बेलायतमा नर्स पठाउने कार्ययोजना पारित

प्रतिकात्मक तस्बिर

Read Time = 4 mins

काठमाडौं । नेपाल र बेलायतबीच नेपाली नर्सलगायत स्वास्थ्यकर्मी जनशक्ति बेलायत लैजाने विषयमा श्रम सम्झौता भएको १० महिनापछि मन्त्रिपरिषद्ले नेपाल-बेलायत द्विपक्षीय समझदारीको कार्ययोजना स्वीकार गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बेलायत कामदार पठाउने द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना स्वीकृत गरेसँगै नेपाली नर्स बेलायत रोजगारीमा जाने बाटो खुलेको छ ।

बेलायतमा नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउनेसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारले हस्ताक्षर गरिसकेको छ । रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) परीक्षामा सहभागी हुनुपर्छ । श्रम सम्झौताअनुसार नेपालबाट नर्समात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बिएन, फार्मेसिस्टलगायत स्वास्थ्य क्षेत्रको रोजगारीमा कामदार पठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । साढे दुर्ई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्स आइइएलटिएस परीक्षामा सहभागी हुन पाउने गरी गत वर्ष नै श्रम सम्झौता भएको हो । सोहीअनुसार आइइएलटिएस परीक्षा गराउने तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।

सरकारले आवश्यक विषयमा रोजगारदाता देश बेलायतसँग छलफल गरिरहेको र साउनमा आइइएलटिएसको परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणमा कम्तीमा एक हजार नर्स बेलायत रोजगारीमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आइइएलटिएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आइइएलटिएसमा छ अंक ल्याउनुपर्ने शर्त छन् ।

श्रम मन्त्रालयका अनुसार बेलायती नागरिकले पाउने सेवा-सुविधा र विदेशी नागरिकले पाउने सेवा-सुविधा एकै खालको छ । आइइएलटिएस जस्ता भाषा सिक्न र बेलायत जान लाग्ने प्लेन टिकटसमेत बेलायत सरकारले बेहोर्नेछ । बेलायत गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउण्ड स्ट्रर्लिङसम्म कमाउन सक्नेछन् । हालको सटहीदरअनुसार वार्षिकरूपमा ६० लाख १२ हजार रुपैयाँ हुनेछ । बेलायतमा नर्ससँगै नेपालीहरू मौसमी रोजगारीका लागि जाने गरेका छन् । बेलायतमा पछिल्लो समयमा नेपाली नर्स व्यक्तिगत भिसामा रोजगारीका लागि गइरहेका छन् । हाल बेलायतमा १० हजारभन्दा बढी नेपालीहरू कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?