देशभर फैलियो मनसुन, वर्षा हुन थालेसँगै बाढीपहिरो जोखिम

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । मनसुनी प्रणाली देशभर फैलिएसँगै देशभर पानी पर्न थालेको छ । १० दिनअघि पूर्वी नेपालबाट भित्रिएको मनसुनी प्रणाली देशभर फैलिएको छ । मनसुन फैलिएसँगै देशका पश्चिमी भागमा समेत वर्षा हुनथालेको छ । शनिबार देशका पश्चिमी भू-भागमा समेत वर्षा भएको छ । लामो समयपछि वर्षा भएसँगै गर्मीबाट राहत मिलेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ३१ जेठदेखि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी प्रणाली देशभर शुक्रबारदेखि देशभर फैलिएको हो । कोशी, मधेसको पूर्वी भाग, बागमतीको अधिकांश स्थान र गण्डकी प्रदेशमा प्रवेश गरेको मनसुन नौ दिनपछि शुक्रबार देशभर फैलिएको हो । हाल नेपालमा मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ ।

अब विस्तारै पश्चिम नेपालमा पानी पर्दै जाने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (आइतबार) बागमती, गण्डकी, लुम्बिनसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत वर्षा हुने सम्भावना छ । यी प्रदेशका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । वर्षा हुनेक्रम अझै केही दिन जारी हरने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना छैन । लगातार वर्षा नभए पनि मौसम बदली भइराख्ने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बाढी, पहिरो र डुबानकोे जोखिम हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाढीपहिरोले सिन्धुलीमा ३१ घरमा क्षति
वर्षासँगै आएको लेदोसहितको बाढीले सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ का चारगाउँका ३१ घरमा क्षति पुर्‍याएको छ । शनिबार वर्षासँगै आएको बाढीले ३१ घरमा क्षति पुर्‍याएको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले स्थानीयका पशुचौपायासमेत बगाएको छ । बितिजोरका कखुरेटार, तीनमाने, कटहरे, भालुखोलाका स्थानीय सबैको घरमा क्षति पुगेको उहाँले बताउनुभयो । बाढीले रोपाइँका लागि राखेको धानको ब्याड पुरिदिएको छ । धानको ब्याड पुरिदिँदा स्थानीय किसान मार्कामा परेका छन् ।

टापुमा फसेकाहरूको सकुसल उद्धार
रौतहटको राजदेवी नगरपालिका-३ स्थित बागमती नदीमा आएको बाढीका कारण टापुमा फसेकाहरूलाई सकुशल उद्धार गरिएको छ । शुक्रबार साँझदेखि बाढीमा फसेका चण्डिया गाउँका तीन महिलासहित पाँचजनालाई शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरेको हो । उनीहरू बागमतीपारि खेत हेर्न र पशु लिएर गएका थिए । बागमतीको भेल बढ्न थालेपछि उनीहरू टापुमा बसेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार समयमा उद्धार नगरेको भए उनीहरूको ज्यानमाथि नै जोखिम हुन्थ्यो । चण्डिया गाउँका धेरैजसोको बागमती नदीपारि अहिले पनि खेत छ ।

पूर्वी नेपालका बाढीपहिरो प्रभावितलाई चीनले सहयोग गर्ने
पूर्वी नेपालमा बाढीपहिरो प्रभावितलाई चीनले सहयोग गर्ने भएको छ । पूर्वी नेपालका बाढीपहिरो पीीडतलाई ४० लाख नगद र एक करोड बराबरका राहत सामग्री सहयोग गर्ने सिचनियाँ राजदूत छन सोङले घोषणा गर्नुभएको छ । पोखरामा शनिबार ड्रागन बोट रेस फेष्टिभलको समापनमा उहाँले सहयोगको घोषणा गर्नुभएको हो । ‘नेपाल सरकारको ध्यान पूर्वी नेपालमा छ । चीन र नेपाल पनि नदी र हिमालबाट एक आपसमा जोडिएको छन्,’ उहाँले भन्नुभयो, ‘यो दुःखको घडीमा सहयोग गर्नु हाम्रो पनि दायित्वभित्र पर्छ ।’ उहाँले बोट रेसको आयोजकको रूपमा नगद र चीन-दक्षिण एसिया आपत्कालीन् आपूर्ति भण्डारबाट राहत तथा उद्दार सामग्री सहयोग गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?