‘भारत-अमेरिका साझेदारी नयाँ चरणमा पुग्ने’

Read Time = 3 mins

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत-अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक कूटनीतिज्ञले बताएका छन् । संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीचको सम्बन्धमा अर्को अध्याय थपिने बताउँदै त्यसले नयाँदिल्ली र वासिङ्टनको साझेदारीलाई सुदृढ बनाउने बताउनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिबीचको घनिष्ठ मैत्रीलाई पनि भ्रमणले प्रतिबिम्बित गरेको उहाँले बताउनुभयो ।

एएनआई प्रतिनिधिसँगको कुराकानीमा राजदूत सन्धुले दुवै देशका मन्त्रिपरिषद्का सदस्यहरू र वरिष्ठ अधिकारीहरूले राजकीय भ्रमणबाट प्राप्त हुने उपलब्धिको प्रतीक्षा गरिरहेको बताउँदै उहाँले नयाँदिल्ली र वासिङ्टनको सम्बन्ध सही दिशामा अघि बढिरहेको सुनिश्चित हुने जनाउनुभयो । भूमण्डलीकरणका सन्दर्भमा भारत-अमेरिका साझेदारीका विविध पक्षबारे चर्चा गर्दै भारतीय राजदूतले व्यापार, रक्षा, रणनीतिक सहयोग, प्रविधि, उच्च शिक्षा र स्वच्छ ऊर्जा क्षेत्रमा दुवै देश सहकार्य गर्न उत्सुक रहेका बताउनुभयो ।

पारस्परिक विश्वास र साझेदारीलाई थप सुदृढ बनाउन तथा जनस्तरको सम्बन्धलाई पनि अझ घनीभूत तुल्याउन प्रधानमन्त्री मोदीको भ्रमण फलदायी हुनेमा आफू विश्वस्त रहेको राजदूत सन्धुले बताउनुभएको छ ।

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई बेवास्ता गरेको भारतले मस्कोसँगको साथ र सहयोगलाई बढाएको छ । वासिङ्टन र मस्कोबीचको सम्बन्ध अधिक चिसिएको अहिलेको अवस्थामा पनि रुसको मौन समर्थक भारतसँगको आफ्नो व्यवहारमा अमेरिकाले कुनै परिवर्तन गरेको छैन ।

चीनसँगको बिग्रिएको सम्बन्धलाई सन्तुलनमा राख्न वासिङ्टनले नयाँदिल्लीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको विश्लेषक बताउँछन् । मध्य तथा दक्षिण एसियाली क्षेत्रमा चीनको प्रभाव कम गर्न अमेरिका भारतसँग निकट सम्पर्कमा काम गर्न सधैँ तत्पर रहेको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?