सिक्का नचल्ने नाउँमा मौलाउँदै ठगी धन्दा

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 7 mins

बारा । बारामा लामो समयदेखि नेपाली सिक्का लेनदेन बन्द रहेको छ । यसरी नेपाली सिक्का लेनदेन बन्द हुँदा कुनै न कुनै निहुँमा उपभोक्ता दिनहुँ ठगिने गरेका छन् । सरकारले ठोस नीति बनाउन नसक्दा उपभोक्ता दिनहुँ ठगिने गरेका हुन् । सरकारीदेखि गैरसरकारी कार्यालयहरू सबैले उपभोक्तालाई ठग्ने गरेको छ । यहाँसम्म कि यस्तो ठगीबाट न्याय सम्पादन गर्ने निकायसमेत अछुतो रहन सकेको छैन । दिनहुँजसो उपभोक्ताहरू बजारमा, औषधि, किराना सामान किन्न जाँदा होस् वा कार्यालयमा कर तिर्दा होस् उनीहरू ठगिने गरेको कलैया घण्टाघर नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएका विष्णु पौडेलले बताउनुभयो । ‘एक रुपैयाँ र दुई रुपैयाँको सिक्का प्रचलनमा नआउँदा हामी दोहरो मार खेप्न बाध्य भएका छौँ । समानहरू बिक्री वितरण गर्दा २२ रुपैयाँको समान २५ रुपैयाँ वा २० रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो, ‘ग्राहकहरू आउँदा समानको मूल्य कति हो भनेर सोध्दा २२ रुपैयाँको समान २५ रुपैयाँ रहेको भन्न बाध्य भएका छौँ । मूल्य प्रिन्ट हेर्दा ग्राहकहरू किचकिच गर्छन् २२ रुपैयाँको समान २५ मा किन दिएको भनी बहस पनि गर्छन् । बढी पैसा दिएमा चकलेट वा अन्य दुई/तीन रुपैयाँको समान दिन्छौँ तर हरेक ठाउँमा त्यस्तो छैन ।’

सिक्का नचल्ने नाउँमा दुई तीन रुपैयाँ कम मूल्य भएको समान पनि उपभोक्ताहरूले महँगोमा किन्नुपर्ने बाध्यता रहँदै आएको कलैया उपमहानगरपालिका-६ का श्यामप्रसाद साहले बताउनुभयो । कुनै पनि सरकारी वा गैरसरकारी कार्यालयमा जाँदासमेत एक/दुई रुपैयाँ नत फिर्ता दिन्छन् नत कम लिन्छन् । यसरी दिनहुँ एक/दुई रुपैयाँको नाउमा लाखौँ रुपैयाँ ठगी र भ्रष्टाचार हुँदै आएको उहाँले बताउनुभयो । अहिले एक रुपैयाँमा पाउने सुपारीसमेत बन्द भयो । पाँच रुपैयाँ भन्दा कममा सुपारीसमेत पाउन नसिकने उहाँले बताउनुभयो । एक रुपैयाँमा पाउने चकलेट एउटा सिक्का लिएर गयोे भयो पाउँदैन । पाँच रुपैयाँभन्दा कमको चकलेट नै दिँदैनन् उहाँले हिमालय टाइम्सलाई बताउनुभयो ।

एक दुई रुपैयाँको सिक्का लिँदा नत उपभोक्ताले लिन्छन् नत बैंकले आखिरमा हामीले फेरि त्यो सिक्का कहाँ दिने त्यसैले नत सिक्का लिन्छौँ नत दिन्छौँ नै भरतचौकमा पान पसल सञ्चालन गर्दै आउनुभएका राजु पान भण्डारका सञ्चालक राजप्रसाद साहले जानकारी दिनुभयो । नेपालमा सिक्काको चलन चल्ती नरोकिएको र अहिले पनि नेपाल राष्ट्र बैंकसँग सिक्काहरू रहेको कसैलाई आवश्यकता छ भने लिन सकिने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बताउनुभयो । नेपालमा सिक्का प्रचलनमा नरहेको भनी भ्रम मात्र हो । अहिले पनि सिक्का लिने दिने काम हुने गरेको र बजारमा समेत सिक्काहरू प्रचलनमा रहेको उहाँले जानकारी दिनुभयो ।

बारा जिल्ला अदालतमासमेत सिक्का प्रचलन बन्द भएको अधिवक्ता एकरामुल हकले बताउनुभयो । रसिद काटदा सात/आठ/नौ रुपैयाँ नै काटिने तर लिने बेलामा १० भन्दा कम लिँदैनन् । यसरी अदालतले समेत सेवाग्राहीहरूलाई खुद्रा पैसा लिने दिने नगरेको उहाँले जानकारी दिनुभयो । अदालती शुल्कमा यदि ८६, ८७ आयो भने ९० रुपैयाँ लिने तर रसिद काट्दा जति आएको हुन्छ त्यतिकै काट्ने गरेको उहाँले जानकारी दिनुभयो । सिक्का नचल्ने र चलन चल्तीमा नभएको कारण बाध्य भएर यसरी पैसा लिनु परेको बताए पनि जानी जानी गरिने यो एक प्रकारको ठूलो अपराध भएको उहाँले आरोप लगाउनुभयो ।

स्थानीय बजारमा बिक्री वितरण हुने समानहरूको क्वालिटी चेकजाँच र बजार अनुगमन स्थानीय निकाय तथा प्रशासनको प्रमुख जिम्मेवारी हो । उनीहरू आफ्नो कर्तव्य र दायित्वबाट चुकेकै कारण अहिले उपभोक्ताहरू मारमा परेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताउनुभयो । देशको हरेक ठाउँमा सिक्का सञ्चालनमा रहे पनि बारा जिल्लामा सिक्का नचल्ने नाउँमा ठगी धन्दा बढेको उहाँले बताउनुभयो ।

हामीसँग वेट गर्ने मेशिनको अभाव छ, राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय कलैयाका प्रमुख प्रवेश सिन्धुलियाले भन्नुभयो, ‘स्टाफको अभाव हुन्छ र भिडभाड बढी भएको बेलामा बढी सिक्का लिएर आयो भने गन्न समय लाग्ने भएको कारण सिक्काको लेनदेनमा कमी आएको हो । सिक्का बन्द भएको होइन थोरै थोरै लिएर आउने हो भने लिनेदिने काम भइरहेको उहाँले जानकारी दिनुभयो । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बैंकले सिक्का लेनदेनमा कमी ल्याएको कारण सिक्का प्रचलन हराउँदै गएको जानकारी दिनुभयो । सिक्का नचल्ने नाउँमा ठगी गर्ने जोकोहीलाई पनि कानुनबमोजिम सजाय गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?