रेसुङ्गा नगरपालिकाको ७१ करोड भन्दा बढीको बजेट

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले ७१ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ७१ करोड ८८ लाख ७८ हजार ७६० रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

असार पाँच गतेदेखि सुरुभएको रेसुङ्गा नगरपालिकाको १३ औं नगरसभाको पहिलो बैठकमा २३८ बुँदामा जनप्रिय नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएका नगरप्रमुख पन्थीले आईतबार भएको नगरसभाको दोस्रो बैठकमा आगामी सआर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको थियो ।

“समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान” भन्ने नारालाई साकार पार्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति तथा खेलकुद लगायतका क्षेत्रलाई बजेटमा प्राथमिकतामा राखिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

प्रस्तुत बजेटमा चालु एवम् साधारण खर्चतर्फ ५४ करोड ६८ लाख ६६ हजार ७६० रुपियाँ र पूँजीगत एवम् विकास बजेटतर्फ १७ करोड २० लाख १२ हजार रुपियाँ उल्लेख छ । नगरप्रमुख पन्थीले आर्थिक विकासतर्फ एक करोड १९ लाख, सामाजिक विकासतर्फ ४० करोड ८५ लाख ७१ हजार ७६०, पूर्वाधार विकासतर्फ १५ करोड ९९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत तथा प्रशासनिकतर्फ १२ करोड ४५ लाख सात हजार बजेट प्रस्तुत गर्नुभएको हो ।

जसअन्तर्गत कृषि र पशुपंक्षीतर्फ ९३ लाख रुपियाँ, सहकारी उद्योग तथा वाणिज्य क्षेत्रको विकासका लागि १७ लाख रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्षलाई रेसुङ्गा भ्रमण वर्षको रुपमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले पर्यटन क्षेत्रमा टेवा पुर्याउनका लागि १३ लाख रुपियाँ बजेट प्रस्तुत गर्नुभयो ।

नगर क्षेत्र भित्रको शिक्षा क्षेत्रको पूर्वाधार विकास, प्राविधिक शिक्षाको विकास र विस्तार, विद्यालय क्षेत्र सुधार, शिक्षामा गुणस्तर प्रवद्र्धन गर्न सशर्त अनुदान २० करोड ६८ लाख र निशर्त अनुदानतर्फ एक करोड ६५ लाख बजेट प्रस्तुत गर्नुभयो ।

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य चौकीहरुको व्यवस्थापन सुधार, तम्घास अस्पतालको व्यवस्थापन लगायत स्वास्थ्य क्षेत्रको विकासका लागि तीन करोड ५६ लाख ८४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको थियो ।

खानेपानी तथा सरसफाई सम्बन्धि कार्यक्रम सञ्चालका लागि एक करोड रुपियाँ प्रस्तुत गर्नुभएको छ । सामाजिक समावेशीकरण संस्कृति प्रवद्र्धन र खेलकुद तथा मनोरञ्जन क्षेत्रको प्रवद्र्धनका लागि ५२ लाख रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ ।

नगरपालिका भित्रका सम्पूर्ण स्थानीय भौतिक निर्माणका लागि १६ करोड १९ लाख रुपियाँ बजेट प्रस्तुत हुँदा वातावरण तथा विपद् व्यवस्थापनका लागि ७० लाख प्रस्तुत गर्नुभएको छ । साथै संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनको क्षेत्रमा १२ करोड ४५ लाख रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ ।

नगरपालिकाको राजस्वका विभिन्न शिर्षकहरुबाट एक करोड ६० लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाको कर तथा राजस्व सम्बन्धि बनेको आर्थिक विधेयक, साविक स्थानीय निकायका कर्मचारीको व्यवस्थापन सम्बन्धि बनेको विधेयक र न्यायीक समितिको प्रतिवेदन नगरसभामा पास गरिएको छ ।

नगरप्रमुख पन्थीले प्रस्तुत गर्नुभएको बजेट असार १२ गते बस्ने नगरसभाको तेस्रो बैठकमा विनियोजन विधेयक पारितका लागि निणर्यार्थ प्रस्तुत गरिने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नगरसभाका सचिव हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?