आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ : मन्त्री ज्वाला

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न हुने बताउनु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

मन्त्री ज्वालाले सो दूू्रतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्व बजेट व्यवस्था गरिएको पनि बताउनु भयो । उहाँले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टिकरण समेत दिनु भयो । मन्त्री ज्वालाले सो द्रूतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसदलाई जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधार मन्त्रालयको बजेटको बाँडफाँड असन्तुलित भएको सम्बन्धमा पनि केही जिज्ञासाहरु उठेका छन । हाम्रो मन्त्रालयको बजेट सिलिङ चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व घटाइएकाले बजेट बनाउन र सन्तुलन कायम गर्न निकै कठिनाई भएको यथार्थताबारे माननीयज्यूहरु जानकार हुनुहुन्छ । समय र बजेट कटौतिको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा दुःख लागेको छ । सकेसम्म सन्तुलन कायम गर्न खोजिएको अनुरोध गर्न चाहन्छु । नेपाल सरकारको निर्णय अनुसार काठमाडांै–निजगढ दू्रतमार्गको निर्माण कार्य नेपाली सेनाद्धारा दू्रतगतिमा अघि बढिरहेको छ । अवको निर्धारित समयमा निर्माण कार्य सक्नका लागि आगामी आर्थिक वर्षमा २२ अर्व बजेट विनियोजन पनि गरिएको छ । २०८३ साल भित्र निर्माण कार्य सम्पन्न गरी यातायात संचालन गरिने कुरा यो सदनलाई म जानकारी गराउन चाहन्छु ।’

मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?