिवृद्धि कर ऐन, २०५३ को अनुसूची १ दफा २३ बाट ट्रेकिङ तथा टुर प्याकेजसम्बन्धी सेवालाई हटाई पूर्णरूपमा भ्याटको दायरामा ल्याउने, हवाई टिकटमा भ्याट लगाउने, पाँचतारे र सोभन्दा माथिको तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा दुई प्रतिशत बिलासिता शुल्क लगाउने र विदेशमा पर्यटन भ्रमणमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने व्यवस्थाले नेपालको टुर प्याकेज महंगो हुनुका साथै आन्तरिक पर्यटक पनि भ्रमणमा नजाने अवस्था आउने उनीहरूले बताए ।

पर्यटन सम्बद्ध १५ व्यावसायिक संगठनले सरकारले बजेटमार्फत् पर्यटन उद्योगमा लगाएको भ्याट फिर्ता नलिए व्यवसायको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका हुन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले सुझावलाई सरकारले बारम्बार उपेक्षा गर्दै आएको आरोप लगाउनुभयो । पर्यटन व्यवसायीले सरकारलाई कुनै पनि नीति निर्माण गर्दा, कार्यविधि बनाउँदा, ऐन निर्माण गर्दा वा कुनै कार्यक्रम ल्याउँदा पर्यटन व्यवसायसँग सम्बन्धित व्यक्ति तथा संस्थासँग छलफल र समन्वय गरेर गर्दा राम्रो हुने भन्दै पटक-पटक ध्यानाकर्षण गराउँदा बेवास्ता गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यही स्थितिमा सरकारले भित्र्याउने भनेको १२ लाख पर्यटक कसरी भित्रिन सक्छ ? थपिएको १३ प्रतिशत भ्याटले हवाई भाडा महँगो हुन गई आन्तरिक तथा बाहृय पर्यटन दुवै प्रभावित हुन्छ । हवाई भाडामा लगाउने भनेको भ्याट कुनै चुरोट, सुर्ती, रक्सी र गाडी आयातमा लगाइने करजस्तो होइन ।’ हवाई टिकटमा भ्याट लगाउनुपरे पनि हवाई भाडा नबढ्ने गरी व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव थियो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘जबरजस्ती कर थोपर्ने हो भने व्यवसाय गर्ने अवस्था नरहने भएकाले साँचो सरकारलाई बुझाउनुको विकल्प हुँदैन । त्यो स्थितिमा व्यवसायीले तिर्न बाँकी बैंकको ऋण र कर पनि सरकारले नै तिरिदिनुपर्नेछ । कर्मचारीलाई तलब पनि सरकारले नै दिनुपर्नेछ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बास्तोलाले भ्याटका नाममा पर्यटन व्यवसायीलाई व्यवसाय गर्नबाट वञ्चित गर्ने र पर्यटन क्षेत्रलाई धरासायी बनाउने बाटोमा सरकार लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले जसरी बजेटमार्फत् भ्याट लगाएको छ, यो गलत छ । छिटोभन्दा छिटो यसलाई हटाएर व्यवसायीको हितमा निर्णय गर्न आवश्यक छ । नभए अघि बढ्न खोजेको पर्यटन क्षेत्र धरासायी हुनेछ ।’ नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले सरकारले विज्ञ टोलीमार्फत् अध्ययन गरेर पर्यटन क्षेत्रमा भ्याटमा बहुदर लागू गर्न सक्ने तर त्यसको जानकारी एक वर्षअघि दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रमा बहुदर भ्याट लागू गर्ने कुरा सम्पूर्ण पर्यटन व्यवसायीको माग हो । हामीले बुकिङको पैसा लिइसकेका छौँ ।

अहिले एक्कासी भ्याट लगाइयो । अब १३ प्रतिशत हामीले कहाँबाट लिएर तिर्ने ?’ नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालमा १० लाख पर्यटक ल्याउन व्यवसायी रुनुपर्ने अवस्थामा रहेको भन्दै पर्यटन क्षेत्रसँग बसेर छलफल गरी भ्याट लागू गर्दा सबैलाई सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कर, भ्याटको कुरा धेरै पहिलेदेखि नै उठाउँदै आएको हो । आरोहण क्षेत्रमा खच्चड प्रयोग गर्नुपर्छ । होटलहरू करको सिस्टममा गएका छैनन्, प्यानमा दर्ता छैनन् ।’

भ्याटविरुद्ध संयुक्तरूपमा विज्ञप्ति जारी गर्ने पर्यटन सम्बद्ध अन्य संगठनहरूमा नेपाल होटल संघ(हान), नेपाल पर्वतारोहण संघ(एनएमए), हिमालयन उद्धार संघ नेपाल(एचआरए), आरोहण अपरेटर्स एसोसिएसन नेपाल(इओए), वायु सेवा सञ्चालक संघ(एओएन), सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल(सोट्टो), गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ-नेपाल), नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए), टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबिएन), नेपाल एसोसिएसन अफ टुर अपरेटर(नाटो), ठमेल पर्यटन विकास परिषद्(टिटिडिसी) र कैलाश टुर अपरेटर्स एसोसिएसन अफ नेपाल(एओएयन) रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?