लेख कि मर !

Read Time = 21 mins

स्वास्थ्य र शिक्षा जनताको भाग्य तथा भविष्य निर्धारण गर्ने विकासका अकाट्य पूर्वाधार हुन् । शिक्षा र स्वास्थ्यको गुणात्मक विस्तारविना देशको भौतिक, सामाजिक र अध्यात्मिक प्रगति सम्भव छैन । विकसित देशहरूको इतिहासलाई पल्टाउने हो भने स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तरीय विकासबाट उनीहरूले आधुनिक विकासको प्रारम्भ गरे । स्वास्थ्यको हेरचाहको सुरुआत रुग्ण अवस्थाबाट हुने भएकाले दोजिया आमाहरू नै देशको स्वास्थ क्षेत्रको केन्द्रबिन्दुमा पर्छन् । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको प्रारम्भ २००७ को राजनीतिक परिवर्तनपछि भयो ।

राजनीतिक चेतनाले नै विकासको आवश्यकता र महत्वलाई जनताले आत्मसात गर्न थाले । शिक्षा र स्वास्थ्यको दूरगामी प्रभावलाई बुझ्ने क्षमताको विस्तारले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जबरजस्त जनदबाब सिर्जना हुन थाल्यो । अझै पनि हामी स्वास्थ्य र शिक्षण संस्थाहरूको संख्यात्मक वृद्धिको चरणमा छौं । गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा आमनागरिकको समान पहुँचका लागि भौतिक साथै जनशक्ति उत्पादनको प्रारम्भिक चरणमा छौं तसर्थ हामीले अझै यी क्षेत्रमा धेरै काम गर्न बाँकी छ ।

शिक्षा र स्वास्थ्य दुवै क्षेत्र एकआपसमा अत्यन्तै अन्तरसम्बन्धित छन् । शिक्षाको विकास नगरिकन स्वास्थ्य क्षेत्रको विकास असम्भव हुन्छ भने स्वास्थ्यको विकासविना शिक्षा क्षेत्रको विकासको कल्पना गर्न सकिँदैन । सर्वप्रथम जनशक्ति स्वस्थ्य नभइकन उसले न त शिक्षा लिन सक्छ न त कार्यक्षमता अभिवृद्धि गर्छ । फेरि शिक्षाविना स्वास्थ्य क्षेत्रमा योगदान गर्ने सम्भावना हँुदैन । विकासको प्रारम्भिक चरणमा राज्यले दुवै क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ ।

अहिले शिक्षा र स्वास्थ्य सुविधाको विस्तारको चरणबाट हामी गुणस्तरीयको चरणमा प्रवेश गरेका छौं । शिक्षा र स्वास्थ्यको पहुँचले मात्रै समाज लाभान्वित हुँदैन । समाज लाभान्वित हुन ती क्षेत्रबाट वितरित सेवा गुणस्तरीय हुनैपर्छ ।

स्वास्थ्य क्षेत्रमात्रै होइन सबै क्षेत्रहरूको जनशक्ति आपूर्ति गर्ने जिम्मेवारी शिक्षा क्षेत्रको हो । जनशक्तिलाई स्वस्थ राख्ने जिम्मेवारी फेरि स्वास्थ्य क्षेत्रको भएकाले यी दुवैको अन्तरनिर्भरता विशिष्ट प्रकारको छ । त्यसैले विकासलाई भरपर्दो र गुणस्तरीय बनाउने मुख्य पूर्वाधार भनेको नै गुणस्तरीय स्वास्थ्य र शिक्षा हुन् । यी दुई क्षेत्रहरूको विस्तारविना विकास र समृद्धिको कल्पना गरिँदैन । तसर्थ यी दुई क्षेत्र मुख्य प्राथमिकतामा पर्छन् ।

अहिले शिक्षा र स्वास्थ्य सुविधाको विस्तारको चरणबाट हामी गुणस्तरीयको चरणमा प्रवेश गरेका छौं । शिक्षा र स्वास्थ्यको पहुँचले मात्रै समाज लाभान्वित हुँदैन । समाज लाभान्वित हुन ती क्षेत्रबाट वितरित सेवा गुणस्तरीय हुनैपर्छ । तसर्थ नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रको विस्तारका अतिरिक्त अब मुख्य ध्यान गुणस्तरीयमा दिनुपर्छ । गुणस्तरीयको तुलना हिजोसँग होइन विश्वमा विकसित प्रविधि अनुसारको गुणस्तरीयता भन्ने अर्थमा बुझ्नुपर्छ । विकासलाई हिजोसँग तुलना गरेर चित्त बुझाउने होइन छिमेकसँग तुलना गर्नुपर्छ । त्यस कोणबाट हामीले थुप्रै मिहिनेत गर्नुपर्छ ।

विकास अर्थात् समृद्धिका लागि स्वास्थ्य र शिक्षाको विशेष भूमिका हुँदाहुँदै पनि शिक्षा हाम्रो सन्दर्भमा अझ महत्वपूर्ण हुनसक्छ । किनकि स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउने भूमिका शिक्षाको हुन्छ । शिक्षाले देशलाई आवश्यक पर्ने विभिन्न क्षेत्रका जनशक्ति उत्पादन गर्छ । ती जनशक्तिले देशका प्राकृतिक र मानव सम्पदालाई वैज्ञानिक परिचालन गर्दा खुम्चिएको रोजगारी र उत्पादन एकैसाथ वृद्धि हुन्छ । देशका विविध समस्याको समाधानको आधार योग्य र दक्ष जनशक्तिको उत्पादन हो ।

हाम्रा विद्यालय र विश्वविद्यालयअन्तर्गतका स्कुल र कलेजहरूको पठनपाठनको गुणस्तरीयताले नै हाम्रो शिक्षाको र समाजको गुणस्तरीय प्रदर्शन गर्छ । सभ्य र नैतिकवान समाज निर्माणमा गुणस्तरीय शिक्षाको मुख्य भूमिका हुन्छ । विद्यालय, विश्वविद्यालयअन्तर्गत शिक्षण, प्राध्यापन क्षेत्रमा कार्यरत शिक्षक–प्राध्यापकहरूको राजनीतिक संलग्नता र निकटताको दुष्प्रभावबाट शिक्षा क्षेत्र संक्रमितमात्रै छैन प्रदूषित छ । शिक्षण र प्राध्यापन क्षेत्रमा मिहिनेत गर्दा भविष्य उज्यालो हुन्छ भन्ने मान्यतालाई नै राजनीतिले कुल्चेको छ । किनकि राजनीतिक निकटता र सम्पर्कको आधारमा हुने जिम्मेवारी वितरण र पदोन्नतिको व्यवस्थाका कारण शिक्षण र प्राध्यापनमा विशिष्टता हासिल गर्ने अध्ययनको विषय अहिले प्राथमिकतामै छैन ।

त्यसैले हाम्रो शिक्षाको गुणस्तर खस्केको हो । दुर्भाग्य नै भन्नुपर्छ सबै पार्टीहरूले स्कुले कलिला बालबालिकादेखि कलेजका विद्यार्थीहरूलाई कार्यकर्ता बनाउन प्रतिस्पर्धा गर्छन् । परिणामस्वरूप विद्यार्थीहरूमा शैक्षिक उन्ययनभन्दा राजनीतिले भविष्य उज्यालो हुन्छ भन्ने गलत संस्कार र संस्कृतिको परिणाम हो खस्कँदो गुणस्तर ।

छात्र संगठनहरूमा जो सक्रिय रहे तिनीहरू राज्यको नीति निर्माणतहमा राजनीतिका माध्यमले सजिलै पुगे । लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गर्दा पनि विद्यार्थीकालमा संगठनमा भएको सक्रियताको आधारमा पदोन्नतिदेखि आकर्षक ठाउँमा पदस्थापन र सरुवासमेत हुँदै आएको अवस्थाले कलेजमा विद्यार्थी मिहिनेत गरेर शैक्षिक उन्नति गर्नुपर्ने मुख्य दायित्वलाई बिर्सेर उनीहरूको ध्यान राजनीतिमा केन्द्रीकृत हुँदा गुणस्तरीयता खस्केको हो ।

फेरि पठनपाठनको शैली र पद्धतिले शिक्षाको गुणस्तरलाई प्रभावित गर्छ । उदाहरणका लागि नोट लेखाउने शैलीले प्राध्यापक र विद्यार्थी दुवैको सिर्जनात्मकता र विषयवस्तुको गहिराइमा पुग्न अवरोध गर्छ । कल्पनाशक्ति र सिकाइको घेरालाई साँघुरो बनाउँछ । तसर्थ नोट लेखाउने प्रचलनले विद्यार्थी र प्राध्यापकसमेतको सिक्ने, जान्ने, खोज्ने, चिन्तन गर्ने मनोविज्ञानमा नकारात्मक प्रभाव पारेको छ । विद्यार्थीको सिर्जनशीलता र अन्वेषणत्मक क्षमतालाई नोट लेखाइले अभिवृद्धि गर्दैन उल्टै संकुचित बनाउँछ ।

विद्यार्थीको कर्तव्य र दायित्व पठनपाठनमा मिहिनेत गर्नु हो भन्ने विषयवस्तुबाट विषयान्तर हुने परिस्थिति सिर्जना गर्ने हाम्रो राजनीति नै गुणस्तर खस्काउन जिम्मेवार छ । शिक्षाको गुणस्तर खस्कनु भनेको देशको सामाजिक आर्थिक, सांस्कृतिक आदि अवस्था खस्कनु हो । अहिलेको अभाव, गरिबी, भ्रष्टाचार र कुशासन जस्ता विकृतिका कारण शिक्षाको गुणस्तरहीनता हो । विकासको, सुशासनको र समृद्धिको कुरा शिक्षाको गुणस्तरीयसँग सम्बन्धित छ । शिक्षालाई यथास्थितिमा राखेर विकास र समृद्धि हुन्छ भन्नु जनतालाई धोका दिनु हो ।
विद्यार्थी, शिक्षक तथा प्राध्यापकहरूलाई पार्टीले आफ्नो कार्यकर्ता बनाउने आपराधिक काम गर्छन् । शिक्षक-प्राध्यापकको राजनीति भनेको नै पेशाप्रतिको इमानदारी र समर्पण हो । शैक्षिक उन्नयनमा हुने लगनशील नै शिक्षक र प्राध्यापकको राजनीति हुनुपर्छ न कि अमुक पार्टी वा नेतासँगको निकटता । शैक्षिक गुणस्तरीयका लागि पेशागत विशिष्टताबाहेकका क्रियाकलाप प्रतिबन्धित गर्नुपर्छ र समाजले पनि पेशागत क्रियाकलाप बाहिरका गतिविधिलाई उपेक्षा र घृणाको भावले हेर्नुपर्छ । पार्टी पिच्छेका संगठनहरूले शिक्षक र विद्यार्थीलाई दिग्भ्रमित गरेका छन् ।

पेशागत विशिष्टतालाई सम्मानको दृष्टिले हेर्दा निःसन्देह सम्बन्धित व्यक्तिमा लगनशीलता र सिर्जनशीलताको अभिवृद्धि हुन्छ । यसका लागि पेशागत मूल्य र मान्यताप्रतिको समर्पण साथै दण्ड र पुरस्कारको व्यवस्थाले पक्कै पनि सकारात्मक प्रभाव पार्छ । उच्च शिक्षाले देश विकासमा महत्वपूर्ण योगदान गर्ने सक्षम र निर्णायक जनशक्ति आपूर्ति गर्छ । गुणस्तरीय शिक्षाले हाम्रा स्रोतसाधनलाई उच्चतम परिचालन गर्ने विधि र प्रविधिको स्वतः विकास गर्ने हुँदा उच्च शिक्षाको गुणस्तरीयको सर्वाधिक महत्व हुन्छ ।

त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासनिक अनुसन्धान केन्द्र सेडामा ४२ वर्ष पहिल्यै यो स्तम्भकार सरिक भएको सेमिनारमा अमेरिकी विश्वविद्यालयका प्राध्यापकले व्यक्त गरेको विचारलाई प्रस्तुत गनु सान्दर्भिक लाग्यो । उनले भनेका थिए अमेरिकी विश्वविद्यालयहरूका प्राध्यापकबीच एउटा भनाइ अत्यन्तै प्रचलित छ । त्यो हो ‘आइदर राइट अर डाइ’ अर्थात् लेख कि मर । शिक्षण वा प्राध्यापन पेशामा हुनेहरूले यदि लेख्दैनन् भने उनीहरू पढ्नमा जिज्ञासु हुँदैनन् । जसले पढ्नमा आफूलाई जिज्ञासु बनाउँदैन उसले ज्ञान अभिवृद्धि गर्न सक्दैन ।

लेख्नु भनेको ज्ञान थप्नु हो । विचार सार्वजनिक गर्नु हो । ज्ञान अभिवृद्धि जसले गर्दैन त्यसले विद्यार्थीलाई पर्याप्त ज्ञान दिन सक्दैन । जसले लेख्छ उसले अवश्य पढ्छ । जसले पढ्दैन उसले लेख्न सक्दैन । जसले पढ्छन् फेरि सबैले लेख्न सक्छन् भन्ने पनि छैन । एउटा निश्चित के छ भने लेख्नेले पढ्छ नै । जसले पढ्छ उसले आफ्ना ज्ञानका घेरा बढाउँछ । जोसँग ज्ञान छ उसले विद्यार्थीलाई पर्याप्त ज्ञान दिने क्षमता राख्छ । लेखनको लत भएको प्राध्यापक गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम हुन्छ । त्यो सक्षमताको स्रोत भनेको सम्बन्धित व्यक्तिको लेखन क्षमता हो ।

लेखन क्षमताको अभिवृद्धले उसको ज्ञानको घेरा बढ्छ । वृद्धि भएको ज्ञानले प्राध्यापन गुणस्तरीय हुन्छ । परिणामस्वरूप त्यस्ता प्राध्यापकहरूले विद्यार्थीलाई अध्ययनशील हुन प्रेरित गर्दछन् । त्यसैले सबै विश्वविद्यालयले आफ्ना मातहतका प्राध्यापकहरूलाई वर्षमा न्यूनतम् संख्यामा आफ्नो विषयसँग सम्बन्धित खोज तथा अनुसन्धानमूलक आर्टिकल लेख्न अनिवार्य गर्ने नीति विश्वविद्यालयले बनाए भने शिक्षाको गुणस्तरमा निःसन्देह अभिवृद्धि हुन्छ । जसले निर्धारित संख्यामा आर्टिकल लेख्दैन उसको वार्षिक ग्रेड वृद्धिलाई र पदोन्नतिलाई रोक्ने नीति विश्वविद्यालयहरूले अवलम्बन गरे भने हाम्रो शिक्षाको गुणस्तर निश्चितरूपमा अभिवृद्धि गर्छ । शिक्षाको गुणस्तरको अभिवृद्धिले हाम्रो अभाव, गरिबी, पछौटेपन, कुशासन, भ्रष्टाचार आदिको राम्रो उपचार स्वतः खोज्छ ।

अनुसन्धान फगत अनुसन्धानका लागि कि देशका समस्याको समाधानका लागि ? ज्ञान र विज्ञानका कुरा गर्दा मानव जातिको चुनौतीको रूपमा आएको कोभिड-१९ को प्रतिरोधात्मक खोप अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानबाट आयो । यो अक्सफोर्ड विश्वविद्यालयको विद्या र अनुसन्धानको परम्परा हो ।

गुणस्तरीय शिक्षाका माध्यमले उत्पादन हुने विशिष्ट जनशक्ति वास्तवमा देशका सबै समस्याको साधनका सूत्रहरू हुन् । शासनमा अराजकता र राजनीतिमा नैतिकताको खडेरीको एकमात्र उपचार गुणस्तरीय शिक्षा बन्न सक्छ । शिक्षक र प्राध्यापकको काम समाजमा ज्ञान सम्प्रेषण गर्नु हो । शिक्षक, प्राध्यापक जसले लेख्छ उसले पढ्ने अभिरुचि राख्छ । सबै लेखकहरूले अवश्य पढ्छन् तर सबै पढ्नेले लेख्छन् नै भन्ने हुँदैन । त्यसैले शिक्षक र प्राध्यापकहरूलाई अध्ययनशील बनाउन विषयगत लेखनलाई अनिवार्य गर्ने नीति बन्न जरुरी छ । जसले लेख्ने गर्छ उसले अत्यन्तै गम्भीरतापूर्वक पढ्छ । एउटा लेखकले जति पढ्छ बुझेर पढ्छ । किनकि ती विषयवस्तुलाई उसले लेखको माध्यमले अभिव्यक्त गर्नुपर्ने भएकाले विषयवस्तुको गहिराइसम्म पुग्छ ।

अमेरिकाको विकासमा विश्वविद्यालयहरूका र विद्यावारिधिका अनुसन्धानको महत्वपूर्ण भूमिका छ । हाम्रा विश्वविद्यालयका र विद्यावारिधि गर्नेहरूका अनुसन्धानका विषय समाजलाई कति उपयोगी भए ? के हाम्रा अनुसन्धान मौलिक थिए ? के विश्वविद्यालय सेवा आयोगहरूको विज्ञापनपछि आयात हुने विद्यावारिधिका अनुसन्धानका ठेलीहरूले हाम्रा विद्वानको योग्यतालाई नांगेझार पार्दैन ? विद्यावारिधि अनुसन्धान खालि व्यक्तिलाई जागिरमा पदोन्नति गर्न हो कि नयाँ कुराको आविष्कार हो ? अहिलेसम्मका अनुसन्धानका निष्कर्षहरूले सम्बन्धित विषयका अतिरिक्त देशका समस्या किन समाधान गरेनन् ?

अनुसन्धान फगत अनुसन्धानका लागि कि देशका समस्याको समाधानका लागि ? ज्ञान र विज्ञानका कुरा गर्दा मानव जातिको चुनौतीको रूपमा आएको कोभिड-१९को प्रतिरोधात्मक खोप अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानबाट आयो । यो अक्सफोर्ड विश्वविद्यालयको विद्या र अनुसन्धानको परम्परा हो । यो सर्वमान्य परम्परालाई हाम्रा विश्वविद्यालयले व्यवहारमा किन आत्मसात गर्न सकेनन् ? नेपालको पहिलो त्रिभुवन विश्वविद्यालय यो ज्ञान विज्ञानको थलो नभएर राजनीति र व्यापार गर्ने थलो भएको छ । मास्टर्स र पिएचडीका थेसिसहरू पढेर लिनेभन्दा चोरेर बेच्ने खुला पसलजस्तो भएको चर्चा प्राध्यापकहरूबीच बाक्लै हुनु दुर्भाग्यपूर्ण भनिन्छ ।

यस्तो विश्वविद्यालयमा गुणस्तर कसरी बढ्छ ? अक्सफोर्ड प्रेस संसारकै ख्यातिप्राप्त प्रेस हो । उसले आफ्ना अनुसन्धानका प्रतिवेदन संसारभर सार्वजनिक गर्छ तर हाम्रो त्रिविको प्रेस मृत प्रायः छ । यसको कारण हो हाम्रा प्राध्यापक लेख्दैनन् । हाम्रा विभागका अनुसन्धानका प्रतिवेदन सार्वजनिक गर्ने काम हाम्रो त्रिवि प्रेसले गर्दैन । जहाँका प्राध्यापक विषयगत अनुसन्धान र लेखन गर्दैनन् त्यहाँका विद्यार्थी प्राज्ञिक उन्ययनमा लागि पर्दैनन् । अब कसरी बढ्छ हाम्रो शिक्षाको गुणस्तर ? त्यसैले होला अमेरिकी विश्वविद्यालयमा लेख र मर भन्ने भावना ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Pramod Adhikary
Pramod Adhikary
2023-06-13 8:48 pm

बिद्वान लेखकको यो लेख अशाद्धै राम्रो लाग्यो, र लाग्छ यस लेखले धेरैलाई यो सम्बन्धमा धोत्लिन बाध्य बनाउँछ । यसमा केहि कुरा त यती घत लाग्दो छन कि, जस्तै केहि:
– अनुसन्धान फगत अनुसन्धानका लागि कि देशका समस्याको समाधानका लागि ?
– त्रिविको प्रेस मृत प्रायः छ । यसको कारण हो हाम्रा प्राध्यापक लेख्दैनन् ।
– शासनमा अराजकता र राजनीतिमा नैतिकताको खडेरीको एकमात्र उपचार गुणस्तरीय शिक्षा बन्न सक्छ ।
हुन त बिद्वान लेखकको  यो लेख “प्राज्ञिक लेखन” सँग सम्बन्धित छ, ब्रोडमा गएर थप्न त नपाईने हो र पनि ठुलो फाँटमै खुसेर केहि खोस्रीन मन लागेक कुराहरु:
– राज्य का सम्पुर्ण पार्टी, सरकार र सम्बन्धित बिश्वबिध्यालय परीवार मिलेर “बिद्यार्थी युनियन”को परिभाषा र कार्यसैलि बदल्नु पर्छ्,
– प्राध्यापकहरुले मैले तेत्रो लेख्दा त मलाई ४० कटाउन गाहरो भयो, यस्को त पुगेकै छैन भन्दै नम्बर दिने कन्जुस्याँई गर्नु भएन ।
– सेमेष्टर प्रणाली मा जतिसक्दो चाँडो जानु पर्‍यो ।
– टीयु जस्तो अजङ्गको बिश्वबिध्यालय राख्नु भएन्, यसलाई कमसेकम २० वटा बिश्वबिध्यालयहरु बनाउनु पर्‍यो,
धेरै लामो नगरौं होला, हाल लाई यत्ती । अन्त्यमा लेख सार्‍है मुल्यबान छ, बिद्वान लेखकले अरु बढी पस्किंदै जानुहुनेछ- आशा र भरोसा छ, धन्यबाद।
प्रमोद अधिकारी
(हाल: टेक्सस, यु.यस)

रिलेटेड न्युज

छुटाउनुभयो कि ?