स्रष्टा दाहालको कविता-किस्ती ‘काला बादलमा उज्याला पाइला’ सँगै हिँड्दा

✍️ गीता अधिकारी

वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पत्रकारिता र राजनीतिक विश्लेषकका रूपमा जति अग्लो हुनुहुन्छ त्यतिकै उहाँको अर्को सगरमाथा रहेको छ साहित्यक व्यक्तित्व । एक दर्जनको हाराहारीमा कृति पाठकमाझ ल्याउनुभएका उहाँको पछिल्लो कृति ‘काला बादलमा उज्याला पाइला’ पाठकमाझ आएको छ । यसअघि स्रष्टा दाहालका ‘साँध’ (कवितासङ्ग्रह २०५९), ‘प्रक्षेपण’ (विचार निबन्धसङ्ग्रह २०६१), ‘शान्ता’ (उपन्यास प्रथम तथा द्वितीय संस्करण २०७०), ‘अन्धकारको यात्री’ (कवितासङ्ग्रह २०७३), ‘शिखरवृत्त’ (कथासङ्ग्रह २०७४), ‘मेरो पत्रकारिता’ (चारदशकको पत्रकारिता अनुभव २०७३ र दोस्रो संस्करण २०७५), ‘शान्ता’ (उपन्यास अंग्रेजी अनुवाद प्रथम संस्करण २०७५), मानव अधिकार : लोकतन्त्र शान्ति र अहिंसाको आधार’ (सहलेखन २०६५) र केही कवि केही कविता (संयुक्त कवितासङ्ग्रह २०४३) जस्ता कृति प्रकाशित छन् ।

पछिल्लो कृति कवितासङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ कविता–किस्तीलाई शिखा बुक्सले प्रकाशन गरेको हो भने ज्ञानज्योति बुक्स पब्लिकेसन वितरक रहेको छ । खड्गप्रसाद खनालको कम्प्युटर तथा साजसज्जा रहेको कृतिको कभरसहितका तस्वीरहरू अनिमेष दाहालको रहेको छ । एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रा.लि.मुद्रक रहेको १५८ पृष्ठको कृतिको मूल्य ३६० रुपैयाँ राखिएको छ । ‘मेरो यो सिर्जनाको यो कोसेली अर्कै भूगोलमा मुस्कुराइरहेको यौटा तारा नाति श्रीयमलाई’ भनेर समर्पित गरिएको यस कृतिमा प्रा.डा.कुमारप्रसाद कोइरालाको ‘पुरुषोत्तम दाहालका शक्तिशाली कविता’, कलानिधि दाहालका ‘शुभेच्छाका केही शब्द’ शीर्षकमा भूमिका समावेश गरिएको छ भने स्रष्टा दाहालले ‘आभारका केही शब्द’ शीर्षकमा आफ्ना भनाइ पस्किनुभएको छ ।

नेपाली राजनीति, पत्रकारिता र साहित्यको सगरमाथाका रूपमा रहनुभएका स्रष्टा दाहालको यस सङ्ग्रहमा उहाँले प्रायः अमेरिकामा बस्दाखेरि लेखिएका गद्य र पद्य कविता सङ्कलित छन् । नेपाली राजनीति मूल्यहीन राजमार्गमा ब्रेक भाँचिएको गाडी जस्तो रहेको बताउनुहुने उहाँ हाम्रो समाज र देशप्रति हरसमय चिन्तनशील देखिनुहुन्छ ।

कृतिमा स्रष्टा दाहालले ‘ऊ मुस्कुराउँदा’ शीर्षकबाट कृतिको दैलो उर्घानुभएका स्रष्टा दाहालले ‘घाँटी, घाँटीमा धान रोप्नेहरू’ बाट कृतिको मैजारो गनुभएको छ । कृतिमा ‘समुद्रको किनारबाट’, ‘रातो सधैँ सुन्दर कहाँ हुन्छ र ?’, ‘बगैँचाबाट नालीमा पुगेको फूल’, ‘शुभकामना र समवेदनामा व्यस्त हातहरू !’, ‘जुनेली रातको प्रतीक्षामा’, ‘मेरी कविता !’, ‘जेम्स् नदीको प्रश्न’, ‘प्रतिपला नयाँ लाग्छन्’, ‘किन फर्कने ?’, ‘लगनगाँठो’, ‘योग्यता अब के भयो ?’, ‘ननिदाई देखेको सपना’, ‘समय र सम्बन्ध’, ‘सप्तरङ्गी भ्रम’, ‘आजको नायक’, ‘डनडन डमरु धनधन भकारी’, ‘फरक रहर’, ‘भ्रमित संसार’, ‘कैवल्य प्राप्ति’ जस्ता शीषर्कमा विभिन्न परिवेश, घटनाक्रम, राजनीतिक व्यङ्ग्य, सामाजिक चेत, जागरण, आफ्ना अनुभूति र देश परदेशका कविता पाठकमाझ पस्किनुभएको छ ।

यस्तै, ‘मुर्दाहरू आफ्ना लाश आफैँ जलाऊ’, ‘बिहान ओम्नी, राति यति’, ‘मदारी नृत्यकलामा निपुण छौँ प्रभु !!’, रातो पर्खाल, कोरोना र संसार, ‘मेलै भोगेको कोरोना’, ‘कोरोनाको बन्दी’, ‘ऋतुचक्र’, ‘कालो हिमाल !’, ‘घाटको भरिया घट्टे’, ‘मान्छे’, ‘विचार बेच्नेहरू बढे’, ‘एउटा रुद्र यहाँ आऊ’, ‘नेता सधैँ मालिक’, ‘नदेखिएका आँखाहरू’, ‘पक्षपाती माली’, ‘यात्रा जारी छ’, ‘दृष्टि र सपना’, ‘बुढो गोरु’, ‘खोरभित्रका बाँदरहरू’ र घाँटी, घाँटीमा धान रोप्नेहरू’ शीषर्कमा उहाँले विसङ्गतिपूर्ण राजनीति, हाम्रो समाजमा रहेका नातावाद, कृपावाद, चाकरीका साथै हामीमा रहेका विभिन्न प्रवृति, समय र परिवेशका साथै जीवन जगतका साथै पर्यावरणीय कविता पस्किनुभएको छ ।

यस्तै राजनीतिक विकृतिको कुरूप यथार्थलाई उहाँले प्रतीकात्मक र व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । सङ्ग्रहमा सङ्गृहीत प्रायः कविता विचारप्रधान छन् । यसमा उहाँले दर्शन, चिन्तन र विचारलाई प्रमुख कथ्य बनाएर आफ्ना भावना पस्किनुभएको छ । नेपाली राजनीति, पत्रकारिता र साहित्यको सगरमाथाका रूपमा रहनुभएका स्रष्टा दाहालको यस सङ्ग्रहमा उहाँले प्रायः अमेरिकामा बस्दाखेरि लेखिएका गद्य र पद्य कविता सङ्कलित छन् । नेपाली राजनीति मूल्यहीन राजमार्गमा ब्रेक भाँचिएको गाडी जस्तो रहेको बताउनुहुने उहाँ हाम्रो समाज र देशप्रति हरसमय चिन्तनशील देखिनुहुन्छ ।

अन्ध्याहङ्कारको तृष्णा व्यर्थ साँचेर हिँड्दछौँ
बलेको भ्रमको झिल्को आफैँ सम्पूर्ण मान्दछौँ ।
शान्त स्रष्टा निराकार अन्त्र्भूत समग्र छ
कैवल्य प्राप्तिको ज्योति झिल्को मै मिल्नुपर्दछ ।।
...................
म कहिल्यै
परतन्त्र नभएको
माटोको मान्छे
किन यसरी टोलाइरहेको छु
र भनिरहेको छु ः
कतै जञ्जीर चुडाल्नु
नपरेकै कारण सधैँ
जञ्जीरमै सुरक्षित
मानिरहेको हुँ कि के हो ?
मेरो बाबा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएर कार्य गर्दै आउनुभएको छ । कांग्रेसको एउटा इमानदार सिपाहीका रूपमा उहाँविना कुनै स्वार्थ अनवरत रूपमा घटिने गर्नुहुन्छ । उहाँको राजनीतिमा निःस्वार्थ पूर्णरूपले समर्पणले घरयासी कार्यमा विभिन्न समस्या आएपनि उहाँले आफ्नो आस्था र विश्वासलाई डगमागाउन दिनुभएको छैन । मेरो बाबा रेडियो नेपालबाट आउने कुनै समयको चर्चित कार्यक्रम ‘घटना र विचार’ को निकै प्रशंसक हुनुहुन्थ्यो । म सानो छँदा मेरो बुबाले नियमित सुन्ने गरेको उक्त कार्यक्रमसँग ममा पनि आफ्नै खालको छाप परेको थियो । म र मेरो बाबा जस्तै धेरैको मन मष्तिस्कमा बस्न सफल हुनुभएका आदरणीय व्यक्तित्व पुरु दाजुका आगामी दिनमा अझ धेरै नुतन कृतिको रसस्वादन गर्न पाइराखौँ यही गीताकामना । तमसोमा ज्योर्तिगमय !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?