कविता : साथी रक्सी देऊ र पुस्तक लैजाऊ

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 2 mins

साथी म मात्न चाहन्छु,
मलाई एक बोतल रक्सी देऊ
म एकप्रति पुस्तक दिनेछु
साटासाट गरौँ ।
म आँतभरि रक्सी भर्न चाहिरहेको छु
र मात्न खोजिरहेको छु
तिमी मातेर ढलिसक्यौ होला
भयो अब थप्नु पर्दैन रक्सीका थोपाहरू ।

तिमी पुस्तक चपाऊ र
खोस्टाबाट चुहेको रस पिउने गर
असाध्यै मात लाग्ने छ ।
चाखेर त हेर साथी ।

घामका पाइला सुत्न नजाँदै
तिमी सडकमा सुतिसकेका हुन्छौ
तिम्रा घरमा पर्खिरहेकी पत्नी
मुख छोपेर रोइरहेकी हुन्छिन्
तिम्री वृद्ध आमा
तिमीलाई पर्खेर ढोका कुरिरहेकी देखिन्छिन्
तिम्रा साना नानीहरू स्कुलबाट फर्कँदै गर्दा
तिमी सडकमा निदाइरहेको देख्छन्
साथीहरूका चोर औंलाले भनेको
ऊ हेर त मातेको मान्छे नालीमा सुतेको छि !

सुन्दा आफ्ना झोलाभरि पीडा र
आँखाभरि आँसु बोक्नुबाहेक
केही भन्न सकिरहेका छैनन्
कति दुख्दो हो तिनीहरूको मन र
कति रुँदो हो तिनीहरूको कोमल हृदय
कहिल्यै पढेका छौ तिमीले यिनको भाषा ?

आऊ पढ म तिमीलाई पुस्तक दिन्छु
अनि, तिमीसँग रक्सी किन्छु ।
साटासाट गरौँ पुस्तकका ठेली र रक्सीको बोतल
तिमी पुस्तकमा मात
म रक्सीको मातमा डुब्ने छु
तिमी घरमा नानीहरूसँग रमाऊ
म सडकमा रमाउने छु ।
हुन्न त साथी ।

२०८० जेठ ३१
बुुनपा-१०, कपन : नारायणचोक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 Comment
  1. तिमी पुस्तकमा मात
    म रक्सीको मातमा डुब्ने छु
    तिमी घरमा नानीहरूसँग रमाऊ
    म सडकमा रमाउने छु ।
    हुन्न त साथी ।
    थप सामग्री :

रिलेटेड न्युज

छुटाउनुभयो कि ?