खुशी, उत्पादन र उपभोग कसरी ?

Read Time = 17 mins

प्रसन्नता, सुखद् अनुभूति, हर्ष, आनन्द, उत्साह वृद्धि गर्ने भाव, बेफिक्री, स्वतन्त्र, उल्लास, प्रफुल्ल, जोश, उमंग, आनन्द, तम्दुरुस्ती, शारीरिक स्वस्थ, सन्तोषको अवस्था, जीवनको आनन्द लिने कला, भावना आदिले खुशीको अवस्था र भाव आदिलाई प्रकट गर्छ । विज्ञानले ज्वरो नाप्ने यन्त्र जस्तो खुशी नाप्न यन्त्र अहिलेसम्म बनाएको छैन । खुशी आन्तरिक आनन्दको स्थिति हो । मन शान्त हुँदा बेचैनी चिन्ताबाट मानिस मुक्त हुन्छ । चिन्तबाट मुक्ति भनेको खुशी हुनु हो । अनुकूल-प्रतिकूल दुवै अवस्थामा समभाव राख्ने योग्यता खुशी रहने जबर्जस्त कला हो ।

यस कलामा जति-जति व्यक्ति प्रवीण हुँदै जान्छ त्यति नै उसभित्रको खुशीपन बढ्छ । जीवनमा अनुकूल र प्रतिकूल परिस्थिति आउनेजाने विषय सामान्य हुन्छन् । अरूको खुशीमा आफ्नो खुशी देख्नेहरू प्रतिकूल अवस्थाको सामना सहजै गर्छन् । आवश्यकतालाई सीमित गर्ने कलाले पनि मानिसलाई खुशी राख्छ । आकांक्षालाई कम गर्नाले खुशी हुन सकिने सिद्धान्तको प्रतिपादक महात्मा गान्धी हुन् । आफूलाई अन्यसँग तुलना नगर्नु पनि खुशी हुने जबर्जस्त सूत्र हो । जीवनमा दिन आएको हुँ लिन आएको होइन भन्ने भावनाले मानिसभित्र खुशी प्रबद्र्धन हुन्छ । क्षणिक खुशीलाई त्याग गर्ने क्षमता र परिस्थितिहरूको सामना साहसका साथ गर्ने मनस्थिति र सकारात्मक सोचले पनि खुशीलाई प्रबद्र्धन गर्छ । खुशी, मानसिक या भावनात्मक अवस्थाको सन्दर्भमा, सन्तोषदेखि तीब्र आनन्दसम्मको सकारात्मक र सुखद् भावना हो । खुशीलाई अलग अलग व्यक्तिले अलग अलग अवस्थालाई मान्दछन् र ठान्दछन् । विज्ञानले के प्रमाणित गरेको छ भने खुशी रहँदा मानिस स्वस्थ र लामो जीवन बाँच्छ । त्यसैले हाँसोलाई खुशीको राम्रो औषधि मानिन्छ । खुशीले हृदयको गति र रक्तचापलाई सन्तुलित राख्दछ । खुशीले रोग प्रतिरोधात्मक क्षमतालाई अभिवृद्धि गर्छ ।

जो खुशी रहन्छ उसको बिरामी हुने सम्भावना घट्छ । जो खुशी रहन्छ ऊ तनावमुक्त हुन्छ । परिणामस्वरूप तनाव उत्पादन गर्ने कोर्टिसिल हर्मोन शरीरमा कम उत्पादन हुन्छ । तनावबाट मुक्त हुनु नै खुशी हुनु हो । जीवनमा सम्मोहनको मोह र अपमानको भयले सधैं आक्रमण गर्छ भन्ने विषयको व्यवस्थापन कलाले खुशीलाई प्रबद्र्धन गर्छ । खुशी सबैलाई प्यारो हुन्छ । तसर्थ सकेसम्म खुशी कसैले पनि अरूलाई दिँदैन । खुशी एकआपसमा विनिमय भने हुनसक्छ । आफ्नो खुशी दिएर अरूको खुशी लिन सकिन्छ । आफैंलाई प्यारो हुने खुशीजस्तो प्रिय वस्तु कसैले सित्तैमा किन दिन्छ र ? दिँदैन । त्यसैले अरूबाट खुशी पाउने अपेक्षा नगरौं । अरूबाट खुशीको अपेक्षा गर्नु पनि प्रकारान्तरले आफू दुःखी हुनु हो ।

खुशी फगत चाहनाले मात्रै प्राप्त हुँदैन । खुशी मिहिनेत, चिन्तन, लगनशील आदिको प्रतिफल हो । खुशीलाई आफ्नै मिहिनेतले उत्पादन गरौं, निस्फिक्री उपभोग गरौं । खुशीलाई अरूबाट अपेक्षा गर्नु आफू दुःखी हुनु हो । अरूको खुशीलाई अपहरण गर्नु अर्कोलाई दुःखी बनाउनु हो ।

खुशी फगत चाहनालेमात्रै प्राप्त हुँदैन । खुशी मिहिनेत, चिन्तन, लगनशील आदिको प्रतिफल हो । खुशीलाई आफ्नै मिहिनेतले उत्पादन गरौं, निस्फिक्री उपभोग गरौं । खुशीलाई अरूबाट अपेक्षा गर्नु आफू दुःखी हुनु हो । अरूको खुशीलाई अपहरण गर्नु अर्कोलाई दुःखी बनाउनु हो । घरपरिवार र समाजमा देखिएका द्वन्द्वहरूको मुख्य कारण नै खुशीको अपहरण, अतिक्रमण हो । जहाँ अर्काको खुशीको अपहरण हुन्छ त्यहाँ द्वन्द्व र अशान्तिको उत्पत्ति हुन्छ । संसारमा द्वन्द्वको प्रमुख कारण खुशीको अपहरण र अतिक्रमण हो । खुशीलाई वचत नगरौं किनकि खुशीलाई वचत गर्नु भनेको मिहिनेतको दुरुपयोग हो अर्थात् दुःखलाई उपभोग गर्नु हो । जानी-जानी दुःखको उपभोग कसैले गर्छ भने उसले आफैंप्रति न्याय गर्दैन ।

आफैंप्रति न्याय दिन असमर्थ समाजलाई न्याय दिन्छु भनेर राजनीतिमा चुनावी प्रतिस्पर्धा गर्छन् । खासगरी पार्टी पद्धतिमा कुनै कार्यकर्ता आफ्नो हक र अधिकारका लागि संघर्ष गर्न वा विद्रोह गर्न सक्दैन भने उसले आफैंप्रति अन्याय गरेको ठहर्छ । आफ्नो हक लिन नसक्ने व्यक्तिले जनताको हक स्थापित गर्छु भनेर निर्वाचनमा भाग लिएका उदाहरण छन् । एउटा राम्रो उदाहरण हो तनहुँको भरखरै सम्पन्न भएको उपनिर्वाचनका उम्मेदवारहरूको परिस्थिति । कांग्रेसका कार्यकर्ताको रूपमा चार दशकभन्दा बढी पार्टीमा इमानदारीपूर्वक काम गरे गोविन्द भट्टराईले तर त्यसबीचमा उनका समकालीनहरू माननीय र मन्त्रीसमेत भएर निवृत्त भएका छन् । उनी योग्य पनि थिए । इमानदार हुन् तर उनले सधैं रामचन्द्र पौडेलको हर्ताकर्तामै आफूलाई सीमित राखे । उनले नेतालाई मानेर बस्ने तर आफैं नेता बन्न अग्रसर हुने आँट र साहस गरेनन् । यसको अर्थ उनमा विद्रोहको चेत आएन । उनमा विद्रोही चेतको विकास नहुनु भनेको आफैंले आफैँलाई न्याय दिन नसकेको अवस्था हो । उनले खुशीलाई जीवनभर रामचन्द्रलाई सुम्पेर आफू दुःखी भएको अवस्था थियो । रामचन्द्रले सधैं टिकट पाउने मैले किन त्यो टिकट एकपटक पनि नपाउने भनेर आफूलाई न्याय दिन संघर्ष गरेको भए वा विद्रोह गर्ने साहस र आँट गरेको भए उनले एकडेढ दशक पहिल्यै टिकट पाउँथे ।

त्यसो गर्न नसकेका कारणले उनले कहिल्यै टिकट पाएनन् । उनले टिकट पाउन रामचन्द्र पौडेलको राजनीतिक जीवन वा भौतिक जीवन सकिनुपथ्र्यो । जब रामचन्द्र पौडेलले राष्ट्रपतिको पद प्राप्त गरे । त्यसपछि मात्रै त्यो तनहुँको माननीयको भकारो खाली भयो । गोविन्द भट्टराईलाई माननीय बन्ने अवसर शेरबहादुरले रामचन्द्रलाई राष्ट्रपतिको पद बक्सिस दिएपछि रामचन्द्रको बक्सिस हो गोविन्द भट्टराईको उम्मेदवारी । त्यसबीचमा कांग्रेसमा संघर्ष, विद्रोह गरेर भने पनि राजनीतिमा निगाहमा नबाँच्ने, प्रतीक्षा नगर्ने र आफूलाई न्याय दिलाउन जोखिम मोल्न सक्ने अर्को युवा प्रतिनिधि पात्र हुन् स्वर्णिम वाग्ले । निगाहबाट न्याय पाउनका लागि प्रतीक्षा गर्ने समय नभएको र न्यायका लागि विद्रोह गर्ने चेत भएका युवा स्वर्णिम वाग्लेले सिंगो कांग्रेस पार्टीका नेताहरूलाई नै चुनौती दिँदै कांग्रेसको सिंगो शक्तिसँग प्रतिस्पर्धा गर्न उनी तनहुँजस्तो निर्वाचन क्षेत्र र रामचन्द्रजस्तो शक्तिशाली व्यक्तिलाई चुनौती दिन विनाअनुभव निर्वाचनको मैदानमा हामफाले । प्रतीक्षाको समय नभएको निष्कर्ष र विद्रोही चेतले राजनीतिमा स्वर्णिमले यति ठूलो जोखिम उठाए । यसअघि रामचहरूद्वारा खोसिएको गोविन्द भट्टराईको खुशी चुनावी प्रतिस्पर्धाका माध्यमले कांग्रेसबाटै विद्रोह गर्ने स्वर्णिमको विजयका कारण फेरि खोसियो ।

भट्टराईको दुर्भाग्य नै भन्नुपर्छ कांग्रेस पार्टीबाट विद्रोह गरेका स्वर्णिम वाग्लेको अप्रत्याशित विद्रोहको सिकार जीवनमा कहिल्यै विद्रोह गर्ने आँट र साहस नभएका गोविन्द भट्टराई बने । राजनीतिमा मात्रै होइन सबै क्षेत्रमा आफूलाई न्याय खोज्ने आँट र साहस नहुनेले खुशीको उपभोग गर्न सक्दैन । अर्काको खुशीमा रमाउनु भनेको आफ्नो पेट भोकै भएको अवस्थामा अरूले टन्न खाएको देखेर रमाउनु जस्तै हो । राजनीतिमा मात्रै होइन सबै पेशा व्यवसायलगायत जीवनका उतारचढावमा जसले संघर्ष र विद्रोह गर्दैन खुशी प्राप्त गर्नबाट वञ्चित हुन्छ ।

अहिले तनहुँको निर्वाचनमा स्वर्णिमले विद्रोह गरे उनले खुशी पाए । गोविन्दले विद्रोहको आँट नै गरेनन् अन्ततः निगाहमा टिकट पाए तर त्यो टिकटले उनलाई खुशी दिएन । किनकि विद्रोह गर्ने स्वर्णिमले नै विजय हात पारे । स्वर्णिमले विद्रोहको माध्यमले आफूले आफूलाई खुशी बनाए । कांग्रेसमा धेरै समयसम्म गोविन्द भट्टराईको खुशी लुट्नेहरू हावी भएका कारण उनलाई निगाहबाट प्राप्त अवसरले खुशी दिन सकेनभन्दा थप दुःखी बनायो । तसर्थ विद्रोह र संघर्षविना खुशी कसैलाई खुशी गराउन आफैं आउँदैन ।

चाणक्यले धनका गतिहरूमा प्राथमिकता नै उपभोगलाई दिएका छन् । तसर्थ उनको आर्थिक सिद्धान्त पनि प्रकारान्तरले उत्पादन र रोजगारी वृद्धिमै केन्द्रीकृत छ । उपभोक्तावाद नै चाणक्य र किन्सको अर्थशास्त्रको गन्तव्य हो ।

समग्रमा खुशी आफैं वा सजिलै आउँछ भनेर परिश्रम, चिन्तन नगर्ने, विद्रोही चेतको विकास नगर्नु र प्रतीक्षा गर्नु भनेको दुःखी हुनु हो । भविष्य अनिश्चित छ । त्यसैले वचत गरेको खुशी भोलि आफैंले उपभोग गर्न पाउने ग्यारेन्टी छैन । अन्यथा अर्थ नलगाउने हो भने आवश्यकताको आपूर्ति धनले गर्छ । धन मानिसलाई खुशी र सुखी बनाउने प्रमुख साधन हो । मिहिनेतबाट आर्जित धनले मात्रै सुखानुभूति हुन्छ । त्यही धन भ्रष्टाचारबाट संकलित छ भने भ्रष्टाचार गर्ने पात्रलाई जीवनभर त्यसले पश्चातापको भुँमरीमा हाल्छ । भलै उसले सत्य वस्तुलाई आफूभित्र गोप्य रूपमै कैद गर्दा पनि मन, मस्तिष्कभित्र पश्चाताप र जलन हुन्छ ।

तसर्थ भ्रष्टहरू धनले खुशी र सुखी हुन्छु भनेर अहिले भ्रष्टाचार गरे पनि भोलि मनलाई पश्चातापको ज्वालाले जलाउँछ । अझ कानुन सक्रिय हँुदाका बखत त ऊ दण्डित हुन्छ । तसर्थ भ्रष्टाचारबाट खुशी उत्पादन गर्नु भनेको खुशीको अनैतिक, गैरकानुनी उत्पादन गर्नु हो । नैतिकता, मिहिनेतका साथ उत्पादन भएको खुशी नै सार्थक खुशी हो । यस्तो धनरूपी सुख र खुशीलाई उपभोग गर्न चाणक्यले दिएको सुझाव अत्यन्तै मार्मिक र व्यावहारिक छ । उनले भनेका छन् धनका तीन गति हुन्छन् । उपभोग, दान र नाश । आफ्नो खुशीरूपी धनको निस्फिक्री उपभोग गर । उनी देशको आर्थिक क्रियाकलापको वृद्धिको पक्षधर भएको कुरा पनि प्रमाणित हुन्छ । किनकि देशको जनसंख्याले उपभोगको मनोविज्ञान बनाउनु भनेको उत्पादनका क्रियाकलापहरूलाई प्रोत्साहन र विस्तार गर्नु हो । यसले उत्पादन र रोजगारीलाई विस्तार गर्छ । रोजगारी विस्तारले गरिब र विपन्न वर्गले रोजगारी पाउँछ । त्यो वर्ग लाभान्वित हुनुभनेको अधिकांश जनसंख्या खुशी र सुखी हुनु हो । रोजगारीले वास्तवमा नागरिकको जीवनमा अपूर्व खुशी उत्पन्न गर्छ ।

यसले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ । आत्मनिर्भर व्यक्ति खुशी हुन्छ र उसले सुखानुभूति गर्छ । यसरी हेर्दा के प्रमाणित हुन्छ भने प्रसिद्ध अर्थशास्त्री किन्स पनि चाणक्यको विचारबाट प्रभावित भएर नै उनले अर्थशास्त्रको सिद्धान्त प्रतिपादन गरेका रहेछन् । किन्सका अनुसार बेरोजगारीको मुख्य कारण प्रभावपूर्ण मागमा कमी हुनु हो । प्रभावपूर्ण मागलाई वृद्धि गरेर बेरोजगारीलाई समाप्त गर्न सकिन्छ । यहाँनेर चाणक्यले धनका गतिमा प्राथमिकता नै उपभोगलाई दिएका छन् । तसर्थ उनको आर्थिक सिद्धान्त प्रकारान्तरले उत्पादन, रोजगारी वृद्धिमै केन्द्रीकृत छ । उपभोक्तावाद नै चाणक्य र किन्सको अर्थशास्त्रको गन्तव्य हो ।

चाणक्यका अनुसार उपभोगबाट बचत भएको धनको दोस्रो गति भनेको दान हो । दान गरिब, असहाय वृद्ध वृद्धा र सामाजिक संस्थालाई, मठमन्दिर आदिलाई उदारतापूर्वक दान गर्ने अर्थमा बुझ्नुपर्छ । यसरी उपभोग र दानपछि जति बचत हुन्छ त्यो बाँकी धन मिहिनेतबाट आर्जन गर्नेका लागि सन्ततिले नै उपभोग किन नगरोस् त्यो नाश हो । आफ्ना आवश्यकतालाई पूरा गरेपछि धनलाई कल्याणकारी काममा प्रयोग गरेर मानिस खुशी र सुखी हुनसक्छ । यसरी भोग र दानपछि बाँकी धनलाई आफूले उपभोग गर्न पाइँदैन । आफूले उपभोग गर्न नपाएको धन आफ्ना लागि नाश हो । यस्तो नाश अन्ततः दुःख हो भन्ने चाणक्यको निष्कर्षलाई आत्मसात किन नगर्ने ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?