स्पेन नेसन्स लिगको च्याम्पियन

Read Time = 3 mins

पेरिस । स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ । क्रोएसियालाई सडन डेथमा पाँच-चारले पराजित गर्दै अघिल्लो संस्करणको उपविजेता स्पेनले उपाधि उचालेको हो । निर्धारित र अतिरिक्त समयमा कुनै गोल नहुँदा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा स्पेनले गोलरक्षक युनाई सिमोन नायक बन्दा खेल आफ्नो पक्षमा पार्‍यो । टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्काे एसेन्सियोले गोल गर्दा एमेरिक लापोर्टालेको प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।

क्रोएसियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्न सफल हुँदा लोभ्रो माजेरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले बचाउनुभयो । त्यसपछि सडन डेथमा क्रोएसियाका बु्रनो पेटकोभिचको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउँदा स्पेनका ड्यानिल कार्भाजलले गोल गर्दै टोलीलाई च्याम्पियन बनाउनुभयो ।

योसँगै स्पेन विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि फ्रान्सले विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जितिसकेको छ ।

स्पेनले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो । स्पेनले सन् २०१२ मा युरोकपको उपाधि जितेयता कुनै उपाधि जित्न सकेको थिएन । स्पेनले सन् २०१२ मा युरोकपसँगै २०१० मा फिफा विश्वकप र २००८ मा युरोकप गरी उपाधिमा हृयाट्रिक गरेको थियो ।
यता, स्पेनसँगको हारसँगै क्रोएसिया पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट वञ्चित बन्यो । सन् २०१८ मा विश्व उपविजेता बनेको क्रोएसिया २०२२ को विश्वकपमा तेस्रो भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?