भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको हो : प्रमुख आयुक्त राई

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताउनुभएको हो । उहाँले सरकारले सुशासन कायम गर्ने प्रयास गर्नुपर्ने बताउनु भयो ।

उहाँले तीनै तहको सरकारले बनाएका ऐन, नियम, कानून र नितिभित्र रहेर कर्मचारीले काम गरेमा भ्रष्टाचार नहुने बताउनु भयो । यद्यपी सरकारले सुशासन कायम गराउन नसकेको उहाँले बताउनु भयो । उहाँले सरकारी कामकाज समयमै हुने प्रवन्ध गर्न सकेमा सुशासन कायम हुने बताउनु भयो । जिम्मेवारीमा रहेका सबैले आ–आफ्नो काम, कर्तव्य र अधिकारलाई पुरा गर्नुपर्ने उहाँको भनाई छ । प्रमुख आयुक्त राईले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको अन्तिम अवस्थामा मात्रै अख्तियार दुरुपयोग अनुसन्धानको काम आउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हेर्दाखेरी समाजलाई भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार मात्रै हो कि भनेजस्तो सोच विकास भएको छ । त्यो होइन । भ्रष्टाचारको नियन्त्रण भनेको सबभन्दा पहिला सरकारको हो । सरकारले सुशासन कायम गर्न प्रयास गर्नुपर्छ । संघीय, प्रदेश र स्थानीय सरकारले बनाएका ऐन, नियम, कानून, नितिभित्र रहेर काम कर्मचारीले गर्नुप¥यो । त्यो ऐन, नियम र कानूनको परिधिभित्र रहेर यदी कर्मचारीले काम गर्छन् भने त्यहाँ भ्रष्टाचार नै हुँदैन । त्यहाँ सुशासन कायम हुन्छ । सरकारले त्यो काम गराउन सकेको अवस्था देखिँदैन । समय बमोजिमको सेवा प्रवाह गर्ने प्रोभिजन ल्याइदियो भने पक्कै पनि त्यहाँ सुशासन कायम हुनसक्छ । यहाँ त कसैको छिटो होला पहुँच छ भने, कसैको ढिलो होला । कसैले मोलाहिजा गर्‍यो भने छिटो होला । यो खालको प्रवृत्ति समाजले देखिराखेको छ । त्यो देखिसकेपछि पक्कै पनि यहाँ त भ्रष्टाचार भएको छ भन्नेखालको समाजलाई लाग्नसक्छ । सबभन्दा पहिलो काम सरकारले, जो राज्य सञ्चालन गरिराखेको छन्, त्यहाँ बस्ने प्रधानमन्त्री अन्तर्गतका मन्त्रीहरु ठिक ठाउँमा हुनुप¥यो । सचिवहरु ठिक ठाउँमा मन्त्रीले गराउनुप¥यो । सचिवले विभागिय प्रमुखलाई ठिक ठाउँमा लानुपर्‍यो । र विभागिय प्रमुखले कार्यप्रमुखलाई ठिक ठाउँमा आफ्नो ऐन, नियम, कानून अनुसार आफ्नो काम, कर्तव्य, अधिकार पुरा गरेको अवस्थामा मात्रै सुशासन कायम हुनसक्छ । नभएदेखि सबै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचार हेर्ने हो भन्नेखालको सोचतिर समाज लाग्यो भने, अख्तियारको मात्रै होइन भ्रष्टाचार नियन्त्रण गर्ने । हामी त अन्तिममा यति गर्दा गर्दै पनि यदी भ्रष्टाचार हुन्छ र भ्रष्टाचार नियन्त्रण गर्नका लागि हामीलाई संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर हामीले काम, कारबाही अगाडी बढाउने हो ।’

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्लो प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताउनु भयो । भ्रष्टाचारको अन्त्यका लागि राज्य, समाज र आम नागरिकको भुमिका हुने उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?