धर्म र यसको मर्म

Read Time = 17 mins

नमागिएको सल्लाह :
यसै साता ‘नमागिएको सल्लाह’ स्तम्भ लेखनको तीन वर्ष पूरा भएछ । यो अवधिमा १३८ शृंखलाको रूपमा यो आलेख लेख्ने प्रयत्न हुँदैछ । केही अंक अनियमित भए तापनि ‘नमागिएको सल्लाह’ स्तम्भको निरन्तरता रहनुमा समय, स्वास्थ्य, नियति र पत्रिकाको सम्पादन समूहप्रति आभारी छु । लेखनमा अर्थ राजनीतिले नै धेरै अंश ओगटेको छ । केही अन्तर्राष्ट्रिय घटनाक्रम र सन्दर्भका बारेमा पनि लेख्ने जमर्को गरिएछ । आज पहिलेको लेखनका विषयलाई क्रमभंग गरेर धर्म र यसको मर्मबारेमा लेख्न प्रयास गरिनेछ । यो आलेखमा शास्त्रीय विवेचनाभन्दा पनि व्यावहारिक अनुभूतिका आधारमा चर्चा गर्ने प्रयत्न गरिनेछ ।

उमेर, समय र परिस्थितिले धर्म, कर्म, तीर्थ व्रतको वातावरण बनाउने रहेछ । मन्दिर र देवालय धाएर धर्म बटुल्न सकिन्छ भन्नेमा खासै विश्वास नभएता पनि परिवार र समाजका लागि पनि देवालय जाने गरेको छु । धार्मिक पर्यटकको रूपमा नयाँ स्थान घुम्न मजै लाग्छ । उसो त देवालयमा पुगेर संस्कृतका श्लोक पाठ गर्दा औधि आनन्दानुभूति हुन्छ । सानो हुँदा आमा हजुरआमाले सूर्य ग्रहण लागेको समयमा सूर्य भगवानलाई कुनै गलत तत्व आएर कालो बनाएर कष्ट दिएको बुझाइको कारण चिच्याएर ‘छोड्दे चमारे ....’ भन्नुहुन्थ्यो । वास्तवमा नै कुनै शत्रु तत्वले सूर्य नारायणलाई कष्ट दिएको होला भन्ने विचार मेरो मनमा नआएको होइन । हजुरआमा र आमाको बुझाइमा त्यसरी ‘छोड्दे’ भनेर चिच्याएर कराएर सूर्य नारायणमाथिको ग्रहण हटाउन प्रयास गर्नु धर्म हो भन्ने थियो ।

पछिल्ला दिनहरूमा आएर धर्म र कर्मकाण्ड छुट्याउँन कठिन भएको छ । धर्मभन्दा कर्मकाण्डलाई प्रश्रय दिने काम भइरहेका छन् । धार्मिक मान्यता र कर्मकाण्डीय मान्यतालाई अद्यावधिक गर्ने धार्मिक सम्मेलनहरू हुन छोडेका छन् । शंकराचार्यहरू पदवि धारण गर्नमात्र भएका छन् ।

रातोपुल, कालोपुल क्षेत्रको धोबीखोला किनारमा त्यहाँको समुदायको प्रयासमा रोपिएका र हेरचाह गरिएका बोटबिरुवा र फलफूलले सुन्दरता थपेका छन् । त्यहाँको सचेत समुदायले नमुना काम गरेको छ । केही धार्मिक हुँ भन्ने व्यक्तिहरू त्यसरी रोपिएका फूल टिपेर लानेमात्र होइन, हाँगा भाँचेर पनि लान पछि पर्दैनन् । यो समाजमा बसोवास गर्ने मानिसहरूको प्रवृत्ति भएकाले अन्यत्र पनि यो समस्या देखिन्छ । अरूको परिश्रमबाट फूलेका फूलको जीवन तुरुन्त निमोठेर देवालयमा वा घरको पूजा कोठामा चढाउनेले पनि आफूलाई अब्बल धार्मिक ठानेकै होलान् । एउटा ठूलै वर्ग छ, मन्दिरमा दर्शन गर्नुपर्ने तर लाइनमा बस्ने धैर्य नभएको । उनीहरूको प्रयास सधैं लाइनलाई छलेर र घुसपैठ गरेर मन्दिरमा दर्शन गर्नमा केन्द्रित रहन्छ । यसरी दर्शन गर्नेलाई पनि ठूलै धर्म कमाएको अनुभूति हुँदो हो ।

एकजना सहयोगी समूहको चालकको अशिक्षित पत्नी हुनुहुन्छ । उहाँमा इसाई धर्मसँग सम्बन्धितले ठूला-ठूला रोग परम पिताको नाम लिएपछि निको हुन्छ भनेर भ्रम छरेका छन् । त्यसमा विश्वास गर्ने ग्रामीण अशिक्षित क्षेत्रमा लठ्ठिनेको संख्या पनि बढ्दो छ । शतबीज छर्ने दिन पाशुपत क्षेत्रलगायत शिवालयका ढुंगामय र ढलान गरिएका सतहमा बीजारोपण गरेर त्यस क्षेत्रलाई सफा गर्न सात दिन समय लाग्ने गरी फोहोर गरेर पितृलाई मोक्ष गरेँ भन्नेमा विश्वास राख्नेहरूको ठूलो संख्या छ भन्नलाई त्यस दिनको शिवालयको भीड नै पर्याप्त छ । हरेक दिनजसो विभिन्न धर्मावलम्बीका भक्ति प्रकट गर्ने स्थानमा देखिने भीडभाड धर्म आर्जन गर्न र आफ्नो परमेश्वर खुशी पार्न भएको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । यत्रो पृष्ठभूमि बाँध्नुको उद्देश्य यस्तो विविध बुझाइको सन्दर्भमा ‘धर्म’ भनेको के हो त ?
धर्म के हो ?

‘धारणात् धर्म उच्यते’ धारण गर्न योग्य धर्म हो । पानीको धर्म भिजाउँने हो । हावाको धर्म सुकाउँने हो, आगाको धर्म ज्वलनशीलता हो, पृथ्वीको धर्म सहनशीलता र बीजांकुरण हो भने मनुष्यको धर्म सेवा हो । ‘सेवा हि परमो धर्म :’ परमेश्वरको सेवा, मनुष्यको सेवा, प्राणीमात्रको सेवा धर्म हो । पूर्वीय दर्शनमा यस्तो विश्वास गरिन्छ । धर्म भनेको जीव, मानव वा हरेक वस्तुको स्वाभाविक गुण हो । कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो । उसको आफ्नै स्वभाव हो । हिन्दू धार्मिक ग्रन्थहरूमा विभिन्न देवताहरूको महिमागान भएका शास्त्रहरूमा महिमागान गरिएका देवताहरूको भक्तिमा लाग्नुलाई धर्म भनिएको छ ।

श्रीकृष्ण भगवानले ‘मामेकं शरणं व्रज’ भन्नुभएको छ । पुराणहरूमा पनि पुराणसँग सम्बन्धित देवताको महिमागान र भक्ति गर्नु धर्म हो भनिएको छ । बौद्धधर्मावलम्बीहरूका लागि धर्म भनेको बुद्धको शिक्षा हो जसबाट वर्तमानको भ्रम र असन्तुष्टिबाट मुक्त हुँदै होस र आनन्दको अवस्थामा पुग्न सकिन्छ भनिएको छ । कार्ल माक्र्सको बुझाइमा धर्म जनताका लागि अफिम हो भने भी.आई. लेनिनको भनाइमा धर्म फलहीन फूल हो । माक्र्सवादी कम्युनिस्टको बुझाइमा धर्म मानिसको दिमागमा परेको भ्रमपूर्ण छाप हो । अलौकिक शक्तिमाथि विश्वास गर्ने भ्रान्त धारणा हो । फ्रेड्रिक एंगेल्सको बुझाइमा ‘हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाहृयशक्तिहरूको काल्पनिक प्रतिबिम्बबाहेक केही होइन, जसले तिनको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शरीरहरूले अलौकिक शक्तिको रूप धारणा गरेका हुन्छन् ।

माक्र्सवादी सोचाइमा धर्म भनेको मानवीय चेतनाको त्यो एउटा रूप हो, जसको विशिष्ट लक्षण मनमा हावी भएको बाहृयशक्तिको भ्रमपूर्ण रूप हो, जसमा पार्थिव शरीरले अलौकिक रूप ग्रहण गर्दछ । धर्म मानिसको दिमागमा परेको भ्रमपूर्ण छाप हो । धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो । हिन्दू धर्म संसारकै पुरानो धर्म हो । यससँग सम्बन्धित धार्मिक ग्रनथ अनुपम छन् । वेद, उपनिषदका कतिपय भनाइ विज्ञानलाई निर्देशित गर्ने किसिमका छन् । गीताले कर्मयोगबारे राम्रो सन्देश दिएको छ ।

पछिल्ला दिनहरूमा आएर धर्म र कर्मकाण्ड छुट्याउन कठिन भएको छ । धर्मभन्दा कर्मकाण्डलाई प्रश्रय दिने कामहरू भइरहेका छन् । धार्मिक मान्यता र कर्मकाण्डीय मान्यतालाई अद्यावधिक गर्ने धार्मिक सम्मेलनहरू हुन छोडेका छन् । शंकराचार्यहरू पदवि धारण गर्नमात्र भएका छन् । आवश्यक बौद्धिकताको अभावले नयाँ पुस्तामा धर्मप्रति रुचि बढ्नुको साटो अन्यौल बढ्दो छ । समयसँगै रुढिवादी विषय, जातीय भेदभावका विषयलाई अस्वीकृत गरी जानुपर्नेमा त्यो हुन सकेको छैन । पछिल्लो पुस्तामा तर्कसंगत आकर्षण पैदा गर्न सकिएन भने धर्म टुप्पी पालेर टुप्पी हल्लाएर नाच्ने हिप्पी शैलीमा रूपान्तरण हुन बेर लाग्दैन ।

धर्मका नाममा समाजलाई विभाजित गरेर द्वन्द्व चर्काउनुभन्दा कुनै चीजको उपस्थिति हुनुमा त्यसको कोही कर्ता हुने मान्यताका आधारमा सर्वव्यापी प्रकृति र ईश्वरप्रति कृतज्ञता भाव प्रदर्शन गर्ने उपायको रूपमा धर्मलाई लिनुपर्ने धारणालाई व्यावहारिक धारणा मान्न सकिन्छ ।

धर्मको मर्म :
धर्मको मर्म कर्मकाण्ड हुनुहुँदैन । मनुष्य र प्राणीमात्रको सेवालाई धर्म मानियो भने समस्यामा परेकाले देवत्वको अनुभूति गर्नेछन् । कर्मकाण्डलाई धर्म मान्ने हो भने केही पुजारी र पण्डितहरूले सहजता अनुभव गर्नेछन् । देवालयमा फोहोर उत्पादन गर्नु धर्म होइन । देवालयमा चढाउन भनेर सार्वजनिक स्थानको फलफूल टिपेर धर्म कमाइँदैन । न त, अगाडि बसेको मानिसलाई धकेलाधकेल गरेर मूर्तिको दर्शन गरेर धर्म पाइन्छ ।

राजनीतिमा देखिएको अपराधीकरण र अपराधीहरूको राजनीतिक संरक्षणका पछिल्ला घटनाले समाज र राज्य नै परपीडक हुँदै गएको त होइन ? प्रश्न गर्ने ठाउँ बनाइदिएको छ । धर्मको नाममा केही भइरहेको छ भने केही कर्मकाण्डहरू भएका छन् ।

जीवित अवस्थाका बाजेबजै, बुबाआमालाई खान लाउँन, हेरचाह गर्न, औषधोपचार गर्न चासो नराख्ने तर वर्षभरि सेतो वस्त्र धारण गरेर हरेक महिना पिण्ड दिनु र हरेक वर्ष श्राद्ध गर्नुको अर्थ छैन । अर्थ छ भने कर्मकाण्डीय अर्थमात्र छ । महाकवि देवकोटाले भन्नुभएको जस्तो दुःखीहरूको चहराइरहेको घाउमा मल्हम लगाउनु असली धर्म हो । इन्टरनेसनल सेन्टर फर श्रीकृष्ण कन्ससनेस (इस्कोन) मा युवा युवतीको आकर्षण बढ्दो छ । उनीहरूको रमाइलो भजन गर्ने शैलीले धेरैलाई आकर्षण गरेको पाइयो । धार्मिक चेतना प्राप्ति र आध्यात्मिकता भन्दा रमाइलो पक्ष प्रभावी रहेको महसुस हुन्छ ।

सधैं शनिबार सिकाइने श्रीमद्भागवद्गीताको एक श्लोक उच्चारण गर्नसम्म नसक्नेहरूले सिकाउने आसनमा बसेर गीताको हुर्मत लिएको पाइयो । अर्थको कुरा त ‘अर्थ न बर्थ गोविन्द गाई’ भने जस्तो छ । यसबाट के बुझ्न सकिन्छ भने गहन र दार्शनिक कुरा गरेर मानिसलाई आकर्षण गर्न सकिँदैन । इसकोनको रमाइलो भक्तिरसमा उत्साह भर्ने नाच, गान, रेष्टुराको खाना, सफा र सुलभ शौचालय र अन्य रमणीयपनले मानिसहरूको भीड दिनप्रतिदिन बढिरहेको छ । यसलाई धर्म भन्ने कि के भन्ने ? हिन्दूधर्मका केही अंशको प्रचार भएको छ । धार्मिक र आध्यात्मिक चेतनावृद्धिमा के कति काम गरेको छ भन्न सकिँदैन ।

श्रीमद्भागवतपुराण (सप्ताह)मा पनि भागवतको आध्यात्मिक कथामा भन्दा नाचगानप्रति रुचि बढ्दो छ । धर्मको व्यापारीकरण भएको कारण पहिल्यै दररेट निर्धारण गरेर गएका पण्डित मण्डलीहरू कथा भनेर घोक्रो सुकाउनमा भन्दा भजन लगाएर नचाउनमा सजिलो ठान्दछन् । कर्मकाण्डलाई धर्म मान्नेहरूका लागि पनि धर्म चरम व्यापारीकरणको शिकार बनेको छ । कसैलाई थाहा छैन, सप्ताह सुनेर वा अन्य कर्मकाण्ड गरेर धर्म हुन्छ कि हुँदैन । धर्म के हो भन्ने ज्ञान पनि कमैलाई होला । धेरैको बुझाइमा मूर्ति पूजा, कर्मकाण्डी पूजाहरू नै धर्म हुन् । हाम्रो दिमागमा बाल्यकालदेखि जमेका धारणाको प्रभावले गर्दा धेरैले बुझेको धर्म, कर्मकाण्ड, पूजाआजा भन्ने नै परेको छ । कसैले त्यसो होइन भन्यो भने ऊ नास्तिक कहलिने खतरा छ ।
अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकारः पुण्याय पापाय परपीडनम् ।।
कतिले यो श्लोकको मर्मलाई आत्मसात् गरेर पुण्यका लागि परोपकार गरेका छन् ? परपीडा गरेमा पाप हुन्छ भनेर कतिले आत्मसात् गरेका छन् । अहिलेको समाजमा परोपकारीको संख्या क्रमशः घट्दो छ । परपीडामा पाप देख्नेहरू समाजमा पाउँनै कठिन हुन थालेको छ । राजनीतिमा देखिएको अपराधीकरण र अपराधीहरूको राजनीतिक संरक्षणका पछिल्ला घटनाले समाज र राज्य नै परपीडक हुँदै गएको त होइन ? प्रश्न गर्ने ठाउँ बनाइदिएको छ । धर्मको नाममा केही भइरहेको छ भने केही कर्मकाण्ड भएका छन् । ती कर्मकाण्डमा पनि को जानु हुने को नहुने विभेद कायमै छ । धर्मको मर्म कर्मकाण्ड होइन मनको शुद्धीकरण हो । जसको कारण अवसर नपाएकालाई अवसर दिन मन लागोस् । अप्ठेरोमा परेकालाई उद्धार गर्न सकियोस् ।

धर्म र आध्यात्मिकता पहिरन, शृंगार वा कुनै अन्य बाहिरी आवरणमा देखिने वस्तु होइन न त दैनिक मूर्तिपूजा गरेर धार्मिक बनिने हो, धर्म त अन्तर्चेतनाबाट प्रष्फुटन हुने कृतज्ञता भाव हो, जसले ईश्वर र पितृप्रति भक्तिभाव देखाओस् । दुःखी, समस्यामा परेकाहरूप्रति सहपीडाबोध गराओस् । ‘वसुधैव कुटुम्वकम्’ को भावना सञ्चार गरेर सद्भाव र भाइचारालाई विश्वव्यापीकरण गर्न सकोस् । धर्मको यो मर्मलाई नबुझेसम्म न त हामी सुखी बन्न सक्छौं न त संसार शान्तिमय र सुखमय बन्न सक्दछ ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Achyutprasad poudel chintan
2023-06-23 9:31 am

dharma ka bare adhyatma chintan ko stambha hi ta ma sthapanakal dekhi suru gareko maile ho, katiwata lekhio hisab garieana ra haal ta dherai kam pani xa, mitra suryaji dost bhaekale negative commennt maile garina. paper le lekhaima samaj paribartan hunxa pani bhanna sakiena, tara yo tippani ma mero aadha bhanda badhi asahmati xa,

badriprasaddahal
badriprasaddahal
2023-06-23 5:48 pm

सान्दर्भिक लेख , धर्मलाइ कर्तव्यमा बुझ्नुपर्ने र प्रवृत्तिमा परिवर्तन अाउनुपर्ने । झारा तिर्ने कर्मकाण्ड भन्नुपर्ला कि ? वेदका तीन भागमध्ये ( ज्ञानकाण्ड, उपासनाकाण्ड र कर्मकाण्ड) कर्मकाण्ड पनि एक स्तम्भ त हाे नि हजुर ?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?