पूर्वराजाको चासो र राजनीतिक सक्रियता

हिमालय टाइम्स
Read Time = 6 mins

नेपालबाट राजतन्त्र हट्नुका विविध कारण हुनसक्लान् । देखिनेमा केही छन् भने भित्री अनेकौं कारण छन् भन्ने गरिएको छ । राजनीति हो, अनेकौं भित्री कारण नहुने कुरै छैन, तर तिनको जानकारी र आकलन अनेकौं हुन्छन् । यसमा अन्तर्राष्ट्रिय कारण छन् भनिन्छ तर त्यसको कार्यान्वयनको कारण भने नेपालीहरू नै भएका छन् । उनीहरूकै निर्देशन र इसारा पाएर नेपाली राजनीतिक शक्तिहरू नै त्यसका लागि माध्यम बन्ने गरेका छन् । राजा नेपालको अग्रगतिका लागि बाधक थिए कि थिएनन् ? राजतन्त्र आवश्यक थियो कि थिएन ? त्यसमा चर्चा अहिले पनि भइरहेको छ । निष्कर्ष आ-आफ्नो ढंगले निकाल्न सकिन्छ, कुन निष्कर्ष चाहिँ सर्वमान्य हो भन्ने फेरि विवादकै विषय बन्न सक्छ ।

तर, जे होस् नेपालमा हाल राजतन्त्र छैन र नेपाल गणतन्त्र भएको डेढ दशक भइसकेको छ । राजतन्त्र हटाएर गणतन्त्र स्थापित भएकाले देशले विकासमा फड्को मार्‍यो भन्ने होइन र राजतन्त्र हटाएर निकै ठूलो गल्ती गरिएछ भन्ने जस्तो पनि देखिएको छैन । किनभने राजतन्त्र छँदा र हाल राजतन्त्र नहुँदाको विकासको गति त्यही रफ्तारमा छ । कुनै चमत्कारिक काम हिजो पनि भएका थिएनन् र आज पनि भइरहेका छैनन् । तत्कालीन राजा र युवराजको अलोकप्रियताका कारण बेबी किङ्गको प्रस्ताव पनि त्यसबेला अगाडि सारिएको थियो ।

त्यसमा पनि दलहरूको सकारात्मक दृष्टिकोण बन्न सकेन । देश गणतन्त्रतर्फ अग्रसर भयो । पूर्वराजा ज्ञानेन्द्र हालसम्म पर्ख र हेरको स्थितिमा रहनुभयो । राजनीतिक क्रियाकलापमा त्यति संलग्न हुनुभएन, धार्मिक कार्यमा भने बेलामौकामा सहभागिता जनाउँदै आउनुभएको थियो भने हालका दिनमा राजनीतिक क्रियाकलापमा पनि उहाँको बाक्लै उपस्थिति देखिन थालेको छ । झापाका व्यवसायी दुर्गा प्रसाईंले सुरु गर्नुभएको अभियानको पूर्वराजाबाटै उद्घाटन भएको थियो । पूर्वयुवराज्ञी हिमानी शाहले पनि सामाजिक कार्यहरूमा आफूलाई संलग्न गराउँदै आउनुभएको थियो ।

सामाजिक र धार्मिक कार्यहरूमा संलग्न हुँदै आएको पूर्वराजपरिवार हालका दिनमा भने राजनीतिक गतिविधिमा सहभागी बन्न थालेको छ । हालैमात्र पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन भएको छ । सो समारोहमा सम्बोधन गर्दै उहाँले दलीय खिचातानीले जनतामा वितृष्णता पैदा भएको धारणा व्यक्त गर्नु भएको छ । उहाँको यो भनाइले उहाँ दलहरूप्रति बढी नै आक्रामक भएको आभाष हुन्छ । नेपाली जनताले राजनीतिक शक्तिहरूको विकल्पको खोजिगरिरहेका छन् । हालै सम्पन्न आमनिर्वाचनबाट दलहरूको विकल्प दलमै खोजेको होकि जस्तो जनमतबाट देखिन आएको छ ।

पुराना दलहरूको विकल्पका रूपमा नयाँ दलहरूलाई अघि सारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी एकाएक राष्ट्रको एउटा शक्ति भएर उदाउनुको कारण यही हो । पूर्वराजाले सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको धारणा राख्नुभएको छ । यो भनाइमा अन्तर्निहित भावना मनन् योग्य छ । सामाजिक संरचनाका प्रश्न उठाएर राजनीतिक भन्दा सामाजिक कारणलाई अगाडि बढाएर जनताको संवेदनाका माध्यमबाट सहानुभूति प्राप्त गर्ने प्रयास भएको छ । समाज र सामाजिक संरचना च्यात्ने प्रयास भएको आक्षेप लगाइएको भए पनि प्रकारान्तरमा त्यस्ता कार्य भने राजनीतिक दलहरूबाटै भएको देखाइएको हुँदा दलीय प्रणाली दोषी भएको देखाउन खोजिएको छ ।

यस भनाइमा पूर्वराजाको कुण्ठा निहित भएको होला तर कुण्ठालाई मात्रै दोष दिएर दलहरू आत्मरतिमा भने रमाउनु हुँदैन । यो दलहरू र गणतान्त्रिक प्रणालीप्रतिको गहन आलोचना हो । पूर्वराजाको समर्थनमा पनि जनताको निकै ठूलो संख्या छ । भोलिका दिनमा दलीय नेताहरूप्रतिको वितृष्णा क्रमशः चुलिँदै गयो भने त्यो सहानुभूति बटुल्ने, यस्तै राजा, राजतन्त्र र त्यही प्रकारको फरक शक्तिले हो । यदि त्यसो भयो र कुनै बाहृय शक्तिको इसारा पनि त्यतातिर भयो भने पुनः अप्ठ्यारो पर्ने भनेकै वर्तमान ठूला दलहरूलाई हो । त्यसैले दलहरूले सतर्कता अपनाउनु भने आवश्यकमात्रै होइन जरुरी नै छ । यसका लागि अलोचना नहुने गरी काम गर्न दलहरूले सक्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?