दोस्रो साक चेस च्याम्पियनसिप आजबाट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा दोस्रो साक चेस च्याम्पियनसिप २०२३ आज (मंगलबार)बाट हुने भएको छ । असार ४ गतेसम्म गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पूर्ण आवासीय सुविधासहित हुने प्रतियोगितामा महिला र पुरुष गरी दुई स्वर्ण पदकका लागि दक्षिण एसियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० महिला र १० पुरुष खेलाडीहरूले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्ने बताइएको छ । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाका आधारमा भएको थियो ।

दक्षिण एसियाका प्रत्येक राष्ट्रबाट एक महिला र एक पुरुष खेलाडी, डिफेण्डिङ च्याम्पियन एक महिला र एक पुरुष तथा आयोजक नेपालबाट थप एक महिला र एक पुरुष खेलाडी गरी १०/१० खेलाडीहरूले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नेपालबाट पुरुषतर्फ वर्तमान च्याम्पियन फिडेमास्टर रूपेश जयसवाल र रनरअप सुरवीर लामा तथा महिलातर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङले प्रतिस्पर्धा गर्नुहुनेछ । यस्तै, अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भएपश्चात् साउथ एसियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा थप एक-एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएको अध्यक्ष विदुर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

पहिलो संस्करणका पुरुषतर्फका विजेता भारतीय इन्टरनेसनल मास्टर नुवइरश शाह सेख र महिलातर्फकी विजेता बंगलादेशकी वुमन इन्टरनेसनल मास्टर सुल्तान सरमिन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुहुनेछ । यस्तै, ग्राण्डमास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अनुमानित ४० लाखको बजेट रहेको च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूमध्ये प्रथमले नगद एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रोले नगद ५० हजार प्राप्त गर्नेछन् भने महिलातर्फका विजयी खेलाडीले नगद एक लाख, दोस्रोले ६० हजार र तेस्रोले नगद ४० हजार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?