दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका कानूनमन्त्री सिंह दम्पतीको ४ दिनपछि आज सामूहिक अन्त्येष्टि गरियो

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । जीप दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टि गरिएको छ ।

बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पत्तीको पार्थिव शरिरलाई शनिबार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली अर्पणपछि दिउँसो सेती नदीस्थित धौलाबगर मसानघाट डुंग्रीमा नेपाल प्रहरीले सलामी दिँदै अन्त्येष्टि गरिएको हो ।

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि (शनिबार) आज अन्त्येष्टि गरिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्कजंगबहादुर सिंहले बताउनु भयो । अन्त्येष्टिमा तथा श्रद्धाञ्जली अर्पण गर्न सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री सहित विभिन्न उच्चपदस्त व्यक्ति लगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो । डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो ।

मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

उहाँलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिहको शव मंगलबार राति नै धनगढी ल्याएर बुधबार धनगढी रंगशालामा श्रद्धान्जली अर्पण पश्चात हेलिकप्टर मार्फत् गृहजिल्ला बझाङ ल्याइएको थियो ।

मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको थप उपचारका लागि कोहलपुरबाट काठमाडौं लगिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?