समृद्धिका लागि संस्कृति !!

Read Time = 18 mins

✍️ घनश्याम कोइराला

हिन्दु सनातनका अनुयायीहरूको बहुसंख्या रहेको नेपाल राजनीतिक कारणले धर्मनिरपेक्ष छ । धर्मनिरपेक्ष हुनुका पछाडि धार्मिक उद्देश्य र अन्तर्य केही छ भन्ने लाग्दैन । यहाँ प्रचलनमा रहेका धार्मिक मतहरूको संरक्षण र विकास लागि धर्मनिरपेक्षता चाहिएको हो जस्तो लाग्दैन, तथापि धर्मनिरपेक्ष हुँदैमा धर्म सकिन्छ, नाश हुन्छ भन्नु पनि आफैप्रतिको अविश्वास हुन्छ । आफ्नो धर्मको अनुपालन रक्षा, विकास आपूmले गर्ने हो । कुनै राज्यले जोगाइदिएर धर्म जोगिँदैन । धर्मनिरपेक्षताको पक्षपोषण या विरोध गर्नु यो लेखको उद्देश्य होइन ।

भाषाविज्ञहरूले धर्मनिरपेक्षताको अर्थ धेरैथरी लगाएको भए पनि नेपाल बहुधार्मिक छ । हाम्रो नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विविधतायुक्त छ । राजनीतिक व्यवस्थाका हिसाबले हाम्रो राष्ट्र लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र हो । धर्मका विषयमा राज्य निरपेक्ष छ । हाम्रो राष्ट्र धर्मनिरपेक्ष हुनुको विशेष र सकारात्मक महत्व छ । विद्वान्हरूले गरेका परिभाषा भाषिक रूपमा सही छन् । तर धर्मनिरपेक्षता भाषिक विषय होइन, यो राजनीतिक इतिहाससँग जोडिएको विषय हो ।

अहिले हाम्रा सामु दुईवटा विषय प्रबल बनेर उपस्थित छन् । परिस्थितिको यो बलियो उपस्थितिलाई चुनौती भन्ने गरिन्छ, तर मानिसको जीवनका लागि भने यस्ता परिस्थिति अवसरका रूपमा देखिन्छन् । एकातिर, जनताको लामो संघर्षको परिणामस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रसँगै अधिकारमुखी समावेशी, धर्मनिरपेक्ष र समाजवाद उन्मुख राजनीतिक व्यवस्थालाई अझ सुदृढ बनाउँदै जानु छ । अर्कातिर, सदीऔंदेखि हाम्रो समाजमा प्रचलनमा रहेका मानवहितकारी सनातन धर्म, संस्कृति, मूल्य-मान्यता, परम्पराहरूको संरक्षण तथा सम्बद्र्धन गरी मौलिकताबाट लाभान्वित हुनुपर्ने छ ।

धर्म भनेको गुण वा स्वभाव हो । पानीको धर्म-तरलता, घ्यूको, तेलको धर्म-चिल्लोपना, आगोको धर्म-ताप आदि । त्यस्तै : हाम्रो शरीरको विभिन्न अंगका पनि आआफ्ना धर्म छन् । कानको धर्म-सुन्नु, नाकको धर्म-सुँघ्नु, जिब्रोको धर्म-स्वाद थाहा पाउनु आदि ।

यसअघि यहाँको ‘धर्म’ राज्यको दायित्वभित्र थियो । यहाँ ‘हिन्दुधर्म’ जोगाउने जिम्मा राज्यको थियो । राज्यको सञ्चालन राजा-महाराजाहरूबाट हुन्थ्यो । राजनीतिक व्यवस्थाप्रतिको नकारात्मक धारणामा धर्म पनि मिसिएको थियो । राज्यबाट कुनै एउटा मात्र धर्मको पक्ष लिइँदा यहाँ प्रचलित अन्य धर्म र धर्मावलम्बीहरूमा असन्तोष हुनु स्वाभाविक थियो । यसरी राज्यले धर्म धारण गरेको उल्टो अवस्था विद्यमान थियो । यस्तो स्थितिले सबैको जीवनमा काम लाग्ने, सबैका लागि हितकर हिन्दु सनातन संस्कृतिका उदात्त विषय साँगुरो वृत्तमा रहेर निशाना बन्नुपरेको थियो । पछिल्लो राजनीतिक परिवर्तनले ‘धर्म’ जनताको बनाइदियो । यो सुल्टो अवस्था हो । यस्तो अवस्था शास्त्रसम्मत रहेको छ :
धारणाद्धर्ममित्याहुः धर्मो धारयते प्रजाः । यस्याद्धारणसंयुक्तं स धर्म इति निश्चयः ।।
धारण गरिने भएको हुनाले धर्म भनिएको हो । धर्मलाई जनताले धारण गर्दछन् । जो सबैले एकसाथ धारण गर्न योग्य छ त्यो नै धर्म हो । (महाभारत ।)

आध्यात्मिक दृष्टिले भन्ने हो भने धर्म मानिसको अन्तिम विश्वासको स्थान हो । यस मनोवैज्ञानिक सत्यलाई बुझेका शक्तिशालीले आफ्नो शक्तिवृद्धिमा यसको उपयोग गरे । जतिबेला शक्तिले धर्मको प्रयोग गर्‍यो, त्यतिबेला धर्म विभेदी बनेको छ । राज्यसत्ता/शक्तिले यसलाई पक्षपाती बनाएको छ, विशेषतः जातिभेद त्यसैको परिणाम हो । हाम्रो हिन्दुधर्म, हिन्दु सभ्यता, सनातन संस्कृतिमा जाति र सामाजिक वर्णभेदलाई घालमेल गरेर सुरु गरिएको बाध्यकारी विभाजन ठूलो कलंक हो । यो विषय धर्मको परिभाषाभित्र किमार्थ पर्दैपर्दैन ।

जब धर्म शक्तिको माध्यम बन्यो, जब शक्तिले धर्मलाई दुरुपयोग गर्‍यो, जब धर्मको वास्तविक स्वरूपलाई गलाइयो त्यतिबेला धर्ममा विकृतिका ऐजेरू पलाए । त्यसो भएर अहिले ती ऐँजेरूले धर्मको रूप लिए । ऐजेरू विकार हो । पिपलको रूखमा ऐँजेरु पलाउनु पिपलको दोष होइन । पिपलमा छ भन्दैमा ऐँजेरु जोगाउनुपर्ने कुनै कारण छैन । वेद सनातन हो । वेद प्रकृतिको शक्ति र मानव जातिका अनुभवका विषय हुन् । वेदविहित कर्म मात्र धर्म हुन् । स्मृति व्यवस्थाको स्तम्भको रूपमा रहेको ‘मनुस्मृति’ ले श्रुति प्रमाणलाई नै प्रमाण मानेको छ । वेदविरोधी प्रावधानहरू मानिसका स्वैच्छिक धर्म हुन् ।

वेदोअखिलो धर्ममूलं स्मृतिशीले च तद्विदाम् । आचारश्चैव साधूनां आत्मसन्तुष्टिरेव च । अर्थकामेष्वसक्तानां धर्मज्ञानं विधीयते । धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः अर्थात् वेद नै सम्पूर्ण धर्महरूको मूल हो । वेद जान्नेहरूको अनुशासन र पाण्डित्य, सज्जनहरूको आचरण र आत्मसन्तोषलाई धर्मको प्रमाण मानिएको छ । जुन मानिस अर्थलिप्सा र कामलिप्सामा बाँधिएका छैनन्, उनलाई नै धर्मको ज्ञान हुन्छ । धर्मको विषयमा जान्नेहरूका लागि सबैभन्दा श्रेष्ठ प्रमाण श्रुति (वेद) हो । (मनुस्मृति)

धर्मका लक्षण के के हुन् भन्ने विषयमा मनुस्मृतिमा रहेको यो श्लोकले स्पष्ट पारेको छ : धृति क्षमा दमस्तेयं शौचमिन्द्रियनिग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणम् ।

१.धृति = धारण गर्ने, धारणा बनाउने तय जयमि । २.क्षमा = अर्काको गल्तीमा माफ गर्न सक्ने क्षमता । ३.दम = आफूलाई आफ्नो नियन्त्रणमा राख्ने । ४.अस्तेयं = चोरी नगर्ने । ५.शौचं =शूचि वा शुद्ध, सफा हुने ।.इन्द्रियनिग्रहः = आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राख्ने । .धीः = बुद्धि । ८. विद्या = ज्ञान । ९.सत्यं = सही, साँचो । १०.अक्रोध = नरिसाउने,
यी माथि उल्लेख भएका दस वटा विषय, धर्म लक्षणम्= धर्मका लक्षण हुन् ।

हातमा केही नपरीकन खुशी दिने ती माध्यमहरू धर्म, अध्यात्म, संस्कृति, इतिहास र परम्परा जस्ता अमूर्त सम्पदाहरू हुन् । यस्ता विषयलाई बिर्सेर, यिनीहरूलाई आफ्नो जीवनबाट पन्छाएर समृद्धि (खुशी) प्राप्त हुन सक्दैन । यी धर्म, अध्यात्म, संस्कृति र परम्पराको अन्धानुकरण गरेर पश्चगामी हुनु पनि हुँदैन । धर्म भनेको धारण गर्न, धारणा बनाउनु हो, न कि अन्धानुकरण गर्नु । तपाईको धारणा तपाई नै बनाउने र धारण गर्ने हो । जसरी चपाएर खानुपर्छ भन्नुको अर्थ अर्काले चपाइदिएको खानुपर्छ भन्ने होइन, त्यसैगरी धारणा बनाउनु या धारण गर्नु भनेको यथास्थितिलाई बोकेर हिँड्नु भन्ने होइन ।

तर धर्म भनेको गुण वा स्वभाव पनि हो । जस्तै : पानीको धर्म तरलता, घ्यूको, तेलको धर्म-स्निग्धता (चिल्लोपना), आगोको धर्म-ताप आदि । त्यस्तै : हाम्रो शरीरको विभिन्न अंगका पनि आआफ्ना धर्म छन् । कानको धर्म-सुन्नु, नाकको धर्म-सुँघ्नु, जिब्रोको धर्म-स्वाद थाहा पाउनु आदि । धर्मको अपरीवर्तनीय विषय भनेको वस्तुको गुण-स्वभाव हो भने यसको परिवर्तनीय विषय संस्कृति हो । एउटा वस्तुमा र अर्को समाजमा लागु हुन्छ । सामजिक जीवनका पक्षहरू अपरिवर्तनीय हुन्थ्यो भने संस्कार र संस्कृति भन्ने शब्द नै प्रचलनमा आउने थिएनन् ।

संस्कार र संस्कृति :
धेरै एउटै धर्म अँगालिरहँदा पनि धर्म व्यक्तिको स्वेच्छाकै विषय हुन्छ तर संस्कृति सामूहिक हुन्छ । धर्मलाई प्रायः स्थिर बनाइएको पाइन्छ भने संस्कृति गतिशील रहेको हुन्छ । गतिशील भएन भने संस्कृति साँचो अर्थमा ‘संस्कृति’ हुँदैन । त्यसैले हिन्दुको नाममा रहेको सनातन धर्मभित्रको सांस्कृतिक पक्षभित्र जीवनोपयोगी गतिशील पक्ष छन् । तिनलाई व्यवहारमा लागू गर्न सक्दा हरेक व्यक्ति, समाज, राष्ट्र र सिंगो संसार लाभान्वित हुन सक्दछ । ‘नयाँ नेपाल’ निर्माणसँग हाम्रो सांस्कृतिक भूमिकाको महत्वलाई जोड्न आवश्यक छ ।

संस्कृति भनेको ‘परिष्कार गरिएको’ हो । संस्कार भनेको ‘परिमार्जन गर्ने’ हो । आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् । अर्थात् आफूलाई प्रतिकूल लाग्ने व्यवहार अरूसँग नगरौं । अयं निज परोवेति गणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् । सानो चित्त भएकाहरूको लागि यो मेरो हो, यो अर्को हो भन्ने हुन्छ । उदार चरित्र भएकाहरूको लागि सारा संसार नै परिवार हो । अमन्त्रं अक्षरं नास्ति नास्तिमूलमनौषधम् । अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।। मन्त्र नहुने अक्षर हुँदैन, औषधि नहुने जरो हुँदैन । कुनै मानिस अयोग्य छैनन् । सबैलाई समेटेने दुर्लभ छन् ।

पूर्वीय संस्कृति अध्यात्मप्रेरित छ । यो चिन्तनप्रेरित छ । यो भावप्रेरित छ । त्यसैले कहिलेकहीं वास्तविकता र तथ्यभन्दा केही पर पनि देखिन्छ । यो अध्यात्मको विशेषता नै हो । यस्तै भावुकताले नै संस्कार परिष्कार गर्दछ र संस्कृति बनाउँछ ।

अहं ब्रहृमास्मि म ब्रहृम अर्थात् सर्वोच्च सञ्चित शक्ति हुँ । जीवो ब्रहृमैव नापर अर्थात् सम्पूर्ण जीव अरू होइन ब्रहृम नै हो । यी वाक्य सबैले बोल्न र अनुभूत गर्न पाउने वाक्य हुन् । श्रीमद्भगवद् गीतामा भनिएको-अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः । प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम् । अर्थात् म नै सबै प्राणीहरूको शरीरमा रहने प्राण र अपानसँग मिलेर आगो भई चारै प्रकारको अन्नलाई पचाउँछु । यी सबै विषयले ‘मैले गर्ने, मैले गर्छु, मैले गर्ने हो’ भन्ने प्रेरणा दिन्छन् । यी सबै जाति, वर्ण, धर्मातीत छन् ।

यस्ता विषय पूर्वीय संस्कृतिका प्रेरक पक्ष हुन् । पूर्वीय संस्कृति अध्यात्मप्रेरित छ । यो चिन्तनप्रेरित छ । यो भावप्रेरित छ । त्यसैले कहिलेकहीं वास्तविकता र तथ्यभन्दा केही पर पनि देखिन्छ । यो अध्यात्मको विशेषता नै हो । यस्तै भावुकताले नै संस्कार परिष्कार गर्दछ र संस्कृति बनाउँछ । ठोसबाट त केही बन्दै बन्दैन, केही बनाउन ठोसलाई गाल्न, पगाल्न पर्छ । हामीले संस्कृति निर्माण गर्न हुँदैन र ? ‘जति नै राम्रो भए पनि संस्कृति पुरानोमा टाक्सिएर रहृयो भने अन्धविश्वास बन्दछ । संस्कृति भड्कियो र बाटो बिरायो भने विकृति बन्दछ । यही संस्कृति समय सापेक्ष भयो र उचित सम्बद्र्धन गर्न सकियो भने सभ्यता बन्दछ ।’

सम्पत्तिले सुखी बनाउन सक्दछ भने समृद्धिले खुशी दिनुपर्छ । सुख भौतिक हो भने खुशी अभौतिक पनि हुन सक्दछ । सुख प्रायः साधनमा निर्भर गर्दछ भने खुशी मनमस्तिष्कले उत्पादन गर्दछ । विभेदले खुशी दिन सक्दैन । भौतिक सुख प्रदान गर्ने सम्पत्ति जसरी धेरैथरी हुन्छन्, त्यसरी नै मानसिक खुशी प्रदान गर्ने सम्पदा पनि धेरैथरी हुन्छन् । यस्ता सम्पदाभित्र इतिहास, संस्कृति, परम्परा, चिन्तन आदि पर्दछन् । सम्पत्ति प्रत्यक्ष देखिन्छ, तर सम्पदा सबै देखिने मात्र हुँदैन ।

हो, यतिबेला हामीलाई साधन, स्रोत र सम्पदा सबैबाट सम्पन्न हुनुछ, हामी सबै सुखी हुनु छ, हामी सबै खुशी हुनुछ । यसका लागि मानिसका आँखौले देख्ने ढुंगा, इँट्टा, काठ, फलाम, खानि, खनिजले गरेको विकासले मात्र समृद्धि र खुशी दिन सक्दैन । जातीय तथा धार्मिक आधारमा विभाजित मनस्थितिले वैदिक यज्ञयज्ञादि, धम्मसभा, जल्सा आदि गरेर सांस्कृतिक विरासत अग्ल्याउन सक्दैनौं । सांस्कृतिक पुनर्जागरण समृद्धिको महत्वपूर्ण आयाम हो । हामीले उत्पादन, सृजना, निर्माणसँगै सांस्कृतिक अनुशीलन र सन्तुलनलाई सँगसँगै अघि बढाउन सक्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?