भुटानी शरणार्थीको नाममा भएको घोटाला मुद्दा अब अन्तर्राष्ट्रियकरण भइसकेकाले सरकारले यसलाई एउटा टुंगोमा पुर्याएर आफू स्वच्छ छविको भएको देखाउने चुनौती छ । विदेशी मिडियाहरूले यसलाई प्रमुखता दिएर प्रसारण गरिरहेकाले यसले नेपालको हुनुसम्मको बेइज्जत गराएको छ । अमेरिकाले यसमा चासो देखाएको छ । हुन त तीन प्रमुख दलका शीर्ष नेताहरूले भ्रष्टाचारीहरू जो भए तापनि नछोड्ने भनिरहेका छन् तर भित्रभित्रै आफ्ना मान्छेलाई जोगाउन षड्यन्त्र पनि गरिरहेका छन् । नत्र भने कुकुर-बिराला जस्ता शीर्ष नेताहरूको भरत मिलन देख्ने सौभाग्य नेपाली जनतालाई हुने थिएन ।
देउवापत्नी आरजुको नाम पनि मुख्य अभियुक्तको रूपमा बाहिर आइरहेकाले उनलाई जोगाउन पनि मध्यम श्रेणीका नेताहरूलाई जोगाउने बाध्यता शीर्ष नेताहरूमा छ । फस्ने केही कर्मचारी र केही बिचौलिया मात्र हुनेछन् । हुन त कांग्रेसले आफ्नो नेता जो देउवाकै प्रियपात्र छन् उनलाई ओलीले जस्तै लुकाउने काम गरेनन् । विगत हेर्दा पनि कांग्रेसले आफ्ना अभियुक्त नेताहरूलाई लुकाउने काम गरेको इतिहास छैन । बरू संस्थापन पक्षका विरोधीलाई जेल पठाउन मद्दत नै गरेको छ । धमिजा काण्डदेखि अहिलेसम्म जति भ्रष्टाचार भएका छन् त्यसको कुनै कारबाही भएको छैन । अख्तियारको दराजको कुनै कुनामा ती मुद्दाको फाइलहरू मस्त निद्रामा लीन छन् । अख्तियार ठूला माछालाई फुत्कन दिने साना माछालाई निल्न गर्छ । त्यसैले यो मुद्दामा ठूला, मझौला माछाहरू नउम्केला भन्ने छैन । प्रहरीले अहिलेसम्म आरोपित व्यक्ति आरजू देउवालाई समातेको छै्रन, न त मञ्जु खाँडलाई । सुजाताको माध्यमबाट भएको भ्रष्टाचारको मुद्दामा उनी न कहिल्यै समातिइन् न उनका विरुद्ध मुद्दा नै चल्यो ।
अहिले सुजाताको ठाउँमा आरजु छिन् । सुजाताले आफ्ना पिताको अधिकारको दुरुपयोग गरेकी थिइन् भने आरजुले आफ्ना पतिको । शीर्ष नेताहरूले जतिसुकै चर्को स्वरमा बयानबाजी गरे तापनि ठूला माछा समातिने छैनन्, नारायणकाजीको तदारुकता स्टण्टबाजीभन्दा बढी केही होइन भन्ने भोलिका दिनमा प्रमाणित हुनेछ । प्रधानमन्त्री दाहालले भ्रष्टाचारीलाई नछोड्ने र ओलीले भ्रष्टाचारीको मुख नहेर्ने भने तापनि के उनीहरूमा आफूहरूविरुद्ध अख्तियारमा परेको उजुरीविरुद्ध स्वतन्त्र तथा निष्पक्ष छानविन गर्न स्वच्छ र निष्पक्ष छानविन आयोग गठन गरेर आफ्नो नैतिकताको जाँच गर्न सक्छन् ? भ्रष्टाचरको प्रमाणको रूपमा रहेको कागज बालकृष्ण खाँडले प्रहरीबाट खोसेर चबाएर निल्दा पनि सरकार यस सम्बन्धमा मौन रहनु ठूला र मझौला अपराधीहरूलाई संरक्षण दिन खोज्नु हो ।
धमिजा काण्डदेखि अहिलेसम्म जति भ्रष्टाचार भएका छन् त्यसको कुनै कारबाही भएको छैन । अख्तियारको दराजको कुनै कुनामा ती मुद्दाका फाइलहरू रहिरहेका छन् । अख्तियार ठूला माछालाई फुत्कन दिने साना माछालाई निल्ने गर्छ । त्यसैले यो मुद्दामा ठूला, मझौला माछाहरू नउम्केला भन्ने छैन ।
माथिल्लो कर्णालीको रिट खारेज गरी इण्डियन कम्पनीको हित अनुकूल निर्णय गरेबापत ओलीको सिफारिशमा पुष्पकमल र देउवाको सहमतिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई उनको भारतभक्तिका लागि पुरस्कृत गरेका छन् भने माथिल्लो कर्णालीको रिटमा सरकारका तर्फबाट इण्डियन जिएमआर कम्पनीको पक्षमा खरो बहस गरेका कामु नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई बढुवा गरेर थप राष्ट्रघात गर्न प्रोत्साहन गरेका छन् । यसरी नै सर्वोच्चको सेटिङमा ठूला माछालाई उम्काउने छन् ।
अनि यिनीहरू नैतिकताको कुरा गर्छन् ? धरानको साढे तीन सय बिघा जग्गा व्यक्तिको नाममा गराउने तत्कालीन महान्यायाधिवक्तालाई अहिले प्रधानन्यायाधीश बनाएका छन् । अनि यिनीहरू भ्रष्टाचारीहरूलाई कार्बाही गर्ने स्याल हुँइयया गर्छन् । हिम्मत छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले धेरै होइन केवल क्यान्टोन्मेन्ट र लडाकुहरूको नाममा प्रचण्डले गरेको भ्रष्टाचारको आफ्नो पदबाट राजीनामा दिएर निष्पक्ष रूपमा छानविन गरेर देखाऊन् अनि बल्ल उनको भनाइलाई शिरोपर गर्न सकिन्छ । एउटा भ्रष्टाचारको मुद्दा फैसला हुन पाएको हुँदैन यहाँ अर्को भ्रष्टाचारको मुद्दा अगाडि आउँछ, जसमा पटक-पटक आरजु देउवाकै नाम आउने गरेको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको स्टक एक्स्जेञ्जलाई कमजोर बनाई नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स वितरण गर्ने क्रममा आरजु देउवा र प्रधानमन्त्रीपुत्री गंगा दाहालसँग सेटिङ मिलाएर बिचौलिया दीपक भट्टले लाइसेन्स लिन लागेको समाचार बाहिर आएको छ । अर्थशास्त्रीहरूले यसबाट सरकारलाई २० अर्ब नोक्सान हुने प्रक्षेपण गरेका छन् । के पुष्पकमलमा आरजु र गंगालाई कारबाही गर्ने हिम्मत र नैतिकता छ ? छैन भने भ्रम छर्न मिथ्या प्रलाप नगरौं । मिथ्या वचनले एकदिन अनिष्ट नै गर्नेछ ।
भन्नु र गर्नुमा अन्तर हुन्छ र घमण्ड र मिथ्या वचनले एक दिन एउटा व्यक्तिलाई मात्र होइन उसको कुललाई पनि समाप्त पार्छ । गौतम बुद्धको कुल शाक्य वंशीहरूलाई उनीहरू मनुष्यहरूमा सबैभन्दा उपल्लो श्रेणीको हौं भन्ने घमण्ड जागिसकेको थियो । उनीहरू आफूहरूलाई महासम्मत (मनु)को वंशज मान्दथे र गौतम बुद्धले जब उपदेश दिन सुरु गरे तब ठूलठूला राजा महाराजाहरू पनि उनको सम्पर्कमा आएर उनको शिष्य बनिरहेका थिए । बुद्ध शाक्य कुलमा जन्मेकाले शाक्यहरूमा झन घमण्ड बढ्यो कि उनीहरू मनुष्यहरूमा सर्वश्रेष्ठ छन् ।
बुद्धको समयमा कौशलमा प्रसेनजीत नामक राजा राज्य गर्दथे जो बुद्धका अनन्य अनुयायी पनि थिए । एक दिन प्रसेनजीतले सोचे कि यदि मैले शाक्य कुलमा विवाह गरेँ भने बुद्धसँग मेरो सान्निध्य झन् गहिरो हुनेछ र उनी मेरा नातेदार पनि बन्नेछन् जो मेरा लागि गौरवको कुरा हुनेछ । यही सोचेर प्रसेनजीतले आफ्नो विवाहको सन्देश आफ्नो दूत×द्वारा कपिलवस्तुका शाक्यहरू कहाँ पठाए । जब शाक्यहरूले प्रसेनजीतले आफ्नो विवाहको सन्देश पठाएको थाहा पाए तब उनीहरूले आपसमा मन्त्रणा गर्न थाले । त्यहाँ केही बुजु्रक शाक्यहरूले भने, हामी कोशलराजको कुलभन्दा श्रेष्ठ छौं, त्यसैले हामी प्रसेनजीतसँग कुनै शाक्य कन्याको विवाह गरी दिँदैनौँ ।
तर प्रसेनजीत एउटा शक्तिशाली राजा थिए । त्यसैले शाक्यहरूले सोझै छोरी दिँदैनौं भन्न सकेनन् । त्यसपछि उनीहरूले एउटा योजना बनाए । एकजना शाक्य जसले आफ्नो दासीसँग अवैध सम्बन्ध राखेका थिए, तिनै दासीबाट जन्मेकी कन्यालाई शाक्य कुलकी कन्या भनेर ढाँटेर प्रसेनजीतसँग दासीकन्याको विवाह गरिदिए । राजा प्रसेनजीत यो झुटबाट अनभिज्ञ थिए । उनले दासी कन्यालाई नै शाक्य कन्या भनेर स्वीकार गरे र बुद्धको कुलको भनेर दासी कन्यालाई आफ्नी महारानी बनाए । समय बित्दै गयो । दासी कन्याबाट प्रसेनजीतलाई एउटा पुत्र पप्त भयो विडूडभ ।
विडूडभ जब अलि ठूलो भए उनले आमासँग मावल जाने इच्छा जाहेर गरे तर उनकी आमाले मावल धेरै टाढा छ अहिले जान सकिँदैन भनेर पन्छाइन । तर, जब विडूडभ १६ वर्षका भए तब उनले फेरि आमासँग मावल जाने जिद्दी गरे । आमाले नाना प्रकारका बहाना बनाइन् तर यस पटक विडूडभ बहाना मान्न तयार भएनन् र अन्ततः आफ्नो मावली कपिलवस्तु आइपुगे । मावल आउँदा विडूडभको न त राजकीय स्वागत नै भयो न त बस्नका लागि उचित व्यवस्था । यस विपरीत विडूडभ जुन आसनमा आएर बस्थे, दासी आएर त्यसलाई पखाल्ने गर्थिन् । विडूडभ जुन ओछ्यानमा सुत्थे दासी आएर त्यसलाई सफा गर्ने गर्थिन् । यो व्यवहार विडूडभलाई अचम्म लाग्यो ।
एकदिन विडूडभको अंगरक्षकले ती दासी थाहा छैन यो दासीपुत्रको छोरा यहाँबाट कहिले जानेछ । यो जहाँ बस्छ मैले त्यहाँ सफा गर्नुपर्छ र यसको कारणले मेरो काम बढेको छ भनेर बर्बराइरहेको सुने । अंगरक्षक आएर सबै कुरा विडूडभलाई बताए । विडूडभलाई सबै सत्य थाहा भयो । विडूडभले बुझे कि उनका पितासँग शाक्यहरूले छल गरे र एउटी दासीपुत्रीसँग पिताको विवाह गरिदिए । विडूडभ रिसले अग्नि शर्मा भए र कोशल फर्के । कालान्तरमा विडूडभ कोशलको राजा बनेपछि शाक्यहरूबाट भएको आफ्नो अपमान र आफ्ना पितासँग भएको छलको प्रतिशोध लिने प्रण गरे । विडूडभ विशाल सेना लिएर शाक्यहरूमाथि आक्रमण गर्न निस्के ।
दुष्टलाई दण्ड दिनु, सज्जनलाई सम्मान गर्नु, न्यायपूर्ण तरिकाले राजस्वको वृद्धि गर्नु, नागरिकलाई पक्षपात नगर्नु, राष्ट्रको रक्षा गर्नु, यी पाँच कर्तव्य नै राष्ट्रको शासकको मूल धर्म हो । के हाम्रा शासक वर्ग को-को अत्रि ऋषिले भने झैँ शासक बन्न सके ?
यो समाचार जब बुद्धले थाहा पाए, हतार हतार उनी विडूडभ समक्ष पुगे । उनले विडूडभलाई मार्गमै रोके । बुद्धले उनलाई आफ्नो गुरु परम्परा र शिक्षा दीक्षाको प्रभाव देखाएर सम्झाई बुझाई उनलाई मार्गबाटै राजधानी फिर्ता पठाए । तर, शाक्यमाथिको उनको क्रोध शान्त भएन । केही दिनपछि पनि उनको रिस शान्त नभएपछि उनी सेना लिएर शाक्यहरूमाथि आक्रमण गर्न निस्के । फेरि शिष्यहरूले बुद्धलाई जानकारी दिँदै तपाईंका शिष्य नै तपाईंको कुलको सर्वनाश गर्न निस्केका छन् भने । फेरि बुद्ध भाग्दै भाग्दै विडूडभ समक्ष पुगेर उनलाई सम्झाई बुझाई गर्दा पनि विडूडभले मानेनन् । अन्त्यमा बुद्धले भने यदि तिमीले शाक्यहरूलाई मार्नु नै छ भने ममाथिबाट सेना लिएर जाऊ, किनकि म पनि एउटा शाक्य हुँ ।
बुद्धले यसो भनेपछि फेरि पनि विडूडभ सेना लिएर राजधानी फर्के । यसरी तीन पटकसम्म बुद्ध विडूडभको सेना र कपिलवस्तुको बीचमा उँभिएपछि विडूडभ राजधानी फर्कन बाध्य भए । तर, चौथो पटक विडूडभले जसरी भए पनि शाक्यहरूलाई मार्नै पर्छ भन्ने निर्णय गरे । यस पालि उनले यदि बुद्धबीच बचाव गर्न आउनुभयो भने सबैभन्दा पहिला बुद्धलाई नै मार्नेछु भनेर निर्णय गरे । यो समाचार बुद्धका शिष्यले उनलाई सुनाए । यस्तो सुनेर बुद्ध डराए, उनी विडूडभलाई रोक्न गएनन् । विडूडभले शाक्यहरूमाथि आक्रमण गरेर तहसनहस पार्दे शाक्यहरूलाई मारे ।
नेपालमा जसरी भ्रष्टाचार तथा राष्ट्रघातले द्वितीयाको जून झैँ बढ्दै गएर ठूलो आकार लिएको छ एकदिन सनातन धर्मविरोधी मसिहाहरूको सर्वनाश निम्त्याउने पक्का छ । यी भ्रष्ट राष्ट्रघातीहरूले राष्ट्रको शासकवर्गको मूल धर्म के हो अध्ययन गरेका छैनन्, त्यसैले पापको दुर्गन्धित खाडलमा रमाइरहेका छन् । अत्रि ऋषिले अत्रि संहितामा भनेका छन् दुष्टस्य दण्डः सुजनस्य पूजाः ।
न्यायेन कोषस्य हि वर्धन च ।।
अपक्षपात : निजराष्ट्ररक्षा ।
पञ्चैव धर्माः कथिताः नृपाणम् ।।
दुष्टलाई दण्ड दिनु, सज्जनलाई सम्मान गर्नु, न्यायपूर्ण तरिकाले राजस्वको वृद्धि गर्नु, नागरिकलाई पक्षपात नगर्नु, राष्ट्रको रक्षा गर्नु, यी पाँच कर्तव्य नै राष्ट्रको शासकको मूल धर्म हो । के हाम्रा शासक वर्ग को को अत्रि ऋषिले भने झैँ शासक बन्न सके ? वा असुर राज्यको स्थापना गरेर जनता तथा राष्ट्रलाई त्राहिमाम त्राहिमाम भन्न बाध्य पारेका छन् । देश तथा जनतालाई त्राहिमाम त्राहिमाम भन्न बाध्य पार्ने शासक वर्ग तथा शासनतन्त्रको विनास शीघ्रताशीघ्र जरुरी छ जसरी विडूडभले शाक्यकुलको नाश गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच