दुर्छिम स्वास्थ्य चौकीबाटै स्वास्थ्य बीमाको उपचार

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 9 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका स्वास्थ्य बीमा गरेका सेवाग्राहीले जिल्ला अस्पताल दिक्तेल पुगेर मात्रै सेवा लिनुपर्ने बाध्यता सधैँलाघ सकिएकोे छ । मापदण्ड अनुसार स्वास्थ्य बीमा गरेका व्यक्तिहरुले स्वास्थ्य चौकी दुर्छिमबाटै प्रथम सेवा विन्दुको सम्पूर्ण सेवा सुविधा लिने व्यवस्था हलेसी तुवाचुङ नगरपालिकाले मिलाएपछि जिल्ला अस्पताल पुगिरहनु पर्ने झन्झट सकिएको हो ।

यसअघिसम्म स्वास्थ्य बीमा गरेकाहरुले ४०० सम्म गाडी भाडा तिरेर करीव दुई घण्टा लामो यात्रापछि जिल्ला अस्पताल दिक्तेल र छिमेकी जिल्ला ओखलढुंगा पुगेर सेवा लिनु परिरहेको थियो । तर, स्थानीय सरकारले नागरिकप्रति आफ्नो उत्तरदायित्य देखाउँदै आफ्नै गाउँठाउँको स्वास्थ्य चौकीबाट स्वास्थ्य बीमाको सेवा सुरु गरिदिएपछि नागरिकहरु खुशी भएका छन्, उत्साहित देखिएका छन् ।

एक परिवारको ५ जनाले तीन हजार पाँच सयमा स्वास्थ्य बीमा गरेर वर्षदिनसम्म १ लाखसम्मको उपचार सेवा लिन पाउने प्रावधान छ । तर, हलेसी भेगका जनताले त्यही बीमाको सेवा लिनलाई लामो दुरीमा ओहोरदोहोर गर्दा आर्थिक भार बढेकाले जोडबल गरेरै दुर्छिम स्वास्थ्य चौकीमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सुरु गर्न सफल भईएको मेयर बिमला राईले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा आफ्ना जनताले पाएको दुःखलाई दुर गर्न दुर्छिमबाटै स्वास्थ्य बीमाको उपचार तथा सेवा सुविधा शुभारम्भ गरिएको मेयर राईको भनाई छ ।

दुर्छिम स्वास्थ्य चौकीबाट बीमाको प्रथम सेवा विन्दु(उपचार) सुरु भयो । अब, नगरपालिकाभित्र स्वास्थ्य बीमा गरेका ८ हजार ४२५ जनाले यहिबाट उपचार र रिफरको कागजात सजिलै पाउने नगर स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार चालू आर्थिक वर्षमा नगरपालिकाले बिधुर र अभिभावक गुमाएका बालबालिका गरी १२० जनाको निशुल्क बीमा पनि गरिदिएको छ ।

स्वास्थ्य बीमाको शनिबार नगरपालिकाको प्राङगणमा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले दिप प्रज्ज्वलन र ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको थियो । मेयर राईको अध्यक्षतामा भएको बीमा तथा एम्बुलेन्स शुभारम्भ कार्यक्रममा जिसस प्रमख राई, उपमेयर रमेशकुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलासबहादुर ठकुराठी, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, स्वास्थ्य कार्यालयका प्रमुख पुन्य प्रसाद सिग्देल लगायतको उपस्थिती थियो ।

खोटाङमा अस्पतालको हकमा जिल्ला अस्पताल तथा चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा प्रथम सेवा विन्दु भएर स्वास्थ्य बीमाको उपचार सेवा चलिरहेको छ । दुर्छिम स्वास्थ्य चौकीबाट बीमाको प्रथम सेवा विन्दु सुरु भएपछि जिल्लाको चार स्थानबाट सेवा लिन सकिने भएको छ ।

जेठ २५ गतेसम्म जिल्लाभर ५४ हजार ६८२ जनाले बीमा गरीसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६ हजार ३९२, हलेसी तुवाचुङ नगरपालिकामा ८ हजार ४२५, खोटेहाङ गाउँपालिकामा ४ हजार ७९३, केपिलासगढी गाउँपालिकामा २ हजार ९७६, ऐसेलुखर्क गाउँपालिकामा ३ हजार १५८, रावाबेशी गाउँपालिकामा ३ हजार १२, साकेला गाउाँपलिकामा २ हजार ५३३, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४ हजार ५३६, जन्तेढुंगा गाउँपालिकामा ३ हजार ७०० र वराहापोखरी गाउँपालिकामा ५ हजार १५७ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

जिपिएस ट्रयाकिङ जडित एम्बुलेन्स सञ्चालन

हलेसी तुवाचुङ नगरपालिकाले सुविधा सम्पन्न जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरभित्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म तथा जिल्ला बाहिर उपचारमा जान आउन सहज बनाउने उद्देश्यले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले वर्गीकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’ वर्गको एम्बुलेन्स शनिबारबाट सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले ‘ख’ वर्गको एम्बुलेन्समा आवश्यक उपकरण र औषधि हुनुपर्ने व्यवस्था गरेको छ । त्यही अनुसार २२ वटा उपकरण जडित र जिपिएस ट्रयाकिङ सिस्टम भएको एम्बुलेन्स सञ्चालनमा ल्याईएको नगरकाा स्वास्थ्य संयोजक घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार जिपिएस ट्रयाकिङ सिस्टम भएकाले एम्बुलेन्स कहाँ छ, कहाँ रनिङ गरिरहेको छ भन्ने नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिनेछ । जसले गर्दा दुरुपयोग हुन पाउने छैन ।

एम्बुलेन्स खरीदका लागि नगरपालिकाले २० लाख १० हजारको टेण्डर आव्हान गरेको थियो । टेण्डर बाहेक जिपिएस ट्रयाकिङ सिस्टम जडान, एम्बुलेन्स पेन्टिङ र लेखनसहित कूल २३ लाख ८७ हजार ५५० रुपैयाँमा एम्बुलेन्समा बजेट खर्च भएको छ ।

गर्भवती र सुत्केरी नजिकैको स्वास्थ्य चौकीमा जानुहुन्छ सेवा लिन । त्यहाँ चाँहि सेवा हुन्न, सकिन्न भने स्वास्थ्यकर्मीको रिफरमा उहाँहरुलाई बाहिर अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको मेयर राईले बताउनुभयो । अन्यका हकमा भने भाडादर तोकिएको छ । मेयर राईका अनुसार ११ वडामा एम्बुलेन्स चल्ने सडक भए पनि त्यस सडकलाई निरन्तर चल्ने बनाउनुपर्ने बाध्यता छ । जसका कारण एम्बुलेन्स अझै सहज तरिकाले चलाउन सकिनेछ ।

यसअघिसम्म नगरपालिकाभित्रका विरामीहरुले स्वास्थ्य चौकी तथा जिल्ला वाहिर उपचारमा जाँदा महंगो भाडा तिरेर जानुपर्ने बाध्यता थियो । सुविधायुक्त एम्बुलेन्स नगरपालिकाले सञ्चालन गरेपछि नगरबासीले सामान्य भाडादरमै एम्बुलेन्स प्रयोग गर्न पाउने उपमेयर राउतले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?