सांसदहरुले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गर्नु भएको छ ।

देश र जनताको हितका लागि सांसदहरुले सुझाव दिने भएकाले सोही अनुसार बजेट परिमार्जन गर्न सरकार र सत्तारुढ दलहरु तयार हुनुपर्ने उहाँको तर्क थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले संसदमा बजेटबारे हुने छलफलको औचित्य पुष्टि गर्न पनि त्यहाँ सांसदहरुले दिएको सुझाव अनुसार बजेट परिमार्जन गर्नैपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आजको कान्तिपुर दैनिकमा मुख्य समाचार शिर्षकमा समाचार प्रकाशित भयो-बजेटमा कमा र फुलिष्टप पनि संशोधन हुँदैन । फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसद भित्र बहस । यस्तो संसदलाई चारैतिरबाट आलोचना भईरहेको छ । हामी सचेत हुन जरुरी छ । देश र जनताको हितका लागि सांसदहरुले छलफलमा राख्नु भएको सुझाव अनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनुपर्छ । प्रधानमन्त्री तयार हुनुपर्छ । अर्थमन्त्री तयार हुनुपर्छ । र, सम्बन्धित मन्त्रालयका मन्त्रीहरु तयार हुन जरुरी छ । बहसको औचित्य पुष्टि गर्न तयार हुन जरुरी छ । ’

सांसद सुवालले बजेटमा कमा र फुलिष्टव पनि परिवर्तन हुन्न भन्ने मान्यतालाई गलत सावित गर्न पनि सरकारले त्यसलाई परिमार्जन गरेर अघि बढाउनु पर्ने बताउनु आवश्यक्ता औंलाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?