एसियाडका लागि कबड्डी, एथलेटिक्स र आर्चरीका खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाउनुभयो । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो ।

एसियाडका लागि मानमत विष्ट, सिर्जनाकुमारी थारु, गंगा घिमिरे, रविना चौधरी, जयन्ती बडू, मेनुका राजवंशी, अनुजा कुलुङ राई, सुनिता थापा, नितु गुरुङ, कलावती पन्त, इशा राई र अर्पणा चौधरी छनोट हुन सफल हुनुभएको छ ।

यस्तै, नेपाल एथलेटिक्स संघले पनि एसियाड र अर्काे महिना जुलाईमा थाइल्याण्डमा आयोजना हुन लागेको २४औँ एसियन एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ । संघले पुरुषतर्फ चार र महिलामा तीन खेलाडीसहित कुल सात खेलाडी छनोट गरेको हो ।

पुरुषतर्फ १० हजार मिटर दौडमा दीपक अधिकारी छनोट हुनुभएको छ । म्याराथनमा राजन रोकाया, ४०० र ८०० मिटर दौडमा सोमबहादुर कुमाल र पाँच हजार मिटर दौडमा गोपीचन्द्र पार्की छनोट हुनुभएको छ । महिलातर्फको म्याराथनमा पुष्पा भण्डारी दौडनुहुनेछ । यस्तै, पाँच हजार मिटर दौडमा राजपुरा पछाई र १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ छनोट हुन लाग्नुभएको छ ।

एसियन गेम्सअघि नेपाली एथलेटिक्स टोलीले थाइल्याण्डको बैंककमा १२ देखि १६ जुलाईसम्म हुने २४औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघिका लागि पनि संघले पुरुषतर्फ पाँच र महिलामा दुई गरी सात खेलाडी छनोट गरेको छ ।
पुरुषतर्फको १०० र २०० मिटर दौडमा आयुष कुँवर र गोपीचन्द्र पार्की छनोट हुनुभएको छ । १५ सय र पाँच हजार मिटर दौडमा मुकेशबहादुर पाल छनोट हुनुभएको छ । सोमबहादुर कुमालले ४०० र ८०० मिटर दौडमा चुनौती पेश गर्नुहुनेछ । दीपक अधिकारीले १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

महिलातर्फ ८०० र १५ सय मिटर दौडमा फूलमती राना तथा पाँच हजार मिटर दौडमा राजपुरा पछाईले नेपालबाट चुनौती पेश गर्नुहुनेछ ।
आर्चरी संघले पनि एसियाडका लागि चार खेलाडी छनोट भएको जनाएको छ । छनोट हुनेमा दुई महिला र दुई पुरुष खेलाडी हुनुहुन्छ । नेपाली सेनाकी मञ्जु बजगाईं रिकभरमा र सेनाकै इमायुङ राई कम्पाउण्डमा छनोट हुनुभएको छ । मञ्जु १०७० अंक र इमायुङ १३०३ अंकका साथ छानिनुभएको छ ।

नेपाल प्रहरीका तिलक पुन मगर रिकभर र गण्डकी प्रदेशका योगेन्द्र शेरचन कम्पाउण्डमा एसियाडका लागि छनोट हुनुभएको छ । तिलक १२६७ अंक र योगेन्द्रले छनोट प्रतिस्पर्धामा १२८९ अंक जोड्नुभएको थियो ।

छनोट भएका खेलाडीले एसियाडमा १० इभेण्टमध्ये ६ इभेण्टमा प्रतिस्पर्धा गर्ने नेपाल आर्चरी संघले जनाएको छ । ११औँ राष्ट्रिय आर्चरी प्रतियोगिताबाट छनोट भएका १४ खेलाडीले एसियाडको छनोटका लागि प्रतिस्पर्धा गरेका थिए । असोज ६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने एसियाडमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?