बैठकपछि संसद बाहिर नेताहरुको प्रतिक्रिया….

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारबिरुद्धको प्रतिक्रिया भएको बताउनुभएको छ ।

बिहीवार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले मेयर शाहले ग्रेटर नेपालको नक्शा राख्नु भारतको हेपाहा व्यवहारबिरुद्धको प्रतिक्रिया भएको बताउनुभएको हो । उहाँले भारतले नेपालको भूमी समावेश गराएर नक्शा राख्नु आपत्तिजनक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बालेनजीले नक्सा राख्नुलाई म के भनेर बुझ्छु भने भारतले गरेको हेपाहा ब्यवहारबिरुद्धको प्रतिक्रिया हो । तर उनीहरुको भन्दा हाम्रो नक्शा अलि संयमित छ । बालेनले राखेको नक्शामा सुगौली सन्धी अगाडीको नेपाल भनेर फरक रङमा छ । अहिलेको नेपाल भन्ने फरक रङमा छ । सुगौली सन्धी अगाडीको नेपाल र अहिलेको नेपाल छुट्टीन्छ । खाली पहिलेको नेपाल कत्रो रहेछ भनेर ऐतिहासिक नक्सा हो । भारतको नक्शामा छुट्टीदैन । हेर्ने मान्छे झुक्किन्छ । अहिलेकै भारत यत्रो हो कि भनेर । त्यो त झन आपत्तिजनक कुरा भयो ।’

नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले मेयर शाहले ग्रेटर नेपालको नक्शा राख्नुको कुनै तुक नभएको टिप्पणी गर्नुभयो । उहाँले सबै जना एक भएर राष्ट्रको बारेमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले नेपाल धर्म निरपेक्ष हुनु देश हीतको पक्षमा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘शताब्दिऔँदेखि पश्चिमाहरु नेपालका विभिन्न भूभागमा बसेर हाम्रो सनातन संस्कार, संस्कृति र धर्म विरुद्धमा उनीहरु क्रियाशील थिए । शताब्दिऔँ अघिदेखिको उनीहरुको हरेक प्रकारको योजनालाई उनीहरुले अगाडी बढाउँदै आज नेपालको मुल संविधानमा पनि धर्म निरपेक्षता शब्दको व्यवस्था गर्न सफल भएका छन् । अर्थात् यो गलत छ । यो देशको समग्र हितको पक्षमा छैन । धर्म निरपेक्षता संविधानमा लेख्दैमा आम जनताले के पाए ? हिन्दु राष्ट्र हुँदा आफ्नो पहिचान हुन्छ । पहिचान सबभन्दा ठूलो कुरा हो । बालेनजीले त्यो गर्नु आफैँमा एउटा उहाँको वैयक्तिक सोँच हो । त्यसले सिंगो राष्ट्रियतालाई टेवा पु¥याइरहेको छैन । त्यसले एउटा संकेत के गरिरहेको छ जनप्रतिनिधिहरुलाई भने, जनप्रतिनिधिहरु राष्ट्रका लागि गम्भिर बन है भनेर संकेत गरेको हुनसक्छ । उहाँले ग्रेटर नेपालको नक्शा राख्नु र उहाँको चर्चा, परिचर्चा हुनु त्यसको खासै तुक छैन । जबसम्म हामी एक भएर राष्ट्रको बारेमा भुमिका खेल्दैनौँ ।’

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएका बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका पार्टीहरुले सत्तामा जान र सत्तामा गएर सम्पती कमाउन मात्रै एकता गर्ने गरेका बताउनु भयो । उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा समाजवादी केन्द्र बन्न लागेको कुरातर्फ इंकित गर्दै को जुट्छ र को फुट्छ भन्ने जनताको चासोको विषय नभएको प्रतिक्रिया दिनुभयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेट कटौती गर्ने भए गोरखा, डडेल्धुरा र नुवाकोटमा गएको बजेट कटाउनुपर्ने बताउनु भयो । उहाँले तिन जना मान्छेले मात्रै कुल बजेटको ५१ प्रतिशत बजेट लगेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?