समाजवादी मोर्चा वृद्धहरुको क्लव हाे, धेरै टिक्दैन : योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लव भएको बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताउनुभएको हो ।

उहाँले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गर्नुभयो । उहाँले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताउनु भयो । उहाँले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा भनेर बनाउनुभएको छ, समाजवादको धारणाप्रति नै उहाँहरुको एकरुपता छ त ? समाजवादमा पुग्ने बाटोमा एकरुपता छ त ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ ? तरिका एउटै हो ? संविधानप्रति उहाँहरुको समान दृष्टिकोण छ ? संविधान च्यात्नेहरु पनि त्यहीँ हुनुहुन्छ । कस्तो मोर्चा हुन्छ त्यो ? यो प्रौढहरुको क्लव हो । यसमा इतिहासको बखान हुन्छ । मेरो पालमा यो, मेरो पालामा यो । यो बुढाहरुको क्लव हो । भविष्यको सपना केही पनि छैन । समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’

सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटीहरु भइरहेको बताउनु भयो । उहाँले मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने बताउनु भयो । उहाँले छलफलमा मन्त्रीहरु नआएको भन्दै सरकार सदनप्रति जवाफदेही बन्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा पेस गर्ने डकुमेण्ट धेरै नै परिष्कृत भएर आउनुपर्छ । यो मानवीय त्रुटी भन्दा पनि नियत हो । सबै प्रदेशको नाम भइसकेपछि मन्त्रीले नाम नै नलेख्ने ? बजेट कसरी इन्ट्री हुन्छ । यसमा प्रधानमन्त्रीज्युले पनि कमाण्ड नगर्नुभएको हो की ? आफ्ना मन्त्रीलाई बोलाएर संसदमा कसरी प्रश्तुत हुने भन्नुपर्छ की । छलफलमा नै मन्त्रीहरु आउँदैनन् । संसदलाई ध्यान दिन सकिएको छैन । सरकार संसदप्रति जवाफदेही छैनन् । उहाँहरुको हेलचेक्रयाँई छ । सत्ता पक्षकै नेताहरु असन्तुष्टि हुनुहुन्छ बजेटमा । बजेट फेल भएपछि सरकार स्वतः जान्छ ।’

सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरु असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?