पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठद्वारा विद्यालय भवन उद्घाटन

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 7 mins

स्याङ्जा । स्याङ्जा सदरमुकाममा अवस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयका नवनिर्मित प्राविधिक भवन तथा प्रयोगशाला भवनको समुद्घाटन शुक्रबार नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गर्नुभएको छ ।

‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय विकास कार्यक्रम’ अन्तर्गत जिल्लामा ३ वटा मात्र विद्यालय छनोटमा पर्नेमा गोपालमान श्रेष्ठ शिक्षा मन्त्री हुँदा स्याङ्जाले ६ वटा विद्यालयलाई नमुना विद्यालय विकास कार्यक्रममा स्वीकृति प्राप्त गरेको थियो । यसै अन्तर्गत तत्कालीन उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठले यो विद्यालयलाई पनि उक्त नमुना विद्यालय विकास कार्यक्रममा समावेश गर्नुभएको थियो । यी भवनहरु पनि सोही नमुना विद्यालय विकास कार्यक्रमको बजेट अन्तर्गतको लागतमा सम्पन्न भएको हुन् । २०७४ सालबाट यो विद्यालयमा उक्त कार्यक्रमका लागि छनोटमा परेको थियो ।

श्रेष्ठको पहलमा प्राविधिक भवनका लागि रू ९६ लाख र प्रयोगशाला गृहको लागि १ करोड ४९ लाख लागतमा ठेक्का सम्झौता भएको थियो । यो १ नम्बर ठेक्का र ३ नम्बर ठेक्का सम्झौता भई सम्पन्न भएको हो ।

नवनिर्मित भवनको समुद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा भारतीय दुताबासबाट बसको व्यवस्था गरेपछि टाढाका विद्यार्थीहरु पनि यहाँ पढ्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्रो गर्नेलाई राम्रो भन्नुपर्छ । २०७२ सम्म यहाँ ३०० विद्यार्थीमात्र थिए । आज १४०० बढी विद्यार्थी आउने वातावरण बनाउन हेडसरको योगदान छ । मुक्ति सर आफै बिहानदेखि बेलुकीसम्म खटेर विद्यालयमा काम गरेकै कारण विद्यालय राम्रो भयो । आज नमुना विद्यालयका रुपमा यति धेरै विद्यार्थी छन् । म धेरै खुसी छु ।’

उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्राविधिक तथा व्यावाहारिक शिक्षाले मात्र सीप र स्वरोजगारको बाटो खुल्ने बताउनुभयो । उहाँले शिक्षालाई प्रविधिसँग जोडेर लैजानु पर्ने भन्दै आफ्नो कार्यकालमा शिक्षाको सुधारका लागि सार्थक कामहरु गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रधानाध्यापक रेग्मीले गोपालमान श्रेष्ठको पहलमा प्राविधिक भवनको बजेट प्राप्त भएको भन्दै श्रेष्ठप्रति विद्यालय कृतज्ञ भएको बताउनुभयो । ‘यस विद्यालयमा आज १४०० भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्ने अवस्था त्यतिकै भएको होइन, यसमा थुप्रैको सहयोग छ । तर मुख्य सहयोग गोपालमान श्रेष्ठकै हो ।’ रेग्मीले भन्नुभयो, ‘यसै क्षेत्रका सङ्घीय सांसद माननीय राजु थापाले पनि यस विद्यालयमा विभिन्न तवरले सहयोग गर्नुभएको छ । बस खरिदका क्रममा होस् वा मन्त्रालयका काममा होस् उहाँले पनि सहयोग गरिराख्नु भएको छ ।’

कार्यक्रममा बोल्दै पुतलीबजारकी निवर्तमान मेयर सीमाकुमारी क्षेत्रीले भन्नुभयो, ‘विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्थानीय तह सबैको एकतामा विद्यालय सुधार भएको हो । म नगरपालिका प्रमुख हुँदा मैले यहाँको भवन निर्माणदेखि विभिन्न पक्षमा सहयोग गरेकी थिएँ । म राजनैतिक तरिकाले विद्यालयलाई हेर्न हुँदैन भन्ने मान्यतामा भएकाले मैले कुनै विद्यालयमा हस्तक्षेप पनि गरिन ।‘

उक्त कार्यक्रममा जिल्ला समन्वयका उपप्रमुख खड्कराज सुवेदी, पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल, त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुकुमार सिग्देल, काजिमान हरिटीका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल शिक्षक सङ्घ स्याङ्जाका सहसचिव तथा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि शिव ढकाललले धन्यवाद मन्तव्य राख्दै भन्नुभयो, ‘प्रधानाध्यापकको नेतृत्वमा यहाँको शिक्षक टिमको एकता र मिहिनेतले नै परिवर्तन सम्भव भएको हो । सफलता र चुनौती दुवै छन् ।’

सोही अवसरमा उत्कृष्ट अभिभावक र कर्मचारीहरुलाई प्रमुख अतिथि श्रेष्ठले सम्मान गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्यद्वारा अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र गुरुङले गर्नुभएको थियो भने सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक प्रेम पौडेलले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?